फिनसेन फाइल्स: फुटबल क्लब चेल्सीका लगानीकर्ताको विपक्षी टोलीका खेलाडीमा गोप्य लगानी रहेको खुलासा

रोमन अब्रामोभीच
Published

फुटबल क्लब चेल्सीका लगानीकर्ता रोमन अब्रामोभीचले आफ्नो क्लब भन्दा बाहिरका खेलाडीमा समेत गोप्य रूपमा लगानी गरेको खुलासा भएको छ।

ती खेलाडीहरूमा सन् २०१४को च्याम्पियन्स लीगमा चेल्सी विरुद्ध मैदानमा उत्रिएका पेरुका विङ्गर आन्द्रे करीओ समेत रहेको बताइएको छ।

उनले ब्रिटिस भर्जीन आइल्यान्ड्सस्थित कम्पनी मार्फत खेलाडीहरूमा लगानी गरेका हुन।

अब्रामोभीचकी प्रवक्ताले भने उनले कुनै पनि नियम नतोडेको दाबी गरेकी छन्।

तर फुटबल एसोसिएसनका पूर्व अध्यक्ष लर्ड ट्राइसम्यानले भने कुनै क्लबका लगानीकर्ताले अर्को टोलीबाट खेल्ने खेलाडीमा रुचि राख्नु कत्तिको "उचित" होला भन्दै प्रश्न गरेका छन्।

मैदानमा १२ खेलाडी

फिनसेन फाइल्सका रूपमा परिचित ब्याङ्कहरूको दस्ताबेज बारे एउटा खुलासा 'सस्पिसियस एक्टीभीटी रिपोर्टस - सार'मा अब्रामोभीचको लेइस्टन होल्डीङ्स नाम गरेको अफसोर कम्पनीमा लगानी रहेको खुलासा भएको छ।

तेस्रो पक्षको स्वामित्वमा रहने गरी त्यो कम्पनीले फुटबलमा लगानी गरिरहेको थियो।

यस्तो अभ्यासमाथि इङग्लीस प्रिमियर लीगमा सन् २००८ मा प्रतिबन्ध लगाइएको थियो। अन्तर्राष्ट्रिय रूपमा भने त्यस्तो प्रतिबन्ध सन् २०१५ मा लगाइयो।

चेल्सी विरुद्ध खेल्दै आन्द्रे करीओ
तस्बिरको क्याप्शन, चेल्सी विरुद्ध खेल्दै आन्द्रे करीओ

सन् २०१४को च्याम्पियन्स लीगको समूह चरणको खेलमा चेल्सी र स्पोर्टिङ लिस्बनबीच खेल भएको थियो।

खेलमा करीओ पनि मैदानमा उत्रिएका थिए।

सेप्टेम्बर महिनामा लिस्बनमा अनि डिसेम्बरमा स्टयाम्फोर्ड ब्रिजमा अब्रामोभीचको स्वार्थ मैदानमा उत्रिएका १२ खेलाडीसँग गाँसिएको थियो।

अब्रामोभीचलाई अफसोर कम्पनीसँग के कुराले जोड्छ?

सन् २०१६ को डिसेम्बरमा ब्याङ्कले अब्रामोभीचको खातामा शङ्का गर्दै 'सस्पिसियस एक्टीभीटी रिपोर्ट' फाइल गरेको थियो।

त्यसमा १ अर्ब अमेरिकी डलर भन्दा बढी रकमको "अफसोर सेल कम्पनीहरू जोडिएका शङ्कास्पद भुक्तानी गरिएको" पहिचान गरिएको थियो।

सारका अनुसार अधिकांश सेल कम्पनी अर्थात् कुनै निश्चित अभिप्रायका लागि खोलिने र प्राय निष्क्रिय रहने कम्पनीहरूमा अब्रामोभीचको लगानी थियो।

उनी रुसमा राजनीतिक पहुँच भएका कुलीन वर्गका व्यक्ति हुन जसको मस्को र भ्लादिमिर पुटिनसँग नजिकको सम्बन्ध छ।

उक्त रकम ती कम्पनीहरूबीच घुमिरहेको जस्तो देखिन्छ।

'गलत काम भएको छैन'

इङग्ल्याण्ड र लिभरपुलका पूर्व स्ट्राइकर जोन बार्नसले बीबीसी पानोरामालाई बताए अनुसार तेस्रो पक्षबाट गरिएको लगानीले खेल मैदानमा हुने गतिविधिमा भने खासै प्रभाव पार्दैन।

खेलाडीहरू आफूले खेल्ने टोली र समर्थकहरू प्रति इमानदार रहनुपर्ने उनको भनाइ छ।

अब्रामोभीचकी प्रवक्ताले भनिन: "कारोबार गोप्य भएको हुनसक्छ। तर त्यसको अर्थ त्यो गैरकानुनी वा त्यसले लागु भएका नियम तोड्छ भन्ने छैन।"

अब्रामोभीच को हुन?

  • रुसका धनाढ्य मध्य एक। फोर्ब्सले सन् २०१९मा उनको सम्पत्ति १२.९ अर्ब अमेरिकी डलर मूल्याङकन गरेको थियो
  • तेल र ग्यासमा लगानी गर्नु अघि उनी गुडिया व्यवसायमा आबद्ध रहेको बताइन्छ
  • रुसी राष्ट्रपति भ्लादिमिर पुटिननिकट मानिन्छन्
  • सन् २००३मा चेल्सीलाई नियन्त्रण गर्ने कम्पनीहरूको मालिक बने
  • हाल उनीसँग इजरेलको पनि नागरिकता छ