के प्रविधिले लेखकलाई पुस्तक लेख्न सघाउन सक्छ

लेखन
Published

प्रसिद्ध अमेरिकी लेखक मार्क ट्वेन उपन्यास लेख्न सिक्न सकिन्छ भन्ने मानिसहरूको खिसीटिउरी गर्थे।

"उपन्यास लेख्ने प्रतिभा नलिई जन्मेको व्यक्तिले उपन्यास लेख्न प्रयास गर्दा निकै गाह्रो हुन्छ," उनले भन्थे। "त्यो व्यक्तिसँग कथाको स्पष्ट खाका हुँदैन। वास्तवमा ऊसँग कथा नै हुँदैन।"

ब्रिटिश लेखक स्टीभन फ्रे यो कुरालाई अर्कै हिसाबले प्रस्तुत गर्छन्। उनको विचारमा जसलाई पुस्तक लेख्न धेरै गाह्रो हुन्छ भन्ने थाहा हुन्छ त्यो नै सफल लेखक हुन्छ।

युनेस्कोका अनुसार प्रत्येक वर्ष विश्वभरि २२ लाख पुस्तक प्रकाशन हुन्छ। यो सङ्ख्यामा सबैखाले किताबहरू पर्छन्।

धेरै जस्तो लेखकहरूका लागि लेखन प्रक्रिया ट्वेनले पुस्तक लेखेको समय अर्थात् १९औँ शताब्दीको अन्त्यतिर जस्तै छ। कथाको खाका लेखेर त्यसलाई विकास र परिष्कृत गर्दै लगेर उपन्यास लेखिन्छ।

तर हिजोआज प्रविधिको प्रयोगले लेखकहरूलाई केही सहज भएको छ।

तथ्याङ्कशास्त्रीबाट लेखक बनेका अमेरिकी माइकल ग्रीनले लेखन प्रक्रियालाई सहज बनाउन प्रविधिको प्रयोग आफ्नो पहिलो पुस्तक आधाआधी लेखेपछि हो।

ग्रीनले ५०० पाना कथा लेखेपछि त्यसलाई व्यवस्थापन गर्न असहज हुँदै गएको सम्झना गर्छन्।

लेखक माइकल ग्रीनले उपन्यास लेखनलाई सहज हुने एप बनाएका छन्
तस्बिरको क्याप्शन, लेखक माइकल ग्रीनले उपन्यास लेखनलाई सहज हुने एप बनाएका छन्

"सम्पादन गर्दै गर्दा मलाई लाग्यो मैले धेरै नै उपकथा र पात्रहरू राखेँ," उनले भने।

"मैले निर्माण गरिरहेको विश्वको सूक्ष्म कुरा लेखिएका दस्ताबेजहरू थिए र मलाई ती सबै सम्झिन सक्दिनँ कि भन्ने पीर पर्‍यो। त्यसपछि मैले आफ्नो तथ्याङ्क वैज्ञानिकको मस्तिष्कलाई काममा ल्याएर कठिन समस्यालाई ससानो अंश बनाएर समाधान खोज्ने उपाय प्रयोग गरेँ।"

ग्रीनले जे बनाए त्यो लिनिट हो। लिनिट लेखकहरूलाई पात्र, उपकथा र घटनाक्रमलाई योजनाबद्ध गर्ने र उनेर कथा बनाउने डिजिटल प्लेटफर्म हो।

अहिले यो एप परीक्षणमा छ र केही लेखकहरूले प्रयोग गरिरहेका छन्। अहिलेलाई निःशुल्क रहेको एपमा प्रयोगकर्ताले "कथाको नक्सा" बनाउन सक्छन्।

लिनिट

ग्रीनका अनुसार धेरैजस्तो लेखकहरूले लेख्न सुरु गर्दा कथाबारेको सामान्य विचार वा एउटा विशेष पात्र मात्रै सोचेका हुन्छन्। लिनिटले सुरुको त्यो कथामा थप विवरणहरू उन्न सहज हुन्छ।

"लेखकले नयाँ सोच आउनेबित्तिकै त्यसलाई कथा बनाउन चाहन्छन्।"

"ससानो अंश त्यो कथामा थप्छन्। नयाँ कुरा आयो भने उनीहरू नयाँ उपकथा वा नयाँ सम्बन्ध थपेर त्यसलाई परिष्कृत गर्दै जान्छन्।"

लेखकको पुस्तक प्रकाशन भएपछि पनि प्रविधिको प्रयोग लेखक र पाठकलाई जोड्न प्रयोग हुन थालेको छ।

मार्क ट्वेनले उपन्यास लेख्न सिक्न सकिने कुरा विश्वास गर्दैन थिए
तस्बिरको क्याप्शन, मार्क ट्वेनले उपन्यास लेख्न सिक्न सकिने कुरा विश्वास गर्दैन थिए

यो साधारण रूपमा सामाजिक सञ्जालको प्रयोगबाट पनि हुन्छ गर्छ जहाँ केही लेखकहरू आफ्ना पाठकसँग लामो गफ गर्न रुचाउँछन्। अथवा लेखकहरू शिकागोको "हाईटाइड"जस्ता कम्पनीको सहयोग लिन सक्छन्।

हाईटाइडले पाठकलाई पैसा तिरेर लेखकसँग संवाद गर्ने मौका दिन्छ। यसले सिकाइसम्बन्धी पुस्तकका लेखकहरूलाई अनलाइन कोर्स निर्माण गर्ने अवसर पनि दिन्छ।

क्यालिफोर्नियास्थित क्रेजी म्यापल स्टूडिओजले भने पुस्तकलाई अक्षरबाट जीवन्त बनाउने दाबी गर्छ।

त्यसका चार एपहरू - च्याप्टर्स, स्क्रीम, स्पटलाइट र किस - ले कथामा अन्तरक्रिया, चलचित्र, ध्वनि र खेल थपेर पाठकहरूका लागि अझ रुचिकर बनाउने दाबी गर्छ।

"डिजिटल प्रविधि र ई-रीडर उपकरण प्रकाशन उद्योगको ठूलो परिवर्तन हो। यसले बीचका द्वारपालहरूको प्रभाव कम गर्‍यो तर धेरै पर जान सकेन," क्रेजी म्यापल स्टूडिओजका संस्थापक र प्रमुख कार्यकारी जोयी जिया भन्छन्।

क्रेजी म्यापल स्टुडिओज्‌ले भने पुस्तकलाई जीवन्त बनाउने दाबी गर्छ
तस्बिरको क्याप्शन, क्रेजी म्यापल स्टुडिओज्‌ले भने पुस्तकलाई जीवन्त बनाउने दाबी गर्छ

जियाका अनुसार पाठकहरूका लागि फुर्सदको समय बिताउन धेरै अवसर र उपाय भएको अवस्थामा पुस्तकको महत्त्व कायम राख्न लेखकहरूले प्रविधितर्फ मोडिनु नै पर्छ।

तर विज्ञहरू भने लेखकहरूले प्रविधिमा धेरै भर पर्दा नराम्रो हुन सक्ने बताउँछन्।

"प्रविधिले ध्यान मोड्न सक्छ," लेखन प्रशिक्षक मेलिसा ह्याभम्यान भन्छिन्।

"पाँच मिनेट यसो हेर्छु नि भन्दा प्रविधिले घण्टौँको लेखन समय खेर जान सक्छ। प्रविधिको बारेमा लेखकहरूलाई मेरो सुझाव भनेको आफ्नो व्यक्तित्वअनुसार के काम गर्छ भन्ने पत्ता लगाउने र त्यसलाई प्रयोग गर्ने हो।"

"तर कहिलेकाहीँ लेखकहरूले प्रविधिले चमत्कार गर्न सक्ने विश्वास गर्दा कामै नहुने हुनसक्छ।"

माइकल ग्रीन प्रविधिसँग परिचित अबका लेखकका लागि प्रविधि अझ महत्त्वपूर्ण हुँदै जाने भन्ठान्छन्।

"नयाँ जमानाका लेखकहरू प्रविधिमा सहजता खोजिरहेका छन्," उनी भन्छन्। "उनीहरू प्रविधिलाई थप कामको रूपमा नभई सिक्ने र सँगै बाँच्ने उपकरणका रूपमा हेर्छन्।"

अडिओ क्याप्शन सुरु हुँदैछ, बीबीसी बहस: सङ्कटका बेला साहित्य सिर्जनाबारे अभि सुवेदी र गीता त्रिपाठी