बलिवुड: चर्चित नायिकाहरू किन तानिए लागुऔषध सम्बन्धी अनुसन्धानमा

Deepika Padukone
तस्बिरको क्याप्शन, दीपिका पादुकोण बलिवुडकी सबभन्दा धेरै पारिश्रमिक पाउने कलाकारमध्ये एक हुन्
Published

बलिवुडकी चर्चित अभिनेत्री दीपिका पादुकोणसँग भारतको नार्कोटिक्स बोर्डले सोधपुछ गरेको छ।

गत जुन महिनामा मृत्यु भएका चर्चित अभिनेता सुशान्त सिंह राजपूतको मृत्युको अनुसन्धान भइरहँदा त्यसैसँग सम्बन्धित भएर पादुकोणमाथि शनिवार बोर्डले सोधपुछ गरेको हो।

उक्त मुद्दामा बोर्डले दीपिका र अन्य तीन अभिनेत्रीसहित जम्मा ६ जनालाई बयानका लागि बोलाइसकेको छ।

यसै महिनाको सुरुमा राजपूतकी केटीसाथी/प्रेमिका रिया चक्रवर्तीलाई पक्राउ गरिएको थियो।

उनीमाथि राजपूतका लागि लागुऔषध खरिद गरिदिने गरेको आरोप छ जुन उनले अस्वीकार गर्दै आएकी छन्।

राजपूतको मृत्यु बारेका समाचार भारतीय सञ्चारमाध्यममा व्यापक रुपमा आएका छन् र घटनाबारे थुप्रै खालका अनुमानहरू गरिएका छन्।

नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले आफ्नो अनुसन्धान बृहत् बनाएको छ र उसले शनिवार पादुकोणसँग मुम्बइमा ६ घण्टा सोधपुछ गरेको थियो।

Sara Ali Khan
तस्बिरको क्याप्शन, नायिका सारा अलि खानलाई पनि नार्कोटिक्स बोर्डले सोधपुछ गरेको थियो

यसैबीच, अन्य दुई अभिनेत्री सारा अलि खान र श्रद्धा कपुरलाई पनि एनसीबीकै अर्को कार्यालयमा छुट्टै सोधपुछ गरिएको थियो।

अर्की अभिनेत्री रकुल प्रीत सिंहसँग शुक्रवार यसैगरी सोधपुछ गरिएको थियो।

तर अधिकारीहरूले उनीहरूमाथि कुनै आरोप भने लगाएका छैनन्।

गत जुन १४ तारिखमा ३४ वर्षीय राजपूत मुम्बइस्थित उनकै निवासमा मृत फेला परेका थिए र त्यतिबेला प्रहरीले उनले आत्महत्या गरेको बताएको थियो।

तर पछि उनका परिवारले प्रेमिका चक्रवर्तीविरुद्ध आत्महत्या गर्न उक्साएको लगायत अन्य अपराध गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएको थियो।

यी सबै आरोपलाई चक्रवर्तीले अस्वीकार गर्दै आएकी छन्।

अहिले यो मामिलालाई तीनवटा सङ्घीय निकायहरूले अनुसन्धान गरिरहेका छन्।

मामिला के हो?

नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले अहिले दुईवटा छानबिन गरिरहेको छ।

Rhea Chakraborty surrounded by media
तस्बिरको क्याप्शन, चर्कवर्ती मिडियाबाट घेरिएकी रिया चर्कवर्ती

पहिलो रिया चक्रवर्ती, उनका भाइ र राजपूतका पूर्व व्यवस्थापकमाथिको अनुसन्धान पहिलो हो। तीनैजनालाई पक्राउ गरिएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार अर्को अनुसन्धान भनेको बलिवुडमा लागुऔषधको व्यापक प्रयोग हुन्छ भन्ने दाबी बारे हो।

अधिकारीहरूले उक्त अनुसन्धानबारे थोरै विवरणहरू सार्वजनिक गरेका छन् जसका कारण सञ्चारमाध्यममा व्यापक अनुमानहरू गरिएका छन्।

अनुसन्धानको एउटा हिस्साको रुपमा एनसीबीका अधिकारीहरूले चक्रवर्तीको ह्वाट्सएप मेसेजहरूको अध्ययन गरिरहेका छन् जसमा उनले नार्कोटिक्सबारे छलफल गरेको आरोप छ।

अनुसन्धानमा दीपिका कसरी तानिइन्?

यो अहिलेसम्म स्पष्ट छैन।

नार्कोटिक्सका अधिकारीहरूका अनुसार ह्वाट्सएप मेसेजमा दीपिका र उनकी व्यवस्थापक पनि सहभागी छन्।

Sushant Singh Rajput
तस्बिरको क्याप्शन, सुशान्त सिंह राजपूतले २०१९ देखि चर्कवर्तीसँग डेटिङ गरिरहेका थिए

त्यसैकारण उनीहरूलाई सोधपुछका लागि बोलाइएको हो। तर ती मेसेजहरूमा के छ भन्ने अझै खुलेको छैन।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले किन यो मामिलामा अभिनेत्रीहरूलाई मात्रै एनसीबीमा बोलाइएको र किन अभिनेतालाई नबोलाइएको भनेर प्रश्नहरू उठाएका छन्।

प्रतिक्रिया कस्तो रहेको छ?

टेलिभिजन च्यानलहरूको समाचार दिने आक्रामक तरिकालाई लिएर धेरैले आलोचना गरेका छन्।

राजपूतको मृत्युयता सञ्चारमाध्यमले उनका थेरापिष्ट, साथीहरू, परिवार, सहकर्मीदेखि उनका पूर्व भान्सेको समेत अन्तर्वार्ता लिइसकेका छन्।

र, आधिकारिक जानकारी कम मात्रै सार्वजनिक भएका कारण समाचार च्यानलहरूले जति पनि सूचना चुहिन्छ त्यसको विभिन्न कोणबाट विश्लेषण गर्न समय खर्चिएका छन्।

यसरी एउटा विषयमा धेरै समय खर्चिँदा अन्य सान्दर्भिक र गम्भीर मुद्दाहरूबाट आममानिसको ध्यान अन्यत्र मोडेको भन्दै थुप्रै मानिसहरूले आवाज उठाइरहेका छन्।

विश्वमै कोरोनाभाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या भारतमा दोस्रो नम्बरमा छ।

अहिले त्यहाँको अर्थतन्त्रलाई नराम्ररी असर गरेको छ भने छिमेकी देश चीनसँगको सम्बन्ध पनि नराम्ररी बिग्रिएको छ।