खगोलशास्त्र: सन् २०२१ का मुख्य आकर्षण

टर्कीबाट देखिएको रातको आकाश
तस्बिरको क्याप्शन, टर्कीबाट देखिएको रातको आकाश
    • Author, इभा ओन्टीभेरोस
    • Role, बीबीसी विश्व सेवा
  • Published

नयाँ वर्ष, नयाँ तारामण्डल अवलोकनका योजना!

यदि तपाईँ रातमा आकाश अवलोकन र अन्तरिक्ष अवलोकनको पारखी हुनुहुन्छ भने अहिलेदेखि नै योजना बनाउन थाल्नूस् है किनभने सन् २०२१ रोमाञ्चक र सुन्दर खगोलशास्त्रीय दृश्य र घटनाले भरिपूर्ण हुनेछ।

नजिकका आकाशगङ्गाहरू, खग्रास चन्द्रग्रहण, आगोका लप्काका घेराहरू, उल्कापात, मङ्गल ग्रहमा अवतरण गर्न उडिरहेका लागेका दुईवटा अन्तरिक्ष यानहरू र अन्तरिक्ष अवलोकन गर्न नयाँ शक्तिशाली टेलिस्कोपजस्ता विषयहरूले यो वर्ष अरूभन्दा विशेष हुने अनुमान गरिएको छ।

यो वर्ष पहिलो पटक देखिन लागेका केही दृश्यदेखि बेलाबखत देखिने अदभूत दृश्यहरू हेर्न पाइनेछ।

१. बुध ग्रह

दायाँमा रहेको बुध अनि बृहस्पति र शुक्र ग्रह
तस्बिरको क्याप्शन, दायाँमा रहेको बुध अनि बृहस्पति र शुक्र ग्रह

हाम्रो सौर्यमण्डलको सबैभन्दा सानो र सूर्यसँग सबभन्दा नजिक दूरीमा रहेको ग्रह बुध तपाईँले कहिल्यै देख्नुभएको छैन भने ज्यानुअरी २४ का दिन राम्ररी हेर्न सक्नुहुनेछ।

आँखाको ज्योति राम्रा भएकाहरूका लागि यो ग्रह पश्चिमी क्षितिजमा देखिनेछ तर बाइनोकुलरले हेर्ने हो भने झन् प्रस्ट हुनेछ।

बुधले सूर्यको एक पटक परिक्रमा गर्न ८८ दिन लाग्छ। धेरैजसो समय हामी बुध ग्रह देख्न सक्दैन किनभने त्यो या छोपिएको हुन्छ या तारामण्डलका अन्य प्रकाशले देख्न नसक्ने तुल्याइदिन्छन्।

तर ज्यानुअरीको अन्त्यतिर यो ग्रह असाध्यै चम्किलो देखिनेछ। त्यसैले हेर्नुहोला।

२. दक्षिणी गोलार्द्धमा देखिने आकाशीय पीण्डहरू

चीलेबाट देखिएको रातको आकर्षक आकाश
तस्बिरको क्याप्शन, चीलेबाट देखिएको रातको आकर्षक आकाश

भूमध्यरेखाको दक्षिणतिरबाट तारामण्डल अवलोकन गर्नु सिकारु र दक्ष खगोलशास्त्रीहरूका लागि बडो रोमाञ्चक दृश्य हुनसक्छ।

शुरूवातकर्ताहरूका लागि आकाशगङ्गाको मार्ग यति स्पष्ट र चम्किलो हुन्छ कहिलेकाहीँ त आकाशमा तारैताराको इन्द्रेणीजस्तो देखिन्छ: क्षितिजदेखि क्षितिजसम्म बहुरङ्गी अर्ध गोलाकार दृश्य।

यो क्षेत्रबाट विभिन्न आकाशीय पीण्डहरू र खगोलिय गतिविधि नाङ्गो आँखाले देख्न सकिन्छ।

३. उत्तरी गोलार्द्धको हिउँदको रात

तारापुञ्ज
तस्बिरको क्याप्शन, 'सेभेन सिस्टर्स' भनिने तारापुञ्ज

हिउँदमा लामा रात हुन्छन् । चिसो हुने भए पनि खगोलशास्त्रीहरूका लागि तारापुञ्ज अवलोकनका लागि लामो समय उपलब्ध हुन्छ।

अँध्यारो रात रोज्नुहोस् जस्तो कि ११ फेब्रुअरी औँसीको रात जब आकाशमा चन्द्रमा देखिँदैन त्यसबेला आकाशमा अन्य वस्तु राम्ररी देख्न सकिन्छ।

त्यसो गर्दा सेभेन सिस्टर्स भनिने ताराहरूको सुन्दर समूहलाई तपाईँ शहरी क्षेत्रबाट पनि देख्न सकिन्छ।

अझ तपाईँ आकाश अवलोकनमा अभ्यस्त हुँदै जानुभयो भने हाम्रो नजिकै रहेको अर्को आकाशगङ्गा पनि देख्न सक्नुहुन्छ।

४. ओरियन तारामण्डल

क्यानडाबाट देखिएको ओरियन
तस्बिरको क्याप्शन, ओरियनलाई कैयौँ संस्कृतिमा 'जाडो ल्याउने तारा'का रूपमा लिने गरिन्छ

खगोलबारे जान्न मन छ भने दुवै गोलार्द्धबाट देखिने तारामण्डल अवलोकनबाट शुरू गर्न सकिन्छ।

ओरियन हिउँदमा राम्ररी देख्न सकिन्छ।

उत्तरी गोलार्द्धमा भए दक्षिण-पश्चिमी आकाशमा र दक्षिणी गोलार्द्धमा भए उत्तर-पश्चिमी आकाशमा यो तारापुञ्ज देख्न सकिन्छ।

अङ्ग्रेजीमा 'द हन्टर' पनि भनिने यो तारामण्डलमा रहेको एउटा भागमा नयाँ ताराहरू जन्मिरहेका हुन्छन्।

५. मङ्गल ग्रहतर्फ गएका अन्तरिक्ष यान

नमूना चिनियाँ यान
तस्बिरको क्याप्शन, चीनको टियानवेन-१ यान एप्रिलमा मङ्गल ग्रहमा अवतरण गर्ने अपेक्षा राखिएको छ

यो वर्ष तपाईँले एक होइन दुई अन्तरिक्ष यानहरू मङ्गल ग्रहमा अवतरण भएको देख्न सक्नुहुनेछ।

फेब्रुअरी १८ मा नासाको यान मङ्गल ग्रहमा अवतरण गर्ने अपेक्षा छ।

त्यसमा विभिन्न क्यामेराहरू जडान गरिएका छन् जसले मङ्गल ग्रहको माटोको अध्ययन गर्न सहयोग पुग्नेछ।

यसले पूर्व र अहिलेको मङ्गल ग्रहमा हुनसक्ने जीवनको सङ्केतहरू खोज्नेछ।

एप्रिलमा चीनको टियानवेन-१ यान मङ्गल ग्रहमा अवतरण हुनेछ। यसले मङ्गल ग्रहको सतहभित्र रहेको सम्भावित पानीका स्रोतहरू खोज्ने र त्यहाँबाट सामग्री ल्याएर पृथ्वीमा अनुसन्धान गर्ने सम्भावनाको खोजी पनि गर्नेछ।

६. उल्कापात

उल्कापात
तस्बिरको क्याप्शन, डिसेम्बर महिनामा देखिने उल्कापात सबभन्दा आकर्षक हुने बताइएको छ

प्राकृतिक आतसबाजी हेर्न मध्यरात पछिको समय कुर्नुपर्छ। र जहाँ कम प्रदूषण छ त्यहाँ पुग्नु राम्रो हुन्छ।

"मे महिनाको ४ तारिख एउटे त्यस्तै उल्कापात हुनेछ।"

अर्को उल्कापात अगस्टको ११ तारिख हुनेछ। तर सबभन्दा राम्रो उल्कापात हेर्न भने वर्षको अन्त्यसम्म कुर्नुपर्नेछ।

"१३ डिसेम्बरका दिन हुने उक्लापात असाध्यै रङ्गीचङ्गी हुनेछ" रोयल अबजरभेटरी ग्रेनीच सम्बन्धित खगोलशास्त्री ग्रेग ब्राउन भन्छन्।

७. खग्रास चन्द्र ग्रहण

चन्द्रमामा पृथ्वीको छाया पर्दै
तस्बिरको क्याप्शन, चन्द्रमामा पृथ्वीको छाया पर्दै

मे २६ का दिन चन्द्रमा पृथ्वीको छायाले छोपिनेछ।

प्रशान्त क्षेत्रमा रहनेहरूले यो खग्रास चन्द्रग्रहण अवलोकन गर्न सक्नेछन्।

सबैभन्दा उपयुक्त अवलोकन स्थल संयुक्त राज्य अमेरिकाको हवाइबाट हुनेछ।

८.गोलाकार सूर्य ग्रहण

चन्द्रमामा पृथ्वीको छाया पर्दै
तस्बिरको क्याप्शन, चन्द्रमामा पृथ्वीको छाया पर्दै

जून १० का दिन चन्द्रमाको छायाँसूर्यमा पर्नेछ - यो साधारण सूर्य ग्रहण मात्रै हुनेछैन।

यो अवसरमा चन्द्रमा पृथ्वीबाट ४० लाख ४ हजार ३ सय किलोमिटर टाढा मात्र हुनेछ। त्यसको अर्थ चन्द्रमाको छायाले सूर्यलाई पूर्ण रूपमा छोप्न सक्ने हुनेछैन।

त्यसैले सूर्यमा एउटा गोलो घेरा देखिनेछ।

त्यसबेला सूर्यलाई प्रत्यक्ष हेर्नुहुँदैन भन्ने स्मरण राख्नुहोला।

ग्रहणमा लगाउन मिल्ने चस्मा लगाउनुहोला।

सूर्यमा गोलो घेरा क्यानडा, उत्तर-पश्चिमी ग्रीनल्यान्ड र उत्तर-पूर्वी साइबेरियाबाट र इन्टरनेटमार्फत् त सम्पूर्ण विश्वभरिबाट देख्न सकिनेछ।

९.ग्रहहरू आमनेसामने

बृहस्पति र शनि
तस्बिरको क्याप्शन, तपाईँको बाल्कोनीबाट बृहस्पति र शनि देख्न पाउने कल्पना गर्नूस् त

सौर्यमण्डलका सबै ग्रह सूर्यको वरिपरि घुम्ने भएकाले बेलाबखत पृथ्वी सूर्य र अरू ग्रहको ठिक बीचमा पर्ने गर्छ त्यसैलाई खगोलशास्त्रीहरूले 'इन अपोजिशन' अर्थात् आमनेसामने भन्ने गर्छन्।

"पृथ्वीका नजिक पर्ने ग्रहहरू कुनै उपकरणविना नाङ्गा आँखाले नै देख्न सकिन्छ। आमनेसामने हुँदा विभिन्न ग्रह झन् राम्ररी देख्न पाइन्छ," रोयल अबजरभेटरी ग्रेनीच सम्बन्धित खगोलशास्त्री धरा पटेल बताउँछिन्।

पटेल भन्छिन्, "शनि र बृहस्पति आगामी २ र २० अगस्टमा आमनेसामने हुनेछन्। ती दिनमा यी ग्रहको दूरी सबैभन्दा कम हुनेछ। तपाईँसँग टेलिस्कोप छ भने भूमध्यरेखातिर हेर्नुहोला राति १ बजेतिर। त्यसबेला बृहस्पतिको वरिपरिको घेरा झलझल परेको देख्न पाइन्छ।

१०. नयाँ टेलिस्कोपसार्वजनिकीकरण

हबल स्पेस टेलिस्कोपले अदभूत तस्बिरहरू खिचेको थियो अब जेडब्ल्यूएसटीप्रति उच्च अपेक्षा राखिएको छ
तस्बिरको क्याप्शन, हबल स्पेस टेलिस्कोपले अदभूत तस्बिरहरू खिचेको थियो अब जेडब्ल्यूएसटीप्रति उच्च अपेक्षा राखिएको छ

खगोलशास्त्रीहरू अक्टोबर ३१ को प्रतीक्षामा छन्।

३१ अक्टोबरमा जेम्स वेब स्पेश टेलिस्कोप अथवा जेडब्ल्यूएसटी नाम दिइएको नयाँ टेलिस्कोप सार्वजनिक गर्ने भनिएको छ।

यो नयाँ विशाल टेलिस्कोपले इन्फ्रारेड एस्ट्रोनोमीमा नयाँ युग शुरू गर्ने ठानिएको छ।

त्यसपछि खगोलशास्त्र झन् झन् परिस्कृत हुँदै जाने खगोलविदहरू बताउँछन्।