कोभिड नेपालः 'खोपको पहिलो मात्रा लगाए पनि सङ्क्रमित भएँ, दोस्रो मात्रा कहिले लगाउन सक्छु'

खोप
Published

काठमाण्डू उपत्यकाका तीन जिल्लामध्ये काठमाण्डूमा कोभिडविरुद्ध चिनियाँ खोपको दोस्रो मात्रा जेठ २ गतेबाट वितरण गर्न सुरु भएको छ।

ललितपुर र भक्तपुर जिल्लामा जेठ ६ गतेबाट भेरो सेलको दोस्रो मात्रा लगाउने सार्वजनिक सूचना जारी भएको छ।

चीन सरकारबाट अनुदानमा प्राप्त भेरो सेलको पहिलो मात्रा गत चैत २५ गतेदेखि वैशाख १५ गतेसम्म १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका नागरिकलाई लगाइएको थियो।

खोपको पहिलो मात्रा लगाइसकेको भए पनि कोरोनाभाइरसबाट सङ्क्रमित भएका कतिपय व्यक्तिमा दोस्रो मात्रालाई लिएर अन्योल देखिएको छ।

त्यस्ता कतिपय व्यक्तिले खोपको दोस्रो मात्रा आफूहरूले कहिले लगाउन मिल्छ भन्ने जिज्ञासा सामाजिक सञ्जालमा पनि राख्ने गरेका छन्।

यसै विषयमा बीबीसी न्यूज नेपालीका गनी अन्सारीले सङ्क्रामक रोगसम्बन्धी दुईजना विशेषज्ञ चिकित्सकसँग कुराकानी गरेका छन्।

प्राध्यापक डा. बुद्ध बस्न्यात, सङ्क्रामक रोगसम्बन्धी अनुसन्धानकर्ता

खोपको पहिलो मात्रा लगाए पनि सङ्क्रमित भएको अवस्थामा दोस्रो मात्रा कहिले लगाउन सकिन्छ?

सङ्क्रमण भएर निको भएको दुई हप्तापछि कोभिड खोपको दोस्रो मात्रा लगाउन सकिन्छ।

डा. बुद्ध बस्न्यात
तस्बिरको क्याप्शन, डा. बुद्ध बस्न्यात

खोपको पहिलो वा दुवै मात्रा लगाइसकेका मानिस पनि किन सङ्क्रमित भइरहेका छन्?

खोपको शतप्रतिशत प्रभावकारिता भनिएकै छैन। तर महत्त्वपूर्ण कुरा के हो भने खोप लगाइसकेकाहरू सङ्क्रमित हुने गरे पनि उनीहरूमा जटिल समस्या देखिएको छैन।

पहिलो मात्रा मात्र लगाएका हकमा पनि सङ्क्रमित भएपछि भेन्टिलेटर नचाहिने अथवा सङ्क्रमणले गम्भीर रूप नलिएको पाइएको छ।

खोप लगाएको सामान्यतया दुई हप्तापछि कोरोनाभाइरससँग लड्ने सिपाहीहरू अर्थात्‌ एन्टिबडी बन्न थाल्छन्। दोस्रो बूस्टर लगाएपछि लगभग त्यस्तै हुने हो।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

दोसो मात्रा समयमा लगाइएन भने के हुन्छ?

पहिलो मात्रा लगाएको तीन महिनाभित्र लगाउनुपर्छ भनिएको छ।

तर दुई महिनाभन्दा तीन महिनामा लगाउनेहरूमा कोभिडसँग लड्ने सिपाही अर्थात् एन्टिबडी अझ राम्रोसँग बनेको अध्ययनहरूले देखाएका छन्। हामीले पनि त बढी सिपाही खोजेका हौँ नि त।

तर तीन महिनाभन्दा पनि बढी समयपछि दोस्रो मात्रा लगाउँदा के कस्तो हुन्छ भन्नेबारे अहिले कुनै निष्कर्ष आइसकेको छैन।

त्यो विषयमा वैज्ञानिक अध्ययन भएपछि मात्रै ठ्याक्कै यही हो भन्न सक्ने अवस्था हुनसक्ला।

Presentational grey line

डा. अनूप सुवेदी, सङ्क्रामक रोग विशेषज्ञ

खोपको पहिलो मात्रा लगाए पनि सङ्क्रमित भएको अवस्थामा दोस्रो मात्रा कहिले लगाउन सकिन्छ?

अहिलेसम्म हामीले बुझेको आधारमा भन्नुपर्दा सङ्क्रमण भइसकेपछि खोप लगाउन मिल्छ।

सङ्क्रमण निको भएको परिभाषा के हो भने अक्सिजन नघटेको बिरामीका लागि पनि लक्षण सुरु भएको दिनबाट १० दिन पूरा हुनुपर्‍यो।

यदि ज्वरो आएको छ भने ज्वरो आउन छोडेको अर्को तीन दिनपछि लगाउन सकिन्छ। यी दुइटा सर्त जहिले पूरा हुन्छ त्यो बेला खोल लगाउँदा हुन्छ।

अक्सिजन कम भएको बिरामीको हकमा १४ दिन भन्छौँ। लक्षण सुरु भएको दिनबाट १४ दिन पूरा हुनुपर्‍यो र ज्वरो हुन छाडेको तीन दिन पूरा हुनुपर्‍यो।

डा. अनुप सुवेदी
तस्बिरको क्याप्शन, डा. अनूप सुवेदी

कतिपय देशले भर्खर सङ्क्रमण भएका मान्छेलाई एक महिनासम्म खोप नलगाए हुन्छ भनेका हुन् किनभने भर्खरै निको भएर एन्टिबडीको विकास भएको हुन्छ।

एक महिनाभित्र फेरि नयाँ भेरिअन्ट आएर फेरि सङ्क्रमित बनाउने सम्भावना पनि कम हुन्छ। त्यो भएर एक महिनापछि पनि अर्को मात्रा लगाउँदा हुन्छ भनेका हुन्।

दोसो मात्रा समयमा लगाइएन भने के हुन्छ?

कोभिशील्डकै हकमा यो प्रश्न उठिरहेको छ। थुप्रै ज्येष्ठ नागरिकले पहिलो मात्रा लगाउनुभएको तीन महिना नाघिसक्यो। अहिले दोस्रो मात्रा लगाइको छैन।

ठ्याक्कै यति समयभित्रै लगाइसक्नुपर्छ भन्नेबारे पर्याप्त आँकडा हामीसँग छैन।

धेरैजसो देशले पहिलो मात्रा लगाएको एकदेखि तीन महिनाभित्र दोस्रो मात्रा लगाएका छन्।

खोप

तर कोभिशील्डको हकमा केही आँकडाले के देखाएका छन् भने पहिलो मात्रा लगाएको चार हप्ताभन्दा छ हप्तामा दोस्रो मात्रा लगाउँदा रोगप्रतिरोधी क्षमताका लगि राम्रो हुन्छ।

अनि छ हप्तामा लगाउनेभन्दा १२ हप्तामा दोस्रो मात्रा लगाउनेहरूलाई झन् राम्रो भएको बाहिरका आँकडाले देखाएका छन्।

अब तीन महिनाभन्दा पनि पर धकेल्दा के हुन्छ भन्नेबारे हामीलाई खासै थाहा भएको अवस्था छैन।

तीन महिनाभन्दा पछि दिँदा त्यति प्रभावकारी हुन्छ कि हुँदैन भनेर भन्न गाह्रो छ। तर त्यसले हानि चाहिँ हुँदैन।