अमेरिका चुनाव २०२०: अमेरिकी राष्ट्रपतिय बहसमा देखिएका पाँच प्रमुख विमति

ट्रम्प र बाइडनबीचको बहस
Published

दोस्रो अमेरिकी राष्ट्रपतिय बहस कसले जित्यो?

कोरोनाभाइरस, जलवायु परिवर्तन, आप्रवासन, संस्थागत जातियता तथा नतिरिएका व्यक्तिगत करसम्मका विषय उठाइएको दुई उम्मेदवारबीचको बहसको सुरुवात सभ्यताको वाचाका साथ भएको थियो।

बहसकी सहजकर्ता वेकरले दुवै उम्मेदवारलाई पालैपालो बोल्न भनिन्।

अधिकांश समय त्यसको पालना पनि भयो।

बहस सहजकर्ता क्रिस्टेन वेकर
तस्बिरको क्याप्शन, बहस सहजकर्ता क्रिस्टेन वेकर

दोस्रो बहसमा दुवै उम्मेदवार सभ्यरूपमा प्रस्तुत भए। आरोप प्रत्यारोप भएपनि ती नियन्त्रित हिसाबबाट भए।

पहिलो बहसमा डोनल्ड ट्रम्पले प्रदर्शन गरेको आक्रामक शैली यसपटक मत्थर भएको देखिन्थ्यो।

अघिल्लोपटक अस्तव्यस्तरूपमा सम्पन्न बहसभन्दा यसपटक अमेरिकी जनताले उनीहरूका उम्मेदवारहरूका कुरा मजाले सुन्न पाए।

मुख्य एजेण्डा थियो कोभिड-१९।

कोरोनाभाइरस

ट्रम्पको प्रचार अभियानले यो बहस विदेशनीतिमा केन्द्रित हुनुपर्थ्यो भनेर गुनासो गरेका थिए - ता कि उनले मध्यपूर्वमा वा व्यापारमा वा सिरिया अनि बाइडनका छोराका चीनसँगको व्यापार सम्बन्धमा केन्द्रित हुन पाउँथे।

तर अघिल्लो बहसजस्तै यो पनि कोरोनाभाइरस महामारीको विषयबाट सुरु भयो।

डोनल्ड ट्रम्पले फेरि खोपको कुरा ल्याए र उनले केही सातामै खोप तयार हुने बताए। आफ्नो व्यक्तिगत अनुभव बाँड्दै उनले नयाँ औषधिका कुरा गरे र आफू अब प्रतिरोधी भएको पनि बताए।

बहसपछि प्रथम महिला मेलानिया ट्रम्प मञ्चमा पुगेकी थिइन्
तस्बिरको क्याप्शन, बहसपछि प्रथम महिला मेलानिया ट्रम्प मञ्चमा पुगेकी थिइन्

बाइडनले भने ट्रम्पको खुलेर आलोचना गरे। करिब २२०,००० अमेरिकीको ज्यान गइसकेको र यो वर्षको अन्त्यसम्ममा थप २००,००० अमेरिकीको ज्यान जान सक्ने उनले बताए।

जब ट्रम्पले मानिसहरू भाइरससँग बाँच्न सिकिरहेको बताए बाइडनले उक्त भनाइ काट्दै मानिसहरू भाइरससँग मर्न सिक्न बाध्य भएको उल्लेख गरे।

नागरिक अधिकार तथा जातियता

जातीय सम्बन्धबारे भएका आरोप प्रत्यारोपमा ट्रम्पले आफू सो सभा हलमा उपस्थितमध्ये सबैभन्दा कम जातिवादी भएको दाबी गरे।

उनले बाइडनले सन् १९९० को दशकमा प्रायोजन गरेको अपराध कानुनले जेल पर्ने अश्वेत अमेरिकीको सङ्ख्या ह्वात्तै बढेको औँल्याए।

बाइडनले सुधारका कुरा गरेपछि ट्रम्पले उनले ती काम बराक ओबामाको उपराष्ट्रपति हुँदा किन नगरेको भनेर प्रश्न गरे।

जो बाइडनलाई पनि उनकी पत्नी जील बाइडनले बहसपछि मञ्चमा साथ दिइन्
तस्बिरको क्याप्शन, जो बाइडनलाई पनि उनकी पत्नी जील बाइडनले बहसपछि मञ्चमा साथ दिइन्

आप्रवासन

चार वर्ष अगाडिको चुनावमा ट्रम्पले आप्रवासनसम्बन्धी कडा अडान राखेका थिए। यसपाली उनले तिनलाई केही मत्थर पारेका छन्।

आप्रवासीका रूपमा आइपुगेका बालबालिकालाई तिनको आमाबुबाबाट छुट्ट्याउने उनको प्रशासनको नीतिबारे प्रश्न गर्दा उनले कुरा मोडेर ओबामा प्रशासनकालमा नाबालिग आप्रवासीलाई राख्न बनाइएका आश्रय केन्द्रको विषय निकाले।

ट्रम्प

जलवायु परिवर्तन

सबभन्दा धेरै चर्काचर्की ऊर्जा खासगरि नवीकरणीय ऊर्जाको प्रभावकारिताबारे भयो।

बाइडनले प्रदूषणकारी तेलको प्रयोगलाई नवीकरणीय ऊर्जाले विस्थापन गर्दै अमेरिका शून्य उत्सर्जनको लक्ष्यमा पुग्नुपर्ने बताए।

ट्रम्पले चाहिँ कोइला र पेट्रोलियमप्रति समर्थन जनाउँदै अमेरिका ऊर्जामा आत्मनिर्भर हुनुपर्ने बताए।

बाइडन

भ्रष्टाचार

बहसको सुरुमै ट्रम्पले बाइडन र उनका छोरामाथि कटाक्ष गरे। छोराको युक्रेन तथा चीनसँगको व्यापार सम्बन्धबाट बाइडनले फाइदा गरेको आरोप उनले लगाए।

बाइडनले भने ती आरोप पूर्ण अस्वीकार गरे। उनले विषयलाई मोड्दै ट्रम्पको न्यून व्यक्तिगत कर तथा उनको चीनसँगको व्यापारसम्बन्धको चर्चा गरे।

ट्रम्पले भने आफूले अग्रिम कर दशौँ लाख डलर भुक्तानी गरेको र भविष्यमा कुनै दिन ती विवरण सार्वजनिक गर्ने बताए।

ट्रम्प र बाइडनबीचको बहस

समग्रमा बहसकी सहजकर्ता वेकरले चाहेको जस्तै शैलीमा बहस सम्पन्न भयो। अघिल्लोपटकभन्दा निकै संयमपूर्ण र सभ्य रूपमा।

तर निर्वाचनको १२ दिन अगाडि अनि बाइडन मत सर्वेक्षणमा अगाडि परिरहेको बेला भएको बहसले ट्रम्पलाई कत्तिको मद्दत पुग्यो भन्ने जान्न भने बाँकी नै छ।