अमेरिकाको डेन्भरमा जब उडिरहेको विमानबाट इन्जिनका टुक्राहरू खसे...

युनाइटेड एयरलाइन्स
Published

अमेरिकाको डेन्भर सहरमा आकाशमा उडिरहेको एउटा बोइङ जेटबाट बिग्रिएको इन्जिनका भग्नावशेषहरू आवासीय क्षेत्रमा खसेका छन्।

उड्नेबित्तिकै उक्त विमानको एउटा इन्जिन बिग्रिएको थियो।

तर दुई सय ३१ जना यात्रु र चालकदलका १० सदस्यसहित उडेको बोइङ ७७७ विमान सुरक्षित रूपमा डेन्भर विमानस्थलमा अवतरण गर्न सफल भएको थियो।

कोही घाइते भएका खबर छैन।

ब्रूमफील्ड सहरको प्रहरीले सार्वजनिक गरेका तस्बिरमा एउटा घरको बगैँचामा इन्जिनको टुक्रा खसेको देखिन्छ।

युनाइटेड एयरलाइन्स

विमानमा रहेका यात्रुहरूले उडेको केही बेरमा एउटा 'ठूलो विस्फोटन' आफूहरूले सुनेको बताएका छन्।

यूनाइटेड एअरलाइन्सको उक्त विमान होनोलुलुतर्फ जाने क्रममा दायाँतर्फको इन्जिनमा समस्या देखिएको अमेरिकाको सङ्घीय उड्डयन निकाय एफएएले जनाएको छ।

विमानमा रहेका एक यात्रुले एपी समाचारसंस्थालाई बताएअनुसार विस्फोटनका बेला विमानचालकले एउटा सूचना दिइरहेका थिए।

डेभिड डेलुसियाले भने, "विमान डरलाग्दो गरी हल्लिन थाल्यो र हामीले उचाइ गुमाउन थाल्यौँ अनि हामी तल झर्न थाल्यौँ।"

युनाइटेड एयरलाइन्स

तल खसेर दुर्घटना भइहाल्यो भने आफ्नो पहिचान हुन सकोस् भनेर आफू र आफ्नी पत्नीले गोजीमा पर्स राखेको उनले सुनाए।

अनलाइनमा सार्वजनिक गरिएका तस्बिरमा इन्जिनबाट धुँवा आएको देखिन्छ।

विमानभित्रबाट खिचिएको अर्को एउटा भिडिओमा इन्जिनमा आगो लागेको र त्यसलाई ढाक्ने खोल उडेको देखिन्छ।

उक्त घटना स्थानीय समयानुसार शनिवार दिउँसो १ बजेभन्दा केही बेरपछि भएको हो।

युनाइटेड एयरलाइन्स

ब्रूमफील्ड प्रहरीले स्थानीय बासिन्दाहरूलाई भग्नावशेषहरू नछुन भनेको छ।

एफएए र राष्ट्रिय यातायात सुरक्षा बोर्डले घटनाबारे एउटा अनुसन्धान गर्दैछन्।

Presentational grey line

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, व्यस्त राजमार्गमा विमान ओर्लिएपछि...