अफगानिस्तान पोलियोः के स्वास्थकर्मीमाथिको आक्रमणले खोप अभियान बिथोलिन सक्छ?

पोलियो
तस्बिरको क्याप्शन, संयुक्त राष्ट्रसङ्घका अनुसार यो वर्ष जम्मा दुईवटा पोलियोका बिरामी फेला परेका छन्
    • Author, स्वामिनाथन नटराजन
    • Role, बीबीसी विश्व सेवा
  • Published

विश्व पोलियो उन्मूलन गर्ने अवस्था नजिकै पुगेको छ तर अफगानिस्तानमा भइरहेका घातक आक्रमणले त्यहाँको एउटा संवेदनशील क्षेत्रमा खोप कार्यक्रम स्थगित भएको छ।

अग्रपङ्क्तिका स्वास्थ्यकर्मीमाथि बारम्बार भइरहेका हिंसाका कारण यो गम्भीर रोग सधैँका लागि अन्त्य गर्ने कार्यमा विलम्ब हुन सक्छ कि भन्ने प्रश्न उठेको छ।

नाङ्गाहार प्रान्तमा पोलियोविरुद्धको अभियानमा खटेका छ स्वास्थ्यकर्मीको गत साता एउटा आक्रमणमा परेर मृत्यु भयो।

अफगानिस्तानमा सन् १९९५ मा पोलियो खोप अभियान सुरु भएको थियो। उक्त घटनामा अहिलेसम्म एकैदिन सबैभन्दा धेरै स्वास्थ्यकर्मी मारिए।

त्यसको छ दिनअघि पाकिस्तानको खैबर पख्तुन्ख्वाहा प्रान्तमा पनि पोलियो खोप लगाउने स्वास्थ्यकर्मीको सुरक्षामा खटिएका दुई प्रहरीको हत्या भएको थियो।

जलालाबादस्थित पूर्वी क्षेत्रीय आकस्मिक कार्य सञ्चालन केन्द्रका प्रमुख डा. नाजिबुल्लाह कमवाल पोलियो उन्मूलन हुन बाँकी अन्तिम दुई देशमा खोप कार्यक्रम पुन: सञ्चालन हुनैपर्ने बताउँछन्।

उनी चेतावनी दिँदै भन्छन्, "यदि अफगानिस्तानमा हामीले उन्मूलन गरेनौँ भने पोलियो उक्त क्षेत्रमा र त्यसपछि विश्वभरि नै फैलिनेछ।"

तर यो गर्न बाँकी रहेको एकदमै कठिन र खतरनाक काम हो।

पोलियोले मुख्यत: पाँच वर्षमुनिका बालबालिकालाई प्रभावित गर्छ र यो निको हुँदैन
तस्बिरको क्याप्शन, पोलियोले मुख्यत: पाँच वर्षमुनिका बालबालिकालाई प्रभावित गर्छ र यो निको हुँदैन

महत्त्वाकाङ्क्षी लक्ष्य

पोलियोले मुख्यत: पाँच वर्षमुनिका बालबालिकालाई प्रभावित गर्छ र यो निको हुँदैन।

दुई सय सङ्क्रमितमध्ये एक जनामा निको नहुने पक्षाघात हुन्छ भने सास फेर्ने मांसपेशीको समस्याका कारण पाँचदेखि १० प्रतिशतसम्मको मृत्यु हुन्छ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ), यूनिसेफ, अमेरिकाको सीडीसी, रोटरी तथा बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेशनको सहयोगमा सन् १९८८ मा विश्वव्यापी पोलियो खोप कार्यक्रम सुरु भएको थियो।

त्यस बेला १२५ देशमा तीन लाख ५० हजार बालबालिकालाई पोलियो भएको थियो।

गत वर्ष अफ्रिकालाई पोलियोमुक्त घोषणा गरिएपछि उक्त कार्यक्रमले प्रमुख सफलता पाएको थियो।

यो सफलता अग्रपङ्क्तिका स्वास्थ्यकर्मीका कारण सम्भव भएको हो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, पोलियो सङ्क्रमणका अन्तिम पुस्ता

त्यस्ता स्वास्थ्यकर्मीमा ९५ प्रतिशत महिला छन्। उनीहरूले दुर्गम र ग्रामीण क्षेत्रमा निकै दु:ख गरेर खोप आपूर्ति गर्दा यो सफलता मिलेको हो।

संयुक्त राष्ट्रसङ्घका अनुसार यो वर्ष जम्मा दुई जनामा पोलियो फेला परेको विवरण आएको छ।

तीमध्ये एक जना पाकिस्तान र अर्को अफगानिस्तानका हुन्।

"अफगानिस्तनामा जे हुन्छ त्यसले विश्वव्यापी लक्ष्यलाई प्रभावित पार्छ," यूनिसेफ अफगानिस्तान पोलियो कार्यक्रममा उपप्रमुख गडविन मिन्द्रा भन्छन्।

"पूर्ण रूपमा उन्मूलन गर्ने हाम्रो महत्त्वाकाङ्क्षी लक्ष्य छ। हामीलाई लाग्छ यो सम्भव छ।"

Presentational grey line

यो पनि हेर्नुहोस्

Presentational grey line

अशान्तिको इतिहास

अफगानिस्तान र पाकिस्तानमा पोलियो खोप लगाउनका लागि कैयौँ अवरोध भएका थिए र अझै पनि जारी छन्।

नाङ्गाहारको सीमावर्ती क्षेत्रमा सक्रिय तालिबानले सन् २०१२ मा पोलियो अभियानमाथि प्रतिबन्ध लगाएको थियो।

उसले सन् २०१४ मा अफगानिस्तानको केही क्षेत्रमा पनि त्यस्तै घोषणा गर्‍यो।

त्यस्तै कथित इस्लामिक स्टेट (आईएस) जस्ता सशस्त्र समूहले पोलियो अभियानलाई खतरनाक कार्य बनाइदिए।

स्वास्थ्यकर्मीमा ९५ प्रतिशत महिला छन्
तस्बिरको क्याप्शन, पोलियो स्वास्थ्यकर्मीमा ९५ प्रतिशत महिला छन्

सन् २०११ मा ओसामा बिन लादेनलाई खोज्नका लागि अमेरिकी सरकारको केन्द्रीय जाच ब्यूरो (सीआईए) ले चलाएको एउटा नक्कली खोप अभियानका कारण विद्रोही समूहहरू खोप कार्यक्रमप्रति शङ्का गर्छन्।

यही बेला केही अतिवादी धार्मिक समूहले आदेश जारी गर्दै खोपलाई मुस्लिमहरूलाई "नपुङ्सक बनाउने पश्चिमा षड्यन्त्र" का रूपमा व्याख्या गरेका छन्।

धार्मिक नेताहरू, समुदायका अगुवाहरू र सशस्त्र समूहसँगको कुराकानीपछि पाकिस्तान र अफगानिस्तानका दुर्गम पहाडी क्षेत्रमा खोप पुर्‍याउन सहयोग पुगेको पनि छ।

तर कान्दाहारजस्तो स्थानमा पुग्न अझै पनि समस्या उत्पन्न भएको छ। त्यहाँ विद्रोहीहरूले घरघरमा गएर पोलियो खोप दिन बन्द गराएका छन्।

घरघरमा पुगेर खोप दिँदा सबैले प्राप्त गर्ने सुनिश्चितता हुन्छ।

२०० सङ्क्रमितमा एकजनामा अपरिवर्तनीय पक्षघात हुन्छ भने ५ देखि १० प्रतिशतसम्मको सास फेर्ने मांसपेशी स्थिर बन्दा मृत्यु हुन्छ
तस्बिरको क्याप्शन, २०० सङ्क्रमितमध्ये एक जनामा निको नहुने पक्षाघात हुन्छ

गत मार्चमा पनि नाङ्गाहार प्रान्तमा तीन महिला स्वास्थ्य कार्यकर्ता मारिएपछि उक्त अभियानलाई निकै ठूलो झट्का लागेको थियो। त्यस बेला उक्त क्षेत्रबाट झन्डै १,००० महिला कार्यकर्ता पछि हट्नुपरेको थियो।

अफवाह र मिथ्या सूचना अन्त्य गर्न वर्षौँको मेहनत लागेको छ तर डा. कमवालले उनको समूहले कम विरोधको सामना गर्नुपरेको अनुभव गरेका छन्।

"केही तालिवान कमान्डरहरू स्थानीय बासिन्दा छन्। अधिकांश हाम्रा स्वयंसेवकहरू पनि स्थानीयवासी नै छन्। उनीहरूले स्थानीय तहमा सूचना र संवादलाई जारी राखेका छन्। उनीहरूले प्राय: हामीलाई केही अवरोधका साथ अनुमति दिने गर्छन्।"

"हामीले तालिबान सदस्यका श्रीमतीहरूबाट भने कुनै अवरोधको सामान गर्नुपरेको छैन। त्यसमध्ये केही त हाम्रो स्वास्थ्य केन्द्रमा नै खोप लगाउन पनि आउँछन्। हामी तालिबान र अन्य सशस्त्र समूहका सदस्यका बालबालिकालाई पनि खोप लगाइदिन्छौँ। यहाँ दक्षिणी अफगानिस्तानमा प्राय: उनीहरू निरस्त्र नै हुन्छन्। जुन क्षेत्रमा तनाव छ त्यहाँबाट हामी टाढै बस्छौँ।"

'आगामी वर्ष पोलियो उन्मूलन'

तालिबानले हालैका दिनमा भएका आक्रमणमा आफ्नो संलग्नताको कडा रूपमा अस्वीकार गरेको छ।

डब्ल्यूएचओको पूर्वी भूमध्य क्षेत्रमा पोलियो उन्मूलन कार्यक्रमका निर्देशक डा. हमिद जाफरी सीमाका दुवैतिरको अस्थिर सुरक्षाका कारण केही अग्रपङ्क्तिका स्वास्थ्यकर्मीको हत्या भएको हुन सक्ने आशङ्का व्यक्त गर्छन्।

सीमा क्षेत्रमा दुवैतर्फ सशस्त्र समूहहरू क्रियाशील छन्।

डा. कमवाल कार्यक्रम पुन: सुरु गर्न तालिबान र अन्य समूहहरूबाट सुरक्षाको सुनिश्चितता चाहन्छन्।

उनी आफूले हेर्ने चार प्रान्तका १,००० स्वयंसेवकका लागि सरकारले सुरक्षा दिन नसक्ने ठान्छन्। ती कार्यकर्ताहरू दुर्गम पहाडी भेगमा काम गर्न जान्छन्।

"नाङ्गाहारमा ५०,००० बालबालिकालाई खोप लगाउने हाम्रो लक्ष्य छ। तर हामीले ५० प्रतिशत मात्र लगाउन सकेका छौँ। हामीले उच्च सुरक्षा खतराका कारण अहिले रोकेका छौँ," उनी भन्छन्।

"यदि [तालिबान र अन्य विद्रोही समूहले] हामीलाई काम गर्न दिए भने हामी अर्को वर्षमा पोलियो उन्मूलन गर्न सक्छौँ।"

डा. नाजिबुल्लाह कमवाल पोलियो उन्मूलन हुन बाँकी अन्तिम दुई देशमा खोप कार्यक्रम पुन: सञ्चालन हुनैपर्ने बताउँछन्
तस्बिरको क्याप्शन, डा. नाजिबुल्लाह कमवाल पोलियो उन्मूलन हुन बाँकी अन्तिम दुई देशमा खोप कार्यक्रम पुन: सञ्चालन हुनैपर्ने बताउँछन्

आशा

त्यसोभए कहिलेसम्ममा पोलियो निमिट्यान्न हुन्छ त?

"यो उत्तर दिन निकै कठिन प्रश्न हो किनकि अहिलेसम्म सफलता प्राप्त गर्न प्राविधिक र जैविक अवरोध देखिएको छैन," डा. जाफरी भन्छन्।

"सङ्क्रामक रोगहरूले मानिसका सीमाहरू थाहा पाउँदैनन्। हामीले सबै बालबालिकालाई खोप लगाउनु आवश्यक पर्छ चाहे उनीहरू जहाँसुकै बसोबास गरून् वा जोसुकैको शासन क्षेत्रमा हुन्।"

मिन्द्रा कार्यक्रम पुनर्स्थापित हुनेमा आशावादी छन्।

खोप कार्यक्रमले पाकिस्तान र अफगानिस्तानमा गत वर्षको सोही अवधिको तुलनामा ९० प्रतिशतले पोलियोलाई कम गर्नेछ।

उनी यूनिसेफले बालबालिकालाई रोगबाट बचाउन उक्त क्षेत्रका सबै सशस्त्र समूहसँग छलफल गर्ने बताए।

डब्ल्यूएचओले अहिलेसम्म पोलियोविरुद्धको लडाइँ नसकिएको बताएको छ।

पोलियो भाइरसयुक्त एकजना पनि बालबालिका बाँकी रहुन्जेल सबै देशका बालबालिका सङ्क्रमणको खतरामा हुने उसको भनाइ छ।

Presentational grey line

यो इन्टर्‍याक्टिभ हेर्न जाभास्क्रिप्ट भएको नयाँ ब्राउजर चाहिन्छ।

सन् २०१८ मा वेलकम ग्लोबल मनिटरले १४२ देशमा राष्ट्रव्यापी प्रतिनिधित्व हुने किसिमका सर्वेक्षण गरेको थियो। सर्वेक्षणका विषयहरू निम्न थिए: विज्ञान, वैज्ञानिक तथा स्वास्थ्य जानकारीमा विश्व; बुझाइको स्तर तथा विज्ञान एवं स्वास्थ्यमा रुचि; र खोपप्रतिको धारणा।

Presentational grey line

थप पत्ता लगाउनुहोस्

शर्ट भिडिओ छोड्नुहोस् र जारी राख्नुहोस्

शर्ट भिडिओ

  • यूकेमा मलमूत्रले दूषित घरबाट ८४ कुकुरको उद्धार
  • अफगानिस्तानमा इनारमा खसेका बालक आफ्ना उद्धारकर्तालाई उपहार दिँदै
  • प्याज
  • Reuters/Karl Dittlbacher
  • ब्याङ्‍ककमा आएको बाढी
  • बाग्लुङमा बाढीले यसरी बगायो सरकारी भवन
  • भारतमा बलात्कारविरोधी प्रदर्शन
  • युक्रेनमा रुसी ड्रोन हमलामा परेको भवनबाट ओर्लिँदै एक व्यक्ति
  • स्पेसएक्सको स्टारशिप
  • दैनिक उपभोग्य वस्तु खोज्न निस्किए थाईल्यान्डका बाढीप्रभावित मानिस
  • मरुभूमिमा वर्षा भएपछि फूल
  • Landslide

धेरै रुचाइएको