स्पेसएक्स: इन्सपिरेशन फोरका गैर पेशेवर यात्री तीन दिन अन्तरिक्षमा बिताएर पृथ्वीमा फर्किए

भिडिओ क्याप्शन सुरु हुँदैछ, स्पेसएक्स क्यासुल एटलान्टिक महासागरमा झर्दाको क्षण (भिडिओका सुरु र अन्त्यमा अङ्ग्रेजी संवाद छ)
Published

तीन दिन अन्तरिक्षमा बिताएर पहिलो सर्वसाधारण अर्थात् गैर पेशेवर अन्तरिक्ष यात्रीहरूको समूह एटलान्टिक महासागरमा अवतरण गरेको छ।

उनीहरू सबैजना पृथ्वीको कक्षको भ्रमण गर्ने पहिलो सर्वसाधारण यात्रुको समूह बनेका छन्।

द इन्सपिरेशन फोर चालक दल स्पेसएक्स क्याप्सुलमा उनीहरू बुधवार फ्लोरिडाबाट उडेका थिए र शनिवार जीएमटी २३ बजे समुन्द्रमा अवतरण गरेका थिए।

चार प्याराशुटले यानको तल झराइलाई सुस्त बनाउँदै लगेर पानीमा झरेपछि स्पेसएक्सका डुङ्गाले उनीहरूलाई बाहिर निकालेका थिए।

इन्स्पिरेशन फोर समूह अर्बपति ज्यारेड आइज्याकम्यानले उक्त यात्राको कमान्डरका रूपमा नेतृत्व गरेका थिए।

उनले सबै यात्रुको खर्च (जुन सार्वजनिक गरिएको छैन) बेहोरेका थिए। टाइम म्यागेजिनले उक्त खर्च करिब २ करोड डलर हुने अनुमान गरेको छ।

उनले आफूसहित तीन यात्रुको भाडा स्वरूप उक्त रकम अर्का अर्बपति इलन मस्कलाई तिरेका थिए।

आइज्याकम्यानले तीनजना सर्वसाधारणलाई आफैले चुनेका थिए।

ती मध्ये ५१ वर्षकी डाक्टर सायन प्रोक्टर भूगर्भ वैज्ञानिक र नासाकी पूर्व अन्तरिक्ष यात्री बन्न चाहेकी, बाल्यकालमै क्यान्सर लागेर निको भएकी २९ वर्षकी हेली एर्सेनो र एरोस्पेस डेटा इन्जिनियर तथा अमेरिकी एअर फोर्सका अवकाशप्राप्त अधिकारी क्रिश सम्ब्रोस्की, ४२ हुन्।

तेस्रो यात्री क्रिश सम्ब्रोस्की ४२ वर्षका अमेरिकी एअर फोर्सका अवकाशप्राप्त अधिकारी हुन्। उनी एरोस्पेस कम्पनी लकहेड मार्टिनमा काम गर्छन्।

"त्यो गजबको यात्रा थियो," आइज्याकम्यानले रेडियोमा भनेका थिए "हामी भर्खर सुरुवातमा छौँ।"

इलन मस्कको कम्पनीले मानिसहरूलाई अन्तरिक्षमा लगेर पृथ्वीमा फर्काएको यो तेस्रो पटक हो र अन्तरिक्ष पर्यटनको एक अर्को कोशेढुङ्गा पनि।

चारजनाको सुरक्षित पृथ्वी फिर्तीपछि उनले ट्वीट गरेका थिए "इन्सिपेरशन फोरएक्सलाई बधाई!!!"

यान फिर्ता भएपछि मिसन निर्देशक टड एरिकसनले प्रेस सम्मेलनमा भने "दोस्रो अन्तरिक्ष युगमा स्वागत छ। अन्तरिक्षको यात्रा सर्वसाधारण महिला र पुरुषका लागि पहुँचमा भएको छ।"

ज्यारेड आइज्याकम्यान (बायाँ) र अन्य अन्तरिक्ष यात्रीहरू यानभित्र, सेप्टेम्बर १७ को फोटो
तस्बिरको क्याप्शन, ज्यारेड आइज्याकम्यान (बायाँ) र अन्य अन्तरिक्ष यात्रीहरू यानभित्र

यानमा रहेका कम्प्युटर प्रणालीले ड्र्यागन क्याप्सुलमाथि उसको यात्राभर नियन्त्रण राख्न सफल भएको थियो। त्यसको निगरानी पृथ्वीमा रहेको स्पेश एक्स समूहले गरेको थियो।

ड्र्यागन अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (इन्टरन्याशनल स्पेश स्टेशन)नजिक जाने गरी यात्रा मिलाइएको थिएन। त्यसले त ५७५ किलोमिटर उचाइमा 'स्वतन्त्र उडान' गरेको थियो।

चालक दलले छ महिना लामो तालिम गरेका थिए। तालिम गरेका बखत हरेक दिन पृथ्वीको १५ पटक चक्कर लगाइएको थियो।

विज्ञहरूले उनीहरूको रगतमा अक्सिजनको मात्रा, निद्रा, कुनै कुरा पर्गेल्ने क्षमता र अरू अङ्गको गतिविधि पनि जाँचेका थिए। गैर पेशेवर यात्रीहरू अन्तरिक्षमा जाँदा उनीहरूमाथि पर्न सक्ने सम्भावित असर जाँच्नका लागि त्यसो गरिएको थियो।

यो यात्राले टेनेसीस्थित सेन्ट जुड्स चिल्ड्रेन्स रिसर्च हस्पिटलका लागि कोष सङ्कलन गर्ने बताइएको छ।

उक्त अस्पतालमा हेली को उपचार भएको थियो अहिले उनी त्यहीँ कार्यरत रहेकी छन्।

ती चार जनाले अन्तरिक्षमा लगेका बस्तुहरू लिलाम बढाबढ गर्ने भएका छन् त्यसमध्ये एक वाद्य यन्त्र यूकुलेले पनि छ।

यसअघि सर रिचर्ड ब्र्यान्सन र जेफ बेजोस पनि पृथ्वीको वायुमण्डलको यात्रा गरेका थिए।

भिडिओ क्याप्शन सुरु हुँदैछ, स्पेसएक्सः अन्तरिक्षमा मानव पठाउने पहिलो निजी कम्पनी