चिनियाँ राजदूतलाई यूकेको संसद्‌मा प्रतिबन्ध

झङ जगवाङ
Published

चीनले केही ब्रिटिश सांसदमाथि प्रतिबन्ध लगाएको अवस्थामा यूकेले चिनियाँ राजदूतलाई उनी त्यहाँको संसद्‌मा आउन नपाउने बताएको छ।

चीनसम्बन्धी सर्वदलीय समूहले आयोजना गर्न लागेको संसद्को एउटा जमघटमा झङ जगवाङ सहभागी हुन लागेका थिए।

तर विरोध भएपछि तल्लो सदनका सभामुख लिन्ड्जी होयल र माथिल्लो सदन हाउस अफ लर्ड्सका सभामुख लर्ड मक्फलले झङको सहभागिता सम्भव नभएको बताए।

चिनियाँ दूतावासले यो एउटा "घृणित र कायर" निर्णय रहेको र यसले दुवै देशको हितलाई हानि पुर्‍याउने जनाएको छ।

प्रतिबन्धसम्बन्धी समाचार दुई देशका सरकारबीच तनाव चुलिएका बेला आएको हो।

प्रतिबन्धबारे डेली टेलिग्राफले पहिलो पटक समाचार प्रकाशित गरेको थियो।

सभामुख सभामुख लिन्ड्जी होयल
तस्बिरको क्याप्शन, सभामुख लिन्ड्जी होयल

गत मार्चमा चीनले तल्लो सभाका पाँच र माथिल्लो सभाका दुई सांसदमाथि यात्रासम्बन्धी प्रतिबन्ध लागु गरेको थियो र उनीहरूको सम्पत्ति रोक्का गर्ने निर्णय गरेको थियो।

उनीहरूमाथि चीनबारे अफवाह फैलाएको आरोप लगाइएको छ।

शिन्जियाङमा मानव अधिकारको उल्लङ्घन गरेको भन्दै चिनियाँ अधिकारीहरूमाथि यूकेले पहिलो पटक लगाएको प्रतिबन्धको प्रत्युत्तरमा चीनले त्यस्तो कदम उठाएको थियो।

तथापि चीनसम्बन्धी संसदीय समूहले जगवाङलाई आफ्नो समारोहमा निमन्त्रणा दिने निर्णय गरेको थियो।

गत साता प्रतिबन्धमा परेका सत्तारूढ कन्जर्भेटिभ दलका पाँच सांसदले आफूहरूको चासो व्यक्त गर्दै सभामुखलाई पत्र लेखेका थिए।

प्रतिबन्ध खेपेका अन्य दुई नेताले पनि सभामुखलाई पत्र लेखेका थिए।