चिनियाँ कम्युनिष्ट पार्टीः शतवार्षिकीमा राष्ट्रपति सी जिनपिङको चेतावनी, 'चीन कसैको धम्कीले दब्ने छैन'

चिनियाँ कम्युनिष्ट पार्टीको शतवार्षिकी
Published

चीनका राष्ट्रपति सी जिनपिङले चेतावनी दिँदै "विदेशी शक्तिले उनको देशलाई धम्काउन वा नकारात्मक प्रभाव पार्न खोजेमा तिनको टाउकोमा प्रहार हुने" बताएका छन्।

उनले बिहीवार सत्ताधारी चिनियाँ कम्युनिस्ट पार्टीको शतवार्षिकीको अवसरमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै बेइजिङले "आफू मात्रै असल भनेर अरूलाई दिने उपदेश"लाई नसहने पनि बताएका छन्।

उनको टिप्पणी अमेरिकालाई लक्षित गरिएको मानिएको छ।

हङ्कङ्मा भइरहेको भनिएका मानवअधिकार उलङ्घन र दमनका घटनाहरूलाई लिएर चीनको आलोचना भइरहेको समयमा त्यस्तो टिप्पणी आएको हो।

हालैको समयमा व्यापार, गुप्तचर क्रियाकलाप र कोरोनाभाइरस महामारीका विषयमा अमेरिका र चीनको सम्बन्ध खराब देखिँदै आएको छ।

चिनियाँ कम्युनिष्ट पार्टीको शतवार्षिकी

ताइवान

ताइवानको मुद्दा पनि दुई देशबीचको तनावको प्रमुख कारण हो।

प्रजातान्त्रिक ताइवानले आफूलाई सार्वभौम राष्ट्र मान्ने गर्छ भने चीनले उक्त टापुलाई आफूबाट अलग भएर गएको प्रान्त भन्ने गर्छ।

अमेरिकी कानुन अनुसार ताइवानलाई बेइजिङले बल प्रयोग गरेर आफूमा विलय गर्न खोजेमा उस्लाई आफ्नो बचाउ गर्न सक्ने सहयोग प्रदान गर्न आवश्यक पर्दछ।

बिहीवार राष्ट्रपति सीले ताइवानसँगको एकताका निम्ति चीनको "अविचलित प्रतिबद्धता" रहेको बताए।

जेट विमानको फ्लाइ पास्ट

शतवार्षिकी समारोह मनाउने क्रममा बिहीबार विहान सैनिक जेट विमानहरूले "फ्लाइ पास्ट" गरेका थिए भने तोपको सलामीका साथै देशभक्तिपूर्ण गीतहरू बजाइएको थियो।

बेइजिङको तियानआनमेन चोकमा केही सावधानीपूर्वक छनौट गरेर निम्ता गरिएका मानिसहरूको समूह उपस्थित थियो जसमध्ये धेरैले मास्क लगाएका थिएनन्।