ओप्रा अन्तर्वार्ता: मेगन मार्कल र राजकुमारी डायनाको तुलना गरिनुका कारण

मेगन मार्कल र राजकुमारी डायना
    • Author, मेगन लटन
    • Role, न्यूजबीट
  • Published

ड्यूक तथा डचिस अफ ससिक्सको ओप्रा अन्तर्वार्ता धेरै कारणले महत्त्वपूर्ण रह्यो - तीमध्ये एउटा कारणचाहिँ अन्तर्वार्तामा राजकुमार ह्यारीकी आमा राजकुमारी डायनाको प्रसङ्ग बेलाबेलामा उल्लेख हुनु हो।

मेगन मार्कलले राजपरिवारसँग जोडिँदा उत्पन्न हुने विभिन्न पक्षबारे डायनाकी एक साथीसँग कुरा गरेको बताइन्। "किनभने... अरू कसले त्योबारे बढ्ता बुझेको होला र?"

दुई महिलाको राजपरिवारमा हुँदाको अनुभवबारे तुलना गरियो।

राजकुमार ह्यारीले आफ्नो दम्पती राजकीय जिम्मेवारीबाट पन्छिनुअघि कसरी आफ्नी आमा र पत्नीबीच तुलना गर्दै आफूलाई 'इतिहासको पुनरावृत्ति हुने' डर लागेकोबारे बोलेका छन्।

ह्यारीले यूकेका ट्याब्लोइड पत्रिकाले आफ्नी पत्नीबारे प्रकाशन गर्ने सामग्रीलाई डायनाको पालामा भएका प्रकाशनसँग तुलना गरेको यो पहिलो पटक भने होइन।

प्रेस कभरेजका दुई पाटा

राजकुमारी डायनालाई विश्वकै सबभन्दा प्रख्यात महिलामध्ये मानिन्थ्यो। उनको परोपकारी कार्य तथा व्यक्तिगत जीवन दुवैबारे पत्रिकाहरूमा यथेष्ट छापिन्थ्यो।

"डायना एक अभूतपूर्व शाही प्रतीक बनिन्। उनलाई विश्वभरि चिनिन्थ्यो," लेखिका केटी निकोलले बीबीसीको रेडियो वन न्यूजबीटलाई बताएकी छन्।

तर केटी थप्छिन्ः डायनाले आकृष्ट गर्ने ध्यान सधैँ सकारात्मक मात्र हुँदैनथ्यो।

"डायनालाई प्रेसमा आलोचना गरिन्थ्यो। उनी विश्वकै सबभन्दा प्रख्यात व्यक्ति थिइन् र सधैँ उनको वरपर अनि राजकुमार विलियम र ह्यारीको जीवनमा पापाराजीहरू घुमिरहन्थे।"

सन् १९९५ मा विलियम र ह्यारीलाई स्कूल पुर्‍याउँदै प्रिन्सेस अफ वेल्स डायना
तस्बिरको क्याप्शन, शाही लेखिका केटी निकोल भन्छिन्, 'राजकुमारी डायनालाई पापाराजीले बारम्बार पछ्याउँथे'

पत्रकार जेम्स ब्रुक्स यसमा सहमत छन्।

"कहिलेकाहीँ प्रेससँग उनको राम्रो सम्बन्ध रहन्थ्यो। तर अरू बेला प्रेस आफ्नो निजी जीवनमा निकै घुसेको भनेर उनले गुनासो गर्थिन्। एक किसिमको मिश्रित सम्बन्ध थियो।"

पछिल्ला वर्षहरूमा डायनाले व्यक्तिगत जीवनबारे अन्तर्वार्ता दिइन् र उनीमाथि समाचारमा छाउन खोजेको आरोप कतिपयले लगाए।

मेगनले राजपरिवारसँग नाता जोड्नेबित्तिकै आफ्नो व्यक्तिगत ब्लग बन्द गरिन् अनि यसअघिका उनका अधिकांश अन्तर्वार्ताहरू उनका परोपकारी कार्यमा सीमित रहे।

तर केटीले मेगन र ह्यारीले आफ्नै विगतका कुराहरू काटिरहेको भनेर कतिपयले विश्वास गरिरहेको पनि औँल्याइन्।

'शान्त जीवनमाथि प्रश्न'

सन् २०२० को ज्यानुअरीमा उनीहरूले आफ्नो व्यक्तिगत जीवनमा सञ्चारमाध्यमको बढी चासो भएको भन्दै राजपरिवारको विशिष्ट भूमिकाबाट अलग्गिने बताए। उनीहरू क्यानडा गए र त्यसपछि क्यालिफोर्निया सरे। उनीहरूले अब आफूहरू राजपरिवारको सक्रिय सदस्यका रूपमा यूके कहिल्यै नफर्किने पनि बताएका छन्।

तर केटी भन्छिन् उनीहरूले "आफ्नो जीवनबारे अहिले जति [अमेरिका सरेयता] विगतमा यूकेमा रहँदा कहिल्यै खुलाएका थिएनन्।"

यो अवधिमा उनीहरूले स्पटिफाईमा पडकास्ट गर्न अनि नेटफ्लिक्ससँग पनि काम गर्न सम्झौता गरेका छन्। साथै उनीहरूले जेम्स कर्डन र ओप्रा विन्फ्रीलाई अन्तर्वार्ता दिएका छन्।

केटी निकोलले भनिन्ः "शान्त जीवन चाहियो भनेर ठाउँ सरेका दम्पतीमाथि मानिसहरूले प्रश्न उठाइरहेका छन्। 'किन उनीहरूले जेम्स कर्डन र ओप्रा विन्फ्रीसँग खुले अनि आफ्ना छोराबारे पनि बोले?'"

ह्यारीले ओप्रासँगको कुराकानीमा नेटफ्लिक्स र स्पटिफाई आफ्नो योजनामा नरहेको तर परिवारले सन् २०२० को सुरुताका "आर्थिक रूपमा मलाई अलग्याइदिएपछि" आफूसँग विकल्प नरहेको बताए।

राजकुमारी डायनाको निधन र पापाराजी

डायना विश्वकै सबभन्दा धेरै फोटो खिँचिएकी व्यक्ति थिइन्
तस्बिरको क्याप्शन, डायना विश्वकै सबभन्दा धेरै तस्बिर खिचिएकी व्यक्ति थिइन्

"उनी जहाँजहाँ गए पनि त्यहाँ धेरै सङ्ख्यामा पत्रकार र फोटोग्राफरहरू पुग्थे," जेम्स ब्रुक्स भन्छन्।

जेम्सलाई लाग्छ राजकुमार ह्यारीको सञ्चारमाध्यमप्रतिको दृष्टिकोण राजकुमारी डायनाको निधनले पनि निर्धारण गरेको छ।

"ह्यारी र विलियमको सो दृष्टिकोण अनुसार उनीहरूको आमालाई पापाराजीले एक किसिमले सधैँ लखेटिरहे," उनले भने।

सन् १९९७ को अगस्ट ३१ म प्यारिसस्थित सडकको सुरुङमार्गमा भएको कार दुर्घटनामा राजकुमारी डायनाको निधन भएको थियो। त्यतिखेर ह्यारी १२ वर्षका थिए।

कारचालक हेनरी पलले मदिरा पिएका थिए अनि सो कारलाई मोटरबाइक चढेका पापाराजीहरूले पछ्याइरहेका थिए।

पछि गरिएको अनुसन्धानले चालक तथा पापाराजीको 'चरम लापरबाही'का कारण डायनाको "गैरकानुनी हत्या" भएको निष्कर्ष निकालेको थियो।

सन् २०१७ को एक बीबीसी वृत्तचित्रमा राजकुमार ह्यारीले आफ्नी आमाको मृत्यु र त्यसमा पापाराजीको भूमिकाबारे बोलेका थिए।

"मलाई लाग्छ सबभन्दा सहन कठिन एउटा विषय के हो भने तिनै मानिसहरू जसले उनलाई सुरुङभित्र पछ्याए तिनैले कारको पछिल्लो सीटमा उनी मरिरहेको तस्बिर पनि खिचिरहेका थिए।"

नकारात्मक कभरेज

मेगन मार्कल र राजकुमार ह्यारी
तस्बिरको क्याप्शन, राजकुमार ह्यारीले मेगनप्रति प्रेसले देखाएको व्यवहारको आलोचना गरेका छन्

उनले सन् २०१९ को अक्टोबरमा त्यसो भनेको भए पनि केटी निकोल भन्छिन्, "मेगनलाई डायनको जस्तो पापाराजीले दु:ख दिएका छैनन्।"

सायद प्रेसमा मेगनलाई आलोचना गर्दै आउने सामग्रीले ह्यारी वाक्क भइसकेको केटीले बताइन्।

बारम्बार उनको पत्नीबारे नकारात्मक सामग्री छापेको उनी ठान्छन्।

"मेगनले धेरै खर्च गरेको भन्ने कैयौँ समाचारहरू आए। उनीहरूको घर मर्मतका निम्ति करदाताको पैसा खर्च गरिएका कुरा पनि आयो।"

उक्त पैसा (झन्डै ३३ लाख डलर) उनीहरूले पछि तिरेका थिए।

"साथै डचिस अफ ससिक्सका लाखौँ पाउन्ड पर्ने महँगा लुगाको पनि चर्चा भयो।"

'सञ्चारमाध्यममा छाउन उनी अभ्यस्त छिन्'

दक्षिण अफ्रिका भ्रमणमा मेगन र ह्यारी
तस्बिरको क्याप्शन, केटी निकोलका अनुसार ह्यारी आफ्नी पत्नीलाई प्रेसको नजरबाट जोगाउन चाहन्छन्

कतिपय मानिसका अनुसार मेगनले आफूतिर ध्यानाकृष्ट हुने कुरा बुझ्नुपर्छ किनकि उनी राजपरिवारसँग जोडिनुभन्दा अगाडिदेखि नै चर्चित अभिनेत्री थिइन्। तर केटी यो धारणासँग सहमत छैनन्।

"उनको विगतमा सलेब्रिटी जीवनशैली भए पनि राजपरिवारमा रहनुसँग त्यसको तुलनै हुँदैन।

"हो, उनी अभिनेत्री थिइन्। तर एन्जलिना जोली वा निकोल किडम्यानको तहको चर्चित थिइनन्। उनले यति धेरै सार्वजनिक चासो बेहोरेकी थिइनन्।"

उनी भन्छिन्, "मलाई लाग्छ मेगनलाई राजपरिवारका अरू सदस्यसरह नै व्यवहार गरिएको छ। मानिसहरू चाँडै बिर्सिन्छन् तर डचिस अफ केम्ब्रिजले पनि ट्याब्लोइड सामग्री निकै झेल्नुपरेको थियो।"

केटी निकोलका अनुसार चुनौती के हो भने ह्यारी दम्पतीबारे स्पष्ट सार्वजनिक चासो छ तर कतिसम्म स्वीकार्य हुन्छ भन्ने बुझ्नुपर्छ।

"राजपरिवारबारे समाचार बनाउनु प्रेसको कर्तव्य हो। तर त्यो उचित र निष्पक्ष हुनुपर्छ।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, राजकुमारी डायना 'हृदयकी रानी'