अफगानिस्तान द्वन्द्व: जब तालिबानले भने- ‘हामीबाट गल्ती भएका छन्…’

शाजिया हाया
तस्बिरको क्याप्शन, शाजिया हाया अफगान प्रतिनिधिसँग कुराकानी गर्दै
    • Author, शाजिया हाया
    • Role, बीबीसी पश्तो
  • Published

"म हत्यारा हैन तर तपाईँसँग मेरो परिचय हत्याराका रूपमा गराइएको छ। म राजनीतिबारे कुराकानी गर्दिन तर तपाईँहरू सबैसँग समय मिलाएर चिया पिउँला र तपाईँहरूलाई केही कविता सुनाउँला।"

उनले मुस्कुराउँदै विस्तारै भने।

मैले तालिबानका कुनै पनि मुख्य सदस्यबाट त्यसखाले व्यवहारको अपेक्षा गरेकी थिइनँ।

तालिबान विद्रोहीहरू र अफगान सरकारबीच कतारको राजधानी दोहामा भएको वार्ताको अन्तिम दिन मैले अन्तर्वार्ताका लागि उनीलाई सम्पर्क गरेकी थिएँ।

म विमानस्थलतर्फ जाँदै थिए र त्यसैबेला मैले केही तालिबान प्रतिनिधिहरूलाई होटेलको लबीमा संवाददाताहरूले घेरिएको देखेँ।

त्यसले मलाई उनीसँग विस्तृत जानकारी लिएर एउटा उत्कृष्ट लेख लेख्ने अन्तिम मौका दिएको थियो।

तर न उनी कविता सुनाउन दोहा आएका थिए न त म नै।

'म कुरा गर्दिन'

शाजिया हाया
तस्बिरको क्याप्शन, वार्ताका लागि दोहा पुगेको टोली

बन्द कोठाभित्र हुने वार्ताबारे रिपोर्टिङ गर्न सधैँ चुनौतीपूर्ण हुन्छ। झन् यहाँ त उत्साहपूर्ण तरिकाले कुरा सुरु हुन पाएको थिएन।

जब म पहिलो पटक भव्य शेराटन होटलमा पुगेँ, त्यसबेला तालिबानका वरिष्ठ सदस्यहरू यताउता टहल्दै थिए।

मैले आफ्नो झोला राखेँ र कुनै तयारी विनै अन्तर्वार्ताका लागि उनीहरूतर्फ अघि बढेँ।

कहिलेकाहीँ आफ्नो तयारी विना नै अन्तर्वार्ताका लागि मन खोलेर बोल्ने व्यक्ति भेटिन्छन् र त्यसमा प्राय: केही उद्धृत गर्न मिल्ने कुराहरू पाइन्छन्, जुन सावधानीपूर्वक गरिएको प्रेस विज्ञप्तिमा नपाइन सक्छ।

"म कुरा गर्दिन," तालिबान प्रतिनिधिले तत्कालै प्रतिक्रिया दिए। उनले हातमा क्यामेरा बोकेर म उनको नजिक जान्छु भन्ने अपेक्षा नै गरेका थिएनन्। म उनको असहजता महसुस गरेर पछि सरेँ।

मैले मुस्कुराएर उनलाई अभिवादन गरेँ र भनेँ- म हैन मेरा पुरुष साथी उनको अन्तर्वार्ता लिनेछन्, म त केवल क्यामेरा समाउन मात्र आएकी हुँ।

दोहामा काम गर्न कति असहज हुनेछ भन्ने मलाई थाहा भएको थियो।

आँखा नजुधाइ अन्तर्वार्ता

शाजिया हाया
तस्बिरको क्याप्शन, शाजिया हाया दोहाबाट लाइभ प्रसारणमा

अन्तर्वार्ता दिन अनिच्छुक ती तालिबान प्रतिनिधिसँग आखिरमा म अन्तर्वार्ता लिन सफल भएँ। तर मैले के थाहा पाएँ भने अन्तर्वार्ता अवधिभरि अन्य तालिबान प्रतिनिधिहरूले मसँग आँखा जुधाएनन्।

उनीहरू एकजना महिलाको उपस्थितिका कारण जसरी पुरुषसँग कुराकानी गरिरहेका थिए त्यसरी सहज महसुस गरिरहेका थिएनन्।

उनीहरू अपरिचित महिलासँग आँखा जुधाउनुलाई अपमानजनक र पापकै रूपमा हेर्ने गर्छन्।

मैले एकजना वरिष्ठ तालिबानी प्रवक्तासँग पूरा तीन मिनेटको अन्तर्वार्ता लिएँ तर त्यस अवधिमा एकपटक पनि उनले आँखा माथि उठाएर हेरेनन्।

म इमान्दारीपूर्वक के भन्न सक्छु भने यदि भविष्यमा उनले मलाई देखे भने सायदै उनलाई मसँग अन्तर्वार्ता दिएको याद हुनेछ।

तर मलाई यी सबै कुराले त्यस्तो आश्चर्यचकित बनाएन किनकि उनीहरू वर्षौँदेखि लुकेर लडिरहेका थिए र अहिले मेरो अगाडि आएर मेरा प्रश्नको जवाफ दिइरहेका थिए। जुन कुरा केही महिनाअघिसम्म सोच्न समेत सकिँदैन थियो।

त्यसैले म यस्ता अप्रत्याशित मौकाका लागि तयार पनि थिएँ।

ऐतिहासिक क्षण

शाजिया हाया
तस्बिरको क्याप्शन, सरकारी प्रतिनिधिमण्डलका नेता अब्दुल्लाह अब्दुल्लाहसँग कुराकानी गर्दै शाजिया हाया

जब अफगान सरकार र तालिबानले पहिलो पटक प्रत्यक्ष वार्ता गर्ने निर्णय गरे, मिति र वार्तास्थल तय गरे, मलाई लाग्यो- यो मौका मेरा लागि महत्त्वपूर्ण हो। कैयौँ अफगानी पत्रकारलाई पनि यस्तै लागेको थियो।

दशकौँ चलेको हत्या र हिंसापश्चात् दुवैपक्ष अन्त्यमा वार्ताका माध्यमबाट वर्षौँदेखिको युद्धलाई समाप्त पार्ने कोसिसमा सहमत भएका थिए।

मेरो आँखै अगाडि इतिहास बन्दै थियो।

मैले सन् २००२ पछि कैयौँ परिवर्तन र घटनाहरू देखेकी थिएँ। तालिबानपश्चात्‌को अफगानिस्तान त्यसै बेलादेखि अस्तित्वमा आएको थियो र चरमपन्थीविरुद्धको कारबाही पनि सुरु भएको थियो।

त्यसको १८ वर्षपछि दुवै कट्टर विरोधी पक्षहरू मेलमिलापका लागि वार्ताको टेबलमा बस्न लागेका थिए।

कस्तो पहिरन लगाउने?

जब काबुलबाट दोहाका लागि विमान उड्यो मैले यो वार्तासँग जोडिएका हरेक प्रश्न र पक्षहरू महिलाको अधिकारदेखि स्वतन्त्रता, संविधान र दुवै पक्षका सबै मुद्दाबारे सोच्न थालेँ।

कसरी समाचार सङ्कलन गर्ने भन्ने योजनाबारे सोचिरहेका बेला अन्य कुराहरू पनि मेरो दिमागमा घुम्न थाले।

अनि मैले आफैलाई सोधेँ- मैले कस्तो पहिरन लगाउनु पर्ला?

शाजिया हाया
तस्बिरको क्याप्शन, शाजिया हाया शेराटन होटलमा रेकर्डिङ गर्दै

यो प्रश्नको मेरो आत्मप्रशंसासँग कुनै लिनुदिनु थिएन। कुनै पुरुष पत्रकारका मनमा त सायद यस्तो विचारै आउँदैन पनि होला।

तर महिलाहरूको स्वतन्त्रता र अधिकारका विषयमा तालिबान कति कडा नियमहरू पालन गर्छन् भन्ने मलाई पूर्ण जानकारी थियो।

त्यसैले महिला पत्रकार भएका कारण मैले आफ्नो 'ड्रेस कोड' बारे सोचेँ।

मैले यो त्यसबेलासम्म सोचेँ जबसम्म म शिरदेखि पाउसम्म ढाकिएकी थिइनँ। मैलै त्यही पहिरन लगाएँ जुन कार्यालय जाँदा लगाउँथेँ र ती पहिरन लगाएर काबुलको सडकमा जान अरु महिलाहरूले दुईपटक सोच्दैनन्।

तर म यहाँ त तालिबानका सबैभन्दा वरिष्ठ नेताहरूसँग अन्तर्वार्ता गर्न आएकी थिएँ।

व्यक्तिगत रूपमा उनीहरूसम्म पुग्नु मेरो तीनदिने रिपोर्टिङ दौडको सबैभन्दा महत्त्वपूर्ण उद्देश्य थियो।

आजभन्दा १८ वर्षअघि म यस्तो कपडा लगाएर सडकमा बाहिर निस्किएर हिड्न सक्दिन थिएँ तर आज म त्यस्तै कपडा लगाएर एउटा कार्यक्रममा गइरहेकी थिएँ।

त्यसबेला तालिबानले महिलाका लागि एउटा कडा 'ड्रेस कोड' लागु गरेको थियो। त्यस अनुसार यदि कुनै महिलाले नीलो रङको चदरी (हिजाब जस्तै कपडा त्यसले शिरदेखि पाउसम्म पूरा शरीर ढाकिन्छ) नलगाए उनलाई सजाय दिइन्थ्यो।

मैले सोचेँ- उनीहरू अहिले कति परिवर्तन भए होलान् र मेरोबारे के सोच्लान्?

तालिबानले भने- 'हामीबाट गल्ती भएका छन्…'

तालिबान सदस्यहरूमा विनम्रता आयो होला भन्ने आशा गर्नुपर्ने मसँग कैयौँ कारणहरू थिए।

मलाई के याद छ भने, सायद त्यसबेला म मात्र चार वर्षकी थिएँ होला, एक दिन म मेरी आमासँग मेरी सानीमाको घर जाँदै थिएँ। मेरी आमाले चदरी लगाएकी थिइन्।

जब हामी सानीमाको घरमा पुग्न लागेका थियौँ, मेरी आमाले चदरी तानिन् त्यसले गर्दा उनको अनुहार देखियो।

तत्कालै तालिबानका एकजना सदस्य कोर्रा लिएर अगाडि आए र चिच्याए- "आफ्नो अनुहार ढाक्।"

शाजिया हाया
तस्बिरको क्याप्शन, शाजिया हाया सरकारले रिहा गरेका एकजना तालिबान कार्यकर्तासँग कुराकानी गर्दै

यो सबै मेरो आँखै अगाडि भएको थियो।

मलाई बाल्यकालका जे कुराहरू याद छन् त्यसमा यो सबैभन्दा याद आइरहने कुरा हो।

म त्यो दिन कहिल्यै पनि भुल्दिन। मैले सानीमाको घर पुगेपछि पनि झ्यालबाट बारम्बार बाहिर हेरिरहेकी थिएँ।

अनि मैले आमालाई पटकपटक सोधेकी थिएँ- "के उसले हामीलाई पछ्याइरहेको छ? के उसले हामीलाई पक्रेर लान्छ?"

दोहामा भएको वार्ताका क्रममा भेटिएका एकजना तालिबान प्रतिनिधिसँग कुराकानी गर्दैगर्दा मैले यो घटनाबारे बताएँ र त्यसबारे उनी के सोच्छन् भनेर सोधेँ।

उनले शान्त भावमा जवाफ दिए, "विगतमा गल्तीहरू भए र अब भविष्यमा ती गल्तीलाई दोहोर्‍याइने छैन।"

यदि अहिले तालिबानको प्रतिनिधिमण्डल काबुल गयो भने उसले कैयौँ परिवर्तनहरू देख्नेछ।

त्यसमा एउटा ठूलो परिवर्तन हो कैयौँ क्षेत्रमा महिलाहरूको हिस्सा र संलग्नता बढ्नु।

अफगानिस्तानको संसद्‌मा अहिले कम्तीमा २५ प्रतिशत सदस्यता महिलाका लागि आरक्षण गरिएको छ।

अफगान महिलाहरू अहिले मिडिया र मनोरञ्जन क्षेत्रमा जोडबलका साथ काम गरिरहेका छन् र कैयौँ युवा महिलाहरू सरकारी अधिकारी बनेका छन्।

शिक्षामा पहुँच

अर्को एउटा ठूलो परिवर्तन भनेको शिक्षा क्षेत्रमा महिला र बालिकाको पहुँच विस्तार।

मेरो परिवार पाकिस्तानमा रहेको थियो र अमेरिकी हमलापश्चात् अफगानिस्तानमा अन्तरिम सरकार बनेपछि मात्र अफगानिस्तान फर्किएको थियो।

मलाई के याद छ भने त्यसबेला चारैतिर विज्ञापन र पोस्टर टाँसिएको हुन्थ्यो। ती पोस्टरमा प्रसन्न बालक र बालिकाका तस्बिर थिए- जसमा उनीहरू विद्यालय जाँदै गरेका थिए।

अनि त्यसमा लेखिएको थियो- आउ, पढ्न जाऔँ।

तालिबानका कारण मेरी दिदी विद्यालय जान पाइनन्। तर मैले बुवासँग सोधे- के म विद्यालय जान सक्छु? त्यसपछि मलाई विद्यालय पठाइयो।

अहिले अफगानिस्तानमा लगभग एक करोड बालबालिका विद्यालय गइरहेका छन्। त्यसमा उल्लेख्य सङख्या बालिकाहरू पनि छन्।

मैले कतारमा तालिबानका राजनीतिक प्रवक्ता सुहैल शाहीनसँग सोधेँ, "कुनै पनि शान्तिवार्ताका लागि यी उपलब्धिहरूको कुन हदसम्म बलि चढाउनु पर्ला? यदि शान्ति सम्झौता भएपछि तपाईं काबुल जानुभयो भने के म अहिलेजस्तै तपाईँसँग अगाडि बसेर क्यामेरा र माइक लिएर प्रश्न गर्न पाउँछु?"

उनले मुस्कुराउँदै जवाफ दिए, "अवश्य, तपाईँले त्यस्तो गर्न सक्नुहुन्छ तर त्यसबेला इस्लामिक हिजाब लगाएको भने हुनुपर्छ।"

महिलाले काम गर्न सक्छन्?

होटलका करिडोरमा मैले विभिन्न खाले पहिरन लगाएर घुमिरहेका विदेशी महिला पत्रकारहरूलाई देखेँ। त्यो देखेर पनि तालिबानका सदस्यहरूले कुनै आपत्ति जनाएका थिएनन्।

मैले सोचेँ- के यी मानिसहरूले अफगान महिलाले आफ्नै खुसीको जीवन बिताउँदा पनि यस्तै बेवास्ता गर्लान्?

अफगान सरकार र तालिबानबीचको शान्तिवार्तामा महिला अधिकार र उनीहरूको स्वतन्त्रताको मुद्दा नै सबैभन्दा पेचिलो हुनेछ।

शाजिया हाया
तस्बिरको क्याप्शन, शाजिया हाया तालिबान प्रतिनिधिको तस्बिर लिँदै

वार्तामा अफगान सरकारका तर्फबाट पाँचजना महिला प्रतिनिधि सामेल थिए।

उनीहरूले तालिबानसँग वार्ता पनि गरे। तर तालिबानका तर्फबाट पुरुष मात्र वार्तामा सामेल थिए।

उनीहरू महिलाले इस्लामिक शरिया कानुन पालन गर्नुपर्ने अडानमा छन्।

वार्तामा सामेल महिलाहरूले पछिल्लो दुई दशकमा भएको परिवर्तनलाई सम्मान गरिन्छ कि गरिदैँन भन्ने कुरा सोध्नेछन्।

मैले तालिबानका एकजना अर्का सदस्यलाई महिलाकाबारे उनको विचार के छ भनेर सोधेकी थिएँ।

उनलाई मैले तालिबान प्रतिनिधिमण्डलमा महिला किन छैनन् भनेर पनि सोधेँ।

उनले भने, "हाम्रा महिलाहरू पनि पढेलेखेका छन्। उनीहरू 'बिहाइन्ड द सीन' अर्थात् पर्दा पछाडि काम गर्छन् र उनीहरू यहाँ आउने यो उपयुक्त समय होइन।"

उनले महिलाहरूले काम गर्न चाहेमा तालिबानलाई केही फरक नपर्ने बताए। तर उनी चाहन्छन् महिलाहरूले सहज काम गरुन् र उनीहरूको सम्मान होस्।

उनले हाँस्दै भने, "तपाईँ जस्तो पत्रकार होइन, जस्तो तपाईँ यहाँ काम गरेर थाकिरहनु भएको छ।"

तालिबानमा पुस्तान्तरण

दोहामा तालिबानका दुई फरक-फरक पुस्ता देखिनु रोचक थियो।

एउटा समूहमा वरिष्ठ र गम्भीर प्रतिनिधिहरू थिए। उनीहरू अनुहारमा कठोर भाव दर्शाएर अग्रभागमा बसेका थिए।

अर्कोतर्फ, पछाडिपट्टि बसेका तालिबानका युवा प्रतिनिधिहरू थिए उनीहरू धेरै सहज र बोलक्कड थिए।

तालिबान प्रतिनिधिमण्डलका प्रमुख मुल्लाह बरादर वार्तास्थलमा प्रवेश गरेपछि त्यहाँको वातावरण बदलिएको मैले महसुस गरेँ।

उनको प्रवेशसँगै वातावरण थप गम्भीर बन्यो। उनी त्यहाँ नहुँदा तालिबान बढी सहज देखिएका थिए।

मैले तालिबानका ९ जना सदस्यसँग कुराकानी गर्दा के महसुस गरेँ भने युवासँग कुराकानी गर्न सहज थियो।

उनीहरूले मसँग धेरै कुराकानी गरे र उनीहरूलाई म महिला भएकोमा खासै फरक परेन।

तालिबानले कुनै पनि निर्णय गर्दा त्यसमा युवाहरू र महिलाको सायदै कुनै भूमिका हुन्छ। यद्यपि तालिबान पनि के मान्छ भने अफगान जनसङ्ख्यामा सबैभन्दा बढी हिस्सा आज युवाकै छ।

युवा अफगान यस्तो पुस्ता हो जसको पहुँच शिक्षा, इन्टरनेट र स्मार्टफोनमा छ। यी युवा देशको भविष्यमा आफ्नो आवाज पनि सम्मिलित गर्ने चाहना राख्छन्।

यी युवाको भविष्य कस्तो होला?

दोहामा मैले जे देखेँ, त्यसले मलाई सकारात्मक सङ्केतहरू दिए। तर केलाई पनि अस्वीकार गर्न सकिदैँन भने दोहामा पत्रकारका लागि एउटा पहिरन पहिरिने तालिबानभन्दा धेरै पर अर्को एउटा यस्तो तालिबान पनि छ जसले युद्धको पहिरन पहिरिएर अफगानिस्तानमा अफगान सरकारविरुद्ध लडिरहेको छ।