धान खेती नेपाल: खेतीका बेला मलको चरम अभाव, तर यो वर्ष उत्पादन कसरी घटेन

धान खेती
तस्बिरको क्याप्शन, ६० प्रतिशतभन्दा बढी धान रोपाईं हुने क्षेत्र बर्खे पानीमा निर्भर रहने हुँदा उत्पादनको मुख्य योगदान मनसुनी प्रवृत्तिलाई नै मान्ने गरिएको छ
    • Author, उमाकान्त खनाल
    • Role, बीबीसी न्यूज नेपाली, झापा
  • Published

रासायनिक मलको अभाव भए पनि पर्याप्त मनसुनी वर्षा र धान खेती गर्ने जमिन बढेकाले यस वर्ष धानको उत्पादन गत वर्षकै हाराहारीमा हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अधिकारीहरूले बताएका छन्।

तर पर्याप्त धान फल्ने तराइ क्षेत्रमा रोग र किराका कारण उत्पादकत्व भने नबढ्ने चिन्ता रहेको मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले बताए।

विगतका वर्षहरूमा धान नरोपिने जमिनमा पनि यस वर्ष पर्याप्त वर्षा भएकाले धान रोपिएको र त्यसैकारण धान उत्पादनको अवस्था राम्रो रहेको किसानहरू बताउँछन्।

रासायनिक मल अभाव नहुँदो हो त यस वर्ष सर्वाधिक धान फल्न सक्ने अवस्था रहेको किसान तथा कृषिविद्हरू बताउँछन्।

धान खेतीको क्षेत्र बढ्यो

कृषि
तस्बिरको क्याप्शन, नेपालका झन्डै २५ लाख हेक्टर कृषियोग्य जमिनमध्ये पाँचदेखि १० प्रतिशत बाँझो रहेको सरकारी आकलन छ

गत आर्थिक वर्ष २०७६/७७ मा ५५ लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।

यस वर्ष धान उत्पादनको क्षेत्र बढेको मन्त्रालयको तथ्याङ्क छ।

यसपालि धान खेतीलाई चाहिने मनसुनी वर्षा पर्याप्त भएपनि किसानले युरिया लगायत रासायनिक मलको अभावको मार खेप्नु पर्‍यो।

तर धान उत्पादनको क्षेत्रफल बढेकाले गत वर्षको उत्पादनभन्दा यस वर्ष धानको उत्पादन नघट्ने अनुमान रहेको मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले बताए।

उनले भने, 'प्रारम्भिक अनुमानचाहिँ उत्पादन घट्दैन भन्नेमा छ, क्षेत्रफल बढेको हुनाले।'

गत आर्थिक वर्षमा १४ लाख ५८ हजार हेक्टरमा धान खेती गरिएको थियो। यो वर्ष ४८ हजार हेक्टर बढी जमिनमा धान खेती गरिएको केसीले बताए।

रोगकिराको प्रकोप

डा. केसीले तराईमा किराको प्रकोप अलि बढी देखिएकाले उत्पादकत्व घट्छ कि भन्ने चिन्ता व्यक्त गरे।

तराईका केही जिल्लामा धान लगाएको केही समयदेखिनै विभिन्न प्रकारका किराले दुःख दिएको प्रदेश १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता राजेन्द्र उप्रेतीले बताए।

rice harvest

उनले भने, 'शुरूमा गभारोले समस्या देखियो। पछि सेतो बाला निस्किने समस्या थपियो। अनि फड्के किराले पनि ज्यादै दुःख दियो।'

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत धान सुपरजोन क्षेत्र झापाको कचनकवल गाउँपालिकाका एकजना किसान नवराज भट्टराईका अनुसार अघिल्ला वर्षहरूमा पर्याप्त वर्षा नभएका बेला डाँडा खेतमा धान उत्पादन नहुने भए पनि यो वर्ष पर्याप्त वर्षा भएकाले त्यस्ता खेतमा धानको उत्पादन राम्रो छ।

विगत सात वर्षयता सबभन्दा बढी २०७५/७६ मा ५६ लाख मेट्रिक टन धान उत्पादन भएको थियो।

तर जति धान उत्पादन भए पनि भारतलगायत अन्य मुलुकबाट वर्षेनी अर्बौं रुपैयाँको चामल आयात गर्नुपर्छ।

नेपालमा मनाङ र मुस्ताङबाहेक सबै जिल्लामा धान खेती गरिन्छ।

धान उत्पादन बढाउन मनसुनी वर्षाले मात्र काम नगर्ने धानविज्ञ डा. भोलामानसिंह बस्नेत बताउँछन्।

उनले भने, 'यसपालि धान उत्पादन रेकर्ड हुन्छ भन्ने अनुमान गरिएको तर तर मल अभावले त्यो नहोला जस्तो छ।'

नेपालमा धान उत्पादनको अवस्था बढाउनका लागि विकासे र रैथाने जात धानका बिउ बराबरी लगाइनु पर्नेमा उनले जोड दिए।

तर अहिले रैथाने भन्दा विकासे धान लगाउने चलन बढी छ।

बस्नेतले भने, 'रैथाने धानका बिउले हावा पानी, रोग सबै भोगिसकेको हुन्छ। अप्ठेरोमा साथ दिनसक्ने हुनाले धेरै मुलुकमा त रैथाने जातलाई खाद्य बिमा पनि भन्ने गरेका छन्।'