सिङ्गापुरः लागुऔषध तस्करीमा दोषी ठहर 'कम बौद्धिक क्षमता भएका' एक व्यक्तिको मृत्युदण्ड रोकियो

मलेशिया र मानवाधिकारवादी समूहरूले प्रतिवादीको बौद्धिक क्षमता कम भएकाले मृत्युदण्ड नदिन माग गरिरहेका छन्
तस्बिरको क्याप्शन, मलेशिया र मानवाधिकारवादी समूहरूले प्रतिवादीको बौद्धिक क्षमता कम भएकाले मृत्युदण्ड नदिन माग गरिरहेका छन्
Published
पढ्ने समय: २ मिनेट

सिङ्गापुरमा लागुऔषधि तस्करीमा दोषी ठहर भएका एक व्यक्तिलाई दिन लागिएको मृत्युदण्ड एउटा अदालतले तत्कालका लागि स्थगित गरिदिएको छ।

ती व्यक्तिको बौद्धिक क्षमता कम भएको भन्दै मृत्युदण्ड रोक्न व्यापक माग भइरहेको छ।

नागेन्द्रन धर्मलिङ्गमलाई बुधवार मृत्युदण्ड दिन लागिएको थियो। बाह्र वर्षअघि मलेशियाबाट सानो परिमाणमा हेरोइन सिङ्गापुरभित्र तस्करी गर्न खोज्दा उनी पक्राउ परेका थिए।

मलेशियाली अधिकारी र मानवाधिकारवादी समूहहरूले नागेन्द्रनको आईक्यू अर्थात् बौद्धिक क्षमता कम भएको भन्दै मृत्युदण्ड रोक्न सिङ्गापुरलाई आग्रह गरेका थिए।

उनी भारतीय मूलका मलेशियाली नागरिक भएको बताइएको छ।

यसअघि सिङ्गापुरका अदालतहरूले नागेन्द्रनलाई आफूले के गरेको भन्ने थाहा भएको ठहर गरेका थिए।

नागेन्द्रन मानसिक रूपमा स्वस्थ छैनन् भन्ने दाबीका आधारमा मङ्गलवार पुनरावेदन अदालतले उनको मुद्दा फेरि हेर्न लागेको छ।

उनका वकिल एम रविले नागेन्द्रन स्वयं पीडित भएको दाबी गर्दै उनलाई मुक्त गरिनुपर्ने तर्क गरेका छन्।

"उनलाई फसाइएको हो। उनी [लागुपदार्थ तस्करी] गिरोहका पीडित हुन्। उनलाई उपचार र सहयोग आवश्यक छ," रविले भने।

नागेन्द्रनको जीवनरक्षाको माग गर्दै छिमेकी देश मलेशियामा प्रदर्शनहरू गरिएका छन्
तस्बिरको क्याप्शन, नागेन्द्रनको जीवनरक्षाको माग गर्दै छिमेकी देश मलेशियामा प्रदर्शनहरू गरिएका छन्

साठी हजार जनाभन्दा बढी मानिसले नागेन्द्रनलाई क्षमादान दिन सिङ्गापुरका राष्ट्रपतिसँग आग्रह गर्दै एउटा निवेदनमा हस्ताक्षर गरेका छन्।

अन्तर्राष्ट्रिय मानवाधिकार कानुनले मानसिक अस्वस्थता भएका मानिसलाई मृत्युदण्ड दिन रोक लगाएको तर्क उनीहरूले गरेका छन्।

सामाजिक सञ्जालमा पनि त्यो अभियानले गति पाएको छ।

मानिसहरूले आक्रोश तथा नागेन्द्रनप्रति सहानुभूति प्रकट गरेका छन्।

ब्रिटिश अर्बपति रिचर्ड ब्र्यान्सनले मृत्युदण्डको विरोध गर्दै नागेन्द्रनलाई छोडिदिन सिङ्गापुरसँग आग्रह गरेका छन्।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

Presentational white space

एक्काइस वर्षको हुँदा सन् २००९ मा नागेन्द्रन ४३ ग्राम हेरोइनसहित पक्राउ परेका थिए।

तिघ्रामा बेरेर उनले उक्त लागुपदार्थ मलेशियाबाट सिङ्गापुर लैजान खोजेका थिए।

परीक्षण गर्दा एक विज्ञ चिकित्सकले उनको आईक्यू ६९ भएको निष्कर्ष निकालेका थिए। त्यति बौद्धिक क्षमतालाई न्यून मानिन्छ र त्यसले बौद्धिक अपाङ्गता भएको सङ्केत गर्छ।

तथापि उनलाई मृत्युदण्डको निर्णय सुनाइयो।

सिङ्गापुर सरकारले उनले "आफूले गरेको कृत्यको प्रकृति राम्ररी बुझेको तथा आफूले गरिरहेको काम राम्रो वा नराम्रो भएको छुट्ट्याउन सक्ने क्षमता नगुमाएको" तर्क गर्ने गरेको छ।

सिङ्गापुरमा लागुऔषध तस्करीविरुद्ध कडा कानुन छ अनि दोषीलाई मृत्युदण्ड दिइँदा त्यहाँ प्रायः विवाद हुँदैन।

Presentational grey line

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, इटलीमा कफीका दानाभित्र कोकेन फेला पर्‍यो