चमेराका बच्चा पनि मान्छेका बच्चाले जसरी फतफत गर्छन्

चमेराका बच्चाले फतफत गरेर ध्वनि निकाल्ने अभ्यास गर्ने गरेको वैज्ञानिकहरूको बुझाइ छ
तस्बिरको क्याप्शन, चमेराका बच्चाले फतफत गरेर ध्वनि निकाल्ने अभ्यास गर्ने गरेको वैज्ञानिकहरूको बुझाइ छ
    • Author, भिक्टोरिया गिल
    • Role, विज्ञान संवाददाता, बीबीसी न्यूज
  • Published

कोस्टा रिकामा चमेराको आनीबानी अध्ययन गरेका वैज्ञानिकहरूले चमेराका बच्चा र मानवका शिशुले गर्ने प्रलापमा विचित्रको समानता भएको पत्ता लगाएका छन्।

चमेराहरूले लय मिलेको ध्वनि निकाल्छन् तथा "मूलभूत अक्षर " पुनरावृत्ति गर्छन्।

अनि यसबाट चमेराको प्रलापले मानवजातिका शिशुमा जस्तै सञ्चारको जग बनाएको सङ्केत प्राप्त हुन्छ।

"तिनीहरू फतफत गरिराख्छन् - सूर्योदयदेखि सूर्यास्तसम्म - आफ्नो स्वरको अभ्यास गर्न," प्रमुख अनुन्धानकर्ता डा. आहना फर्नान्डेजले भनिन्।

बर्लिनस्थित म्यूजीअम अफ न्याचरल हिस्ट्रीमा कार्यरत डा. फर्नान्डेजले आवाज निकाल्ने ग्रेटर स्याक-विङ्ड ब्याट भनिने "स्याकोप्टेरीक्स बाइलिनियाटा" प्रजातिको चमेराको अध्ययन गरेकी छन्।

"वास्तवमा यी चमेराहरू चराले जसरी गाना गाउँछन्," उनले भनिन्।

"तिनीहरूको निकै जटिल ध्वन्यात्मक सञ्चार हुन्छ - स्पष्ट अक्षर-प्रकारको सूची (जस्तो)।"

डा. फर्नान्डेज र उनका सहकर्मीहरूले साइअन्स जर्नलमा एउटा शोधपत्र प्रकाशित गरेका छन्। त्यसमा उनीहरूले चमेराको बच्चाहरू आफ्नो गुँडमा फतफताएको आवाजको विश्लेषण गरिएको छ।

तिनको विशेषतामा यस्ता कुरा थिएः

  • वयस्कले आफ्नो गानामा प्रयोग गर्ने मुख्य अक्षरहरूको पुनरावृत्ति
  • लय र पुनरावृत्ति, मान्छेका बच्चाले निकाल्ने "दा-दा-दा" ध्वनिसँग धेरै मिल्ने
डा. फर्नान्डेज जङ्गली कोस्टा रिकामा स्याकोप्टेरीक्स बाइलिनियाटा प्रजातिको चमेराका बच्चाको ध्वनि रेकर्ड गर्दै
तस्बिरको क्याप्शन, डा. फर्नान्डेज जङ्गली कोस्टा रिकामा स्याकोप्टेरीक्स बाइलिनियाटा प्रजातिको चमेराका बच्चाको ध्वनि रेकर्ड गर्दै

मानिसको वाणीका लागि घाँटीमा भएको स्वरयन्त्रमाथि स्पष्ट नियन्त्रण आवश्यक पर्छ।

मानिसका शिशु र बामे सर्ने बच्चाले गर्ने प्रलाप त्यस्तो नियन्त्रण प्राप्त गर्ने महत्त्वपूर्ण अभ्यास हो।

अनि चमेरामा पनि त्यस्तै भएको ती अनुसन्धानकर्ताहरूको भनाइ छ।

"वयस्क चमेराले निकाल्ने सबै अक्षर-प्रकारहरू हामीलाई थाहा छ," डा. फर्नान्डेजले भनिन्।

"अनि चमेराका बच्चाको प्रलापमा सुनिने अक्षरहरू वास्तवमा वयस्कका जस्ता छन्। त्यो हामी स्पष्टसँग भन्न सक्छौँ।"

ग्रेटर स्याक-विङ्ड चमेरामा मात्र त्यस किसिमको ध्वनि निकाल्ने क्षमता भएको अहिलेसम्म वैज्ञानिकहरूले थाहा पाएका छन्।

तर विश्वमा १,४०० भन्दा बढी प्रजातिका चमेरा पाइने भएकाले डा. फर्नान्डेज अरू चमेराले ले नि प्रलाप गर्न सक्ने सम्भावना भएको बताउँछिन्।

"एकअर्कालाई सुन्दै"

यो अध्ययनबाट ध्वन्यात्मक सञ्चार गर्न सिक्नुपर्ने धेरै स्तनपायी जीवमा एउटा ढाँचाको पहिचान गरेको भए पनि डा. फर्नान्डेज "गाना गाउने" उक्त प्रजातिको चमेराबारे धेरै थाहा पाउन बाँकी भएको बताउँछिन्।

"प्रलाप गर्दा बच्चाहरू एकअर्कालाई राम्ररी सुनिराख्छन्," उनले भनिन्।

"एउटाले सुरु गर्छ, ऊ १५ मिनेटजति फतफताउँछ। अनि म अरूका कान घुमिराखेको स्पष्ट देख्छु।"

"तसर्थ तिनले एकअर्कालाई सुनिराखेको हो भन्ने मलाई लाग्छ। तर यसले तिनको अभ्यासमा कस्तो प्रभाव पार्छ भन्ने मलाई थाहा छैन।"