अमेरिका आप्रवासनः शरण खोज्ने नौवर्षे बालिका जो ५०० दिनभन्दा बढी समयदेखि थुनामा छिन्

लुइजाले आफ्नो मुक्तिका लागि कङ्ग्रेसका एक सदस्यलाई पत्र लेखेकी छन्
तस्बिरको क्याप्शन, लुइजाले आफ्नो मुक्तिका लागि कङ्ग्रेसका एक सदस्यलाई पत्र लेखेकी छन्
Published

अमेरिकी कानुनअनुसार नाबालिग आप्रवासीलाई अधिकतम २० दिन मात्र नियन्त्रणमा राख्न पाइन्छ। तर एल साल्भाडोरबाट आफ्नी आमासँग आएकी एक बालिका ५०० दिनभन्दा बढी समय बन्दीगृहमा बसिसकेकी छन्।

नौ वर्षकी लुइजाको अवाज मिठो छ तर उनी बेलाबेलामा आफ्नो उमेरभन्दा बढी परिपक्व कुरा गर्छिन्।

उनले सांसदहरूलाई पत्र लेखेर आफू र आफ्नी आमा एरियानालाई आप्रवासी परिवारलाई राख्ने बन्दीगृहबाट मुक्त गराउन अधिकारीहरूलाई अनुरोध गर्नुपरेको छ।

(यो सामग्रीमा लुइजा र एरियाना दुवैको नाम परिवर्तन गरिएको छ। फिर्ता पठाइने डर भएकाले उनीहरूले आफ्नो परिचय खुलाउन चाहेका छैनन्।)

शरण माग्ने उनीहरूको एउटा प्रयास विफल भएपछि फेब्रुअरी २ सम्म उनीहरूले ५३१ दिन अमेरिकी सरकारको नियन्त्रणमा बिताए।

अमेरिकाका तीनवटा आप्रवासी परिवार बन्दीगृहमा सञ्चालन भइरहेका कानुनी सहायता संस्थाहरूका अनुसार एल साल्भाडोरकी ती बालिका अमेरिकाको आप्रवासन र भन्सार हेर्ने निकाय आइसीईको हिरासतमा सबैभन्दा लामो समय बिताउने नाबालिग हुन्।

उनलाई टेक्ससको एउटा बन्दीगृहमा राखिएको छ।

“मेरा सबै साथीहरू यहाँबाट गइसकेका छन्। अब म र मेरो अर्को साथी मात्र बाँकी छौँ,” उनले भनिन्।

अमेरिकाको विद्यमान नियमका अनुसार आप्रवासी बालबालिकालाई आईसीईको थुनामा बढीमा २० दिन राखेपछि रिहा गर्नुपर्छ।

तर लुइजासहित तीनदेखि १६ वर्षसम्मका चार बालबालिकाले उक्त बन्दीगृहमा ५०० दिनभन्दा बढी समय बस्नुपरेको छ।

टेक्सस
तस्बिरको क्याप्शन, दक्षिण टेक्ससको यो ठाउँ मेक्सिकोको सीमाबाट दुई घण्टाजति पर छ

'आमाको ठाउँ कसैले लिन सक्दैन'

लुइजा अमेरिकामा रहेका अरू आफन्तसँग बस्नेगरी जान सक्थिन्।

तर आमा र छोरीले एकै ठाउँमा बसेर आफूलाई फिर्ता गर्ने सरकारी प्रयासलाई अदालतमा चुनौती दिने निर्णय गरे।

एरिआना भन्छिन्, "कसैले पनि आमाको ठाउँ लिन सक्दैन। म मेरी छोरीलाई उनीहरूको (अमेरिकामा रहेका आफन्त) हातमा छाड्न सक्दिनँ। मेरी छोरी सानै छे र उसलाई मेरो हेरविचारको खाँचो छ। म कसरी उसलाई छाड्न सक्छु?”

आप्रवासनसम्बन्धी अधिवक्ता र अधिकारवादीहरू आइसले आफ्नो देश फिर्ता हुने जोखिमसहित थुनामा रहेका परिवारहरूलाई बालबच्चाबाट अलग हुने अवस्थामा पुर्‍याउनुभन्दा रिहा गर्नुपर्ने बताउँछन्।

आफ्नो चुनावी अभियानका क्रममा राष्ट्रपति जो बाइडनले परिवारलाई थुनामा राख्ने निर्णयको विपक्षमा बोलेका थिए र जुन महिनामा बालबालिका र अभिभावकहरूलाई तत्कालै रिहा गरिनुपर्ने बताएका थिए।

लुइजाको घटनाले कतिपयले विफल भन्ने गरेका आप्रवासन नीतिको जटिलतालाई देखाउँछ।

“मैले यहाँ दुईवटा क्रिस्मस बिताएँ,” लुइजा भन्छिन्, “मलाई खाना पाउन नपाएकोमा चुकचुक लाग्छ। म आफैँ खाना बनाउन चाहन्छु। मेलै अङ्ग्रेजी भाषा केही सिकेकी छु। तर म यहाँबाट टाढा विद्यालयमा अझै अध्ययन गर्न चाहन्छु।“

उनकी आमाका अनुसार लुइजालाई बन्दीगृहको खाना रुच्दैन र उनको व्यवहारमा परिवर्तन आएको छ। एकतीस वर्षीया एरिआना आफैँ पनि तनावका कारण बिरामी परेकी छन्।

“म आफैँ औषधि खाइरहेकी छु र केही समय पहिले मैले आफूमाथि आक्रमण भएको जस्तो महसुस गरेँ। मलाई के भयो थाहा छैन। तर स्वास्थ्यकर्मीले त्यो तनावले गर्दा भएको बताए।“

साउथ टेक्सस फ्यामिली रेजिडेन्शल सेन्टर
तस्बिरको क्याप्शन, लुइजा ५०० दिनभन्दा बढी समयदेखि साउथ टेक्सस फ्यामिली रेजिडेन्शल सेन्टरमा छिन् (फाइल तस्बिर)

शरणको माग अस्वीकार

एरिआनाले विस्तृतमा नखुलाई एल साल्भाडोरको हिंसाले आफूलाई लुइजालाई लिएर देश छाड्न बाध्य पारेको बताइन्। आफ्ना अरू दुई सन्तान स्वदेशमै रहेको उनको भनाइ छ।

सन् २०१९ को अगस्ट २१ मा अमेरिका-मेक्सिको सीमा पार गरेकी उनलाई २७ तारिखमा बन्दीगृह लगिएको थियो।

यो परिवारको शरणार्थी आवेदन अघि बढाउन कानुनी सहायता उपलब्ध गराएकी मकेन्जी लेभीका अनुसार मेक्सिको र ग्वाटेमालामा शरणको माग नगरी अमेरिकामा मात्रै माग गरेको भन्दै उक्त निवेदन अस्वीकार गरिएको थियो।

गएको सेप्टेम्बरमा उनका वकिलहरूले आप्रवासन अदालतमा पुनरावेदन दिएका थिए। तर अदालतले शरण नदिने निर्णय अनुमोदन गर्दै लुइजा र उनकी आमालाई घर फर्काउन आदेश दिएको थियो।

एरिआनाका वकिलहरूले सरकारले उनलाई न्यायाधीशसमक्ष उपस्थित भएर आफ्ना कुरा राख्ने मौका दिनुपर्ने माग गरेका छन्।

आइसले विचाराधीन मुद्दा भएकाले यसमा आफूले प्रतिक्रिया दिन नसक्ने बताएको छ।

ग्वाटेमाला
तस्बिरको क्याप्शन, ज्यानुअरीमा ग्वाटेमालाले अमेरिका जान खोज्ने मानिसहरूको एउटा ठूलो समूहलाई रोकेको थियो

झन्डैझन्डै निकाला

एरिआनाले सरकारले उनी र उनका छोरीलाई कम्तीमा पाँच पटक अमेरिकाबाट निकाला गर्ने प्रयास गरेको बताइन्। कतिपय अवस्थामा अन्तिम समयमा वकिलहरूले आफूहरूलाई जोगाएको उनको भनाइ छ।

उनका अनुसार एल साल्भाडोर फर्काउने उद्देश्यले विमानस्थलमा लगिएसँगै उनकी छोरीले आफूहरूको चुनौतीबारे अझ बढी बुझ्न पाएकी छन्। “मलाई उनीहरूले भित्रबाहिर गराएकोमा रिस उठ्छ,“ बन्दीगृहको अनुभूतिबारे उनी भन्छिन्।

आफ्नी छोरी पढाइमा पछि परिरहेको भन्दै उनी चिन्तित छिन्।

अमेरिकाबाट फिर्ता पठाइन लागेका बाबुछोरी
तस्बिरको क्याप्शन, लामो समयदेखि आईसीईको हिरासतमा भएका २८ मध्ये छ बालबालिकालाई अहिलेसम्म स्वदेश फिर्ता पठाइसकिएको छ

भद्रगोल नीति

गएको नोभेम्बर महिनामा आप्रवासी अधिकारसम्बन्धी ६० वटा सङ्घसंस्थाले पदासीन राष्ट्रपति डोनल्ड ट्रम्प र राष्ट्रपति-निर्वाचित जो बाइडनलाई पत्र लेख्दै १५ महिनादेखि आफ्ना परिवारसँगै हिरासतमा रहेका २८ बालबालिकाको रिहाइको माग गरेका थिए।

त्यही महिना आइसले परिवारले कानुनी विकल्पहरूमा व्यापक पहुँच पाएको र उनीहरूसँग अमेरिकामा बसोबासका लागि कुनै कानुनी आधार नभएको निर्क्योल गरिएको जनाएको थियो।

पत्रमा उल्लेख गरिएका २८ बालबालिकामध्ये छ जनालाई उनीहरूकै देशमा फिर्ता गरिएको छ भने १७ जना मुक्त भएका छन्।

लुइजासहित पाँच जना अझै हिरासतमा छन्।

साउथ टेक्सस फ्यामिली रेजिडेन्शल सेन्टर
तस्बिरको क्याप्शन, अमेरिकी आप्रवासन कानुनअनुसार बालबालिकालाई २० दिनभन्दा बढी हिरासतमा राख्न पाइँदैन

माइग्रेशन पलिसी इन्स्टिट्यूटकी सेराह पिइर्सका अनुसार अहिलेको जस्तो नीतिले भद्रगोल निम्त्याउनुका साथै दुःखी बनाउँछ।

अमेरिकामा प्रवेश गरेको झन्डै डेढ वर्ष हुँदा पनि लुइजा बन्दीगृहबाट निस्किन पाएकी छैनन्। उनको १० औँ जन्मदिन आउन लागेको छ।

“म बाहिर निस्किन चाहन्छु र त्यो दिन म आन्टीको घरमा जान चाहन्छु,” उनले भनिन्।