इजरेल-प्यालेस्टाइन तनावः दशकौँदेखि किन द्वन्द्व

जेरुसेलम
Published

इजरेल र प्यालेस्टिनीहरूबीच युद्ध चर्कँदै जाँदा संयुक्त राष्ट्रसङ्घले ''पूर्ण युद्ध'' को चेतावनी दिएको छ।

पछिल्लो हिंसा जेरूसेलममा विगत एक महिना देखि बढ्दै गएको तनावको उपज हो। तर त्यहाँ दशकौँ अघि देखि द्वन्द्व जारी छ।

२०औ शताव्दिमा बेथलिएम
तस्बिरको क्याप्शन, २०औ शताब्दीमा बेथलिएम

१०० वर्ष पुरानो मुद्दा

प्रथम विश्व युद्धमा मध्य पूर्वमा शासन गरिरहेको ओटोमन साम्राज्य पराजित भएसँगै ब्रिटेनले प्यालेस्टाइन नाम गरेको क्षेत्र आफ्नो नियन्त्रणमा लिएको थियो।

उक्त स्थानमा अल्पसङ्ख्यक यहूदी र बहुसङ्ख्यक अरबीहरू बसोबास गर्थे।

यहूदीहरूका लागि प्यालेस्टाइनमा "न्याशनल होम" स्थापना गर्नका लागि ब्रिटेनलाई अन्तर्राष्ट्रिय समुदायले भनेसँगै त्यहाँका समुदायबीच तनाव बढ्न थाल्यो।

सन् १९४८ को युद्ध सुरु हुन अघिको तस्बिरमा यहूदी खुफिया अधिकारी
तस्बिरको क्याप्शन, सन् १९४८ को युद्ध सुरु हुन अघिको तस्बिरमा यहूदी खुफिया अधिकारी

यहूदीहरूका लागि त्यो पुर्ख्यौली घर थियो। तर प्यालेस्टिनी अरबीहरूले पनि उक्त भूमिमा आफ्नो दाबी राखे र उक्त कदमको विरोध गरे।

सन् १९२० को दशकदेखि १९४० सम्म त्यहाँ आइपुग्ने यहूदीहरूको सङ्ख्या बढ्यो।

दोस्रो विश्व युद्धपछि युरोपमा उत्पीडनबाट बच्नका लागि भागेका यहूदीहरू प्यालेस्टाइन पुगे र आफ्नो स्थानको खोजी गर्न थाले।

त्यसपछि यहूदी र अरबीहरूबीच अनि ब्रिटिश शासन विरुद्ध हिंसा बढ्न थाल्यो।

सन् १९४८मा यहूदी फौज माथि आक्रमण गरिँदै
तस्बिरको क्याप्शन, सन् १९४८ मा यहूदी फौज माथि आक्रमण गरिँदै

सन् १९४७मा संयुक्त राष्ट्र सङ्घमा प्यालेस्टाइनलाई विभाजन गरी यहूदी र अरब राज्यका रूपमा स्थापित गर्ने र जेरूसेलमलाई अन्तर्राष्ट्रिय सहर बनाउने विषयको पक्षमा मतदान भयो।

त्यो योजनालाई यहूदी नेताहरूले स्वीकार गरे तर अरब पक्षले भने त्यसलाई अस्वीकार गर्‍यो र कहिल्यै पनि कार्यान्वयन गरेन।

इजरेलको स्थापना र 'सङ्कट'

समस्या समाधान गर्न नसकेपछि ब्रिटिश शासकहरू सन् १९४८मा बाहिरिए। त्यसपछि यहूदी नेताहरूले इजरेल स्थापनाको घोषणा गरे।

भिडिओ क्याप्शन सुरु हुँदैछ, इजरेल-गाजा हिंसाः टीभीको प्रत्यक्ष प्रसारणमा एउटा भवन यसरी ध्वस्त भएको देखियो

त्यसको कैयौँ प्यालेस्टिनीहरूले विरोध गरे र पछि युद्ध पनि भयो। छिमेकी अरब राष्ट्रका सेनाले आक्रमण गरे।

लाखौँ प्यालेस्टिनीहरू भागे वा भाग्न बाध्य पारिए जसलाई उनीहरूले ''सङ्कट'' भन्ने गरेका छन्।

त्यसपछिको वर्षमा युद्ध विराम हुँदै गर्दा अधिकांश क्षेत्र इजरेलले नियन्त्रणमा लिन सफल भयो।

जोर्डनको क्षेत्र वेस्ट ब्याङ्कका रूपमा परिचित भयो भने इजिप्टको कब्जामा रहेको गाजा पनि इजरेलले कब्जा जमायो।

जेरूसेलमको पनि विभाजन भयो जसमा पश्चिमी भाग इजरेली सेनाको नियन्त्रणमा रह्यो भने पूर्वी भाग जोर्डनको सेनाको नियन्त्रणमा।

शान्ति सम्झौता नभएका कारण दुवै पक्षले एक अर्का माथि आरोप लगाइनै रहे र त्यसपछिका दशकहरूमा युद्ध र तनावपूर्ण अवस्था रहिनै रह्यो।

हालको नक्सा

सन् १९६७को अर्को युद्धमा इजरेलले पूर्वी जेरूसेलम, वेस्ट ब्याङ्क अनि सीरियाको गोलन हाइट्सको अधिकांश क्षेत्र, गाजा र इजिप्टको सिनाइ प्रायद्वीप आफ्नो नियन्त्रणमा लियो।

अधिकांश प्यालेस्टीनी शरणार्थी र उनीहरूका सन्तान गाजा, वेस्ट ब्याङ्क र छिमेकी जोर्डन, सिरिया अनि लेबननमा बस्छन्।

ती शरणार्थी र उनीहरूका सन्तानलाई इजरेलले आफ्नो घर फर्कन दिएको छैन।

इजरेलले त्यस्तो गर्नाले देशमा समस्या बढ्ने र यहूदी राज्यका रूपमा आफूहरूको अस्तित्व समेत खतरामा पर्ने बताउँदै आएको छ।

वेस्ट ब्याङ्क अझै पनि इजरेलको नियन्त्रणमा छ। र उ गाजाबाट बाहिरिइसकेको भए पनि संयुक्त राष्ट्र सङ्घले भने त्यो भूमिलाई अझै पनि नियन्त्रणमा रहेको क्षेत्रका रूपमा मान्छ।

इजरेलले जेरूसेलमको पूर्ण भागलाई आफ्नो राजधानी मान्छ।

सन् १९६७ मा इजरेली सैन्य अधिकारीहरू
तस्बिरको क्याप्शन, सन् १९६७ मा इजरेली सैन्य अधिकारीहरू

तर प्यालेस्टिनीहरूले भविष्यमा बन्ने राज्यको राजधानीका रूपमा पूर्वी जेरूसेलममा दाबी गरेका छन्।

जेरूसेलममा इजरेलको पूर्ण दाबीलाई मान्यता दिने केही राष्ट्रहरूमा अमेरिका पर्छ।

पछिल्लो ५० वर्षमा इजरेलले यो स्थानमा आवासीय क्षेत्र विकास गरेको छ जहाँ ६ लाख भन्दा बढी यहूदीहरू बसोबास गर्छन्।

अन्तर्राष्ट्रिय कानुन अनुसार यो गैर कानुनी रहेको र शान्तिका लागि बाधक रहेको प्यालेस्टिनीहरूले बताउने गरेका छन् तर इजरेलले भने त्यसलाई खण्डन गर्दै आएको छ।

अहिले के भइरहेको छ?

मानिसहरू

पूर्वी जेरूसेलम, गाजा र वेस्ट ब्याङ्कमा बस्दै आएका प्यालेस्टिनी र इजरेलबीच पटक पटक तनाव भइरहन्छ।

गाजामा हमास नाम गरेको लडाकु समूहले शासन गर्छ जसले कैयौँ पटक इजरेलसँग युद्ध गरेको छ।

इजरेल र इजिप्टले गा जामा हतियार नपुगोस् भनेर कडा रूपमा सीमा नियन्त्रण गर्छन्।

इजरेलका गतिविधि र प्रतिबन्ध का कारण आफूहरू समस्यामा परेको गाजा र वेस्ट ब्याङ्कस्थित प्यालीस्टिनीहरूको भनाइ छ।

युद्ध

इजरेलले भने प्यालीस्टिनीहरूको हिंसाबाट जोगिनका लागि मात्रै आफूले कदम चालेको बताउँदै आएको छ।

यो वर्षको मध्य एप्रिलमा सुरु भएको रमादान पर्वसँगै इजरेल र प्यालीस्टिनीहरूबीच फेरि तनाव चुलिँदै गएको छ।

मुख्य समस्या के हुन्?

इजरेल र प्यालीस्टीनीहरू सहमतिमा आउन नसक्ने कैयौँ मुद्दा छन्।

जसमा प्यालीस्टिनी शरणार्थीहरूलाई के गर्ने, वेस्ट ब्याङ्कमा रहेको यहूदी बसोबास कायमै राख्ने कि हटाउने, जेरूसेलम दुई पक्षले भाग लगाउने / नलगाउने र सबैभन्दा महत्त्वपूर्ण इजरेलसँगै प्यालीस्टिनी राज्य बनाउने / नबनाउनले जस्ता विषयहरू पर्छन्।

भविष्य कस्तो देखिन्छ?

छोटकरीमा भन्दा यो अवस्थाको चाँडै समाधान हुने देखिँदैन।

डोनल्ड ट्रम्प अमेरिकी राष्ट्रपति हुँदा शान्ति योजना बनेको थियो जसलाई इजरेलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले "शताब्दीकै महत्त्वपूर्ण सम्झौता" भनेका थिए।

तर प्यालेस्टिनीहरूले त्यसलाई एकपक्षीय भनेपछि योजना अघि बढ्न सकेन।

भविष्यमा बन्ने कुनै पनि शान्ति सम्झौताको योजनामा जटिल विषयहरू सुल्झाउन दुवै पक्षको सहमतिको आवश्यकता पर्ने छ।

र त्यस्तो नहुँदासम्म तनाव जारी नै रहने छ।