कोभिड: भुटान जहाँ एक सातामा लगभग सबै योग्य मानिस कोरोना भाइरसविरुद्ध खोप पाए

भुटानमा वयस्क जनसङ्ख्या ५ लाख ३० हजारको हाराहारी रहेको छ
तस्बिरको क्याप्शन, भुटानमा वयस्क जनसङ्ख्या ५ लाख ३० हजारको हाराहारी रहेको छ
Published

नेपालको छिमेकी तथा भारत र चीनको बीचमा रहेको हिमाली मुलुक भुटानले लगभग सबै योग्य जनसङ्ख्यालाई कोभिड-१९ विरुद्ध खोप लगाइसक्न लागेको छ।

यूनिसेफले त्यसलाई "ठूलो सफलता" भनेको छ।

भुटानको स्वास्थ्य मन्त्रालयका अनुसार मात्र सात दिनभित्र ९० प्रतिशतभन्दा बढी जनसङ्ख्याले पूर्ण रूपमा खोप लगाइसकेका छन्।

भुटानमा आठ लाख मानिस बसोबास गर्छन्।

पहाडी मुलुक भएर पनि उक्त देशले कसरी कुशलतापूर्वक यति चाँडै खोपमा सफलता पायो?

कठिन भूभाग

"हाम्रो भौगोलिक अवस्थिति अप्ठ्यारो खालको छ तर उचित योजनाका कारण हामी एक साताभित्रै पहिलो र दोस्रो मात्रा खोप लगाउन सफल भयौँ," भुटानको खोप कार्यदलका सदस्य सोनम वाङ्चुकले भने।

"पहिलो मात्रा लगाउनेको सङ्ख्या लगभग ९९ प्रतिशत पुगेको छ भने योग्यमध्येमा दोस्रो मात्रा लगाउने ९२ प्रतिशत छन्," वाङ्चुकले बीबीसी रेडियोसँग भने।

भुटानमा वयस्क जनसङ्ख्या पाँच लाख ३०,००० को हाराहारी छ।

केही क्षेत्रका पहाडी गाउँहरूमा पुग्नका लागि स्वास्थ्यकर्मीहरूले घण्टौँ हिँड्नु पर्छ
तस्बिरको क्याप्शन, दुर्गम गाउँमा खोप पुर्‍याउन जान स्वास्थ्यकर्मीहरूले घण्टौँ हिँड्नुपर्छ

त्यसमध्ये कैयौँ सडकसँग नजोडिएका दुर्गम पहाडी क्षेत्रमा बसोबास गर्छन्।

केही क्षेत्रका पहाडी गाउँहरूमा पुग्नका लागि स्वास्थ्यकर्मीहरूले घण्टौँ हिँड्नुपर्छ।

डा. वाङ्चुकका अनुसार देशभरि गरेर १,२२० वटा खोपकेन्द्र बनाइएको थियो र ती केन्द्रमा करिब ३,५०० खोप कार्यकर्ता परिचालित थिए।

भूपरिवेष्टित भुटानले गत मार्चमा भारतबाट साढे पाँच लाख मात्रा खोप प्राप्त गरेको थियो।

आवश्यक तयारी गरिएपछि गत एप्रिलको एक सातामा अधिकांश योग्य वयस्क जनसङ्ख्यालाई खोप लगाइएको थियो।

खोप अनुदान

भारतले घातक दोस्रो लहरको सङ्क्रमण सामना गरेपछि खोप निर्यात रोकेको थियो।

त्यसपछि भुटानले आफ्नो आवश्यकता पूर्ति गर्न अरु विकल्प खोज्नुपरेको थियो।

उक्त देशमा आवश्यकताभन्दा बढी हुनेगरी धनी देशहरूबाट खोप अनुदान प्राप्त भयो।

यूनिसेफले भुटानको सफलतालाई अरूले पनि पछ्याउनुपर्ने उदाहरणका रूपमा प्रस्तुत गरेको छ
तस्बिरको क्याप्शन, यूनिसेफले भुटानको सफलतालाई अरूले पनि अनुसरण गर्नुपर्ने उदाहरणका रूपमा प्रस्तुत गरेको छ

"हामीले अमेरिकाबाट पाँच लाख मात्रा मोडेर्ना दुई युरोपेली देशबाट साढे छुई लाख मात्रा आस्ट्राजेनेका खोप प्राप्त गर्‍यौँ," डा. वाङ्चुकले भने।

त्यसपछि जुलाई २० देखि दोस्रो मात्रा खोप लगाउन सुरु गरियो।

यूनिसेफले भुटानको सफलतालाई अरूले पनि अनुसरण गर्नुपर्ने उदाहरणका रूपमा प्रस्तुत गरेको छ।

उसले विश्वभरिका देशहरूलाई आफूलाई बढी भएको खोप अन्य देशलाई दान गर्न आह्वान पनि गरेको छ।

यूनिसेफका भुटान प्रतिनिधि विल पार्क्स भुटानबाट अरूले पाठ सिक्नुपर्ने बताउँछन्।

उनले भने, "भुटानबाट विश्वले सिक्नुपर्ने कुरा के हो भने- एकदमै थोरै चिकित्सक र नर्स भए पनि समाजलाई परिचालन गर्न वास्तवमै प्रतिबद्ध राजा र सरकारी नेतृत्व नभएको भए पूरै देशमा खोप लगाउन सम्भव थिएन।"

भुटानले खोप मिसाउने प्रणाली अपनायो।

भुटानमा कोभिडका कारण हालसम्म २ हजार ५ सय सङ्क्रमण र दुई मृत्युको विवरण आएको छ
तस्बिरको क्याप्शन, भुटानमा कोभिडका कारण हालसम्म २ हजार ५ सय सङ्क्रमण र दुई मृत्युको विवरण आएको छ

लगभग सबैलाई पहिलो मात्रा आस्ट्राजेनेका लगाइएको थियो तर त्यसमध्ये अधिकांशले दोस्रो मात्रा मोडेर्नाको खोप लगाए।

सरकारमाथि विश्वास

भुटानमा कोभिडका कारण हालसम्म २,५०० जनामा सङ्क्रमण तथा दुई मृत्युको विवरण आएको छ।

भुटानी अधिकारीहरूका अनुसार त्यहाँ नियमित खोप कार्यक्रम सफल रहेको रेकर्ड छ र कोभिड खोप लगाउन कोही पनि अनिच्छुक देखिएनन्।

"जनतामा सरकारप्रति आस्था र विश्वास छ। उनीहरू सरकारलाई विश्वास गर्छन्," वाङ्चुकले भने।