सगरमाथाको 'वास्तविक उचाइ' यकिन, कहिले होला सार्वजनिक?

सगरमाथा
Published

नेपालले स्थलगत मापन गरेर पहिलोपटक आफैँले सगरमाथाको 'वास्तविक उचाइ यकिन गरिसकेको' अधिकारीहरूले बताएका छन्।

तर त्यससम्बन्धी प्रतिवेदनलाई अन्तिम रूप दिन बाँकी रहेको र 'प्रक्रिया पूरा गरेर चाँडै सार्वजनिक गरिने' उनीहरूको भनाइ छ।

बीबीसीले कुराकानी गरेका केही उच्च सरकारी अधिकारीले चाँडै नै 'नेपाल र चीनका उच्च पदका नेता'ले संयुक्त रूपमा सगरमाथाको उचाइ घोषणा गर्ने तयारी भइरहेको बताए।

उनीहरूले औपचारिक रूपमा बीबीसीलाई त्यसबारे जानकारी दिन अस्वीकार गरे।

सरकारी भनाइ

भूमि व्यवस्था, सहकारी र गरिबी निवारण मन्त्रालय तथा नापी विभागका प्रवक्ताहरूले 'तथ्याङ्क प्रशोधनको काम' सम्पन्न भएको बताएका छन्।

तर उक्त विवरणलाई अन्तिम रूप दिएर 'कहिले र कसरी' सार्वजनिक गरिन्छ भन्नेबारे उनीहरूले विस्तृतमा बताएका छैनन्।

मन्त्रालयका प्रवक्ता जनकराज जोशीले भने, "हाम्रो तर्फबाट सगरमाथा मापनसम्बन्धी 'फिल्ड कार्य' र त्यसको 'प्रोसेसिङ कार्य' सकिएको छ।"

"गणना गरी 'वास्तविक उचाइ निकाल्ने काम' सम्पन्न भएको छ। आवश्यक प्रक्रिया पूरा गरी छिट्टै घोषणा हुनेछ।"

सगरमाथा

सगरमाथाको उचाइ सार्वजनिक गर्नेबारे छलफल जारी रहेको उनको भनाइ छ।

नापी विभागका सूचना अधिकारी दामोदर ढकालले पनि 'लगभग उचाइ पत्ता लागउने काम सकिएको' जानकारी दिए।

उनले भने, "काम सकिएर करिब-करिब अन्त्यमा छ। सार्वजनिक गर्न छलफल जारी छन्।"

तर उनीहरूले सगरमाथाको उचाइ कति यकिन गरियो भन्ने आफूहरूलाई पनि जानकारी नभएको बताए।

कसले गर्ला सार्वजनिक?

केही उच्च अधिकारीले बीबीसीलाई दिएको अनौपचारिक जानकारी अनुसार भूमि व्यवस्था, सहकारी र गरिबी निवारण मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई 'नेपालले एक्लै सगरमाथाको उचाइ सार्वजनिक' गर्ने प्रस्ताव गरेको थियो।

तर परराष्ट्र मन्त्रालयले गत वर्षको चिनियाँ राष्ट्रपति सी जीनपिङको नेपाल भ्रमणका बेला 'संयुक्त रूपमा त्यसको घोषणा गर्ने जनाइएकाले त्यस्तो गर्न नमिल्ने बताएको' अधिकारीले जानकारी दिएका छन्।

जीनपिङको भ्रमणका बेला जारी संयुक्त वक्तव्यमै त्यसबारे उल्लेख गरिएको थियो।

उक्त वक्तव्यको बुँदा नम्बर ८ मा 'सगरमाथा नेपाल र चीनबीच अनन्त मित्रताको प्रतीक रहेको' जनाइएको छ।

सगरमाथा

दुवै पक्षले विभिन्न क्षेत्रमा सहकार्य गर्दै 'जलवायु परिवर्तन र वातावरण संरक्षणमा' काम गर्ने भनिएको त्यस बुँदामा 'संयुक्त रूपमा सगरमाथाको उचाइ घोषणा गर्ने' र 'वैज्ञानिक अध्ययन गर्ने' पनि उल्लेख छ।

परराष्ट्रले त्यसैलाई आधार मानेर 'उच्च राजनीतिक तहबाटै घोषणाबारे निर्णय हुने' जनाएको भूमि व्यवस्था मन्त्रालयको भनाइ छ।

यसबारे परराष्ट्र मन्त्रालयका अधिकारीले जानकारी दिन चाहेनन्।

भूमि व्यवस्था मन्त्रालयका अधिकारीले भने 'परराष्ट्र मन्त्रालयमार्फत् समन्वय गरी घोषणाको मिति तय गरिने' बताएका छन्।

चीनको प्रतिक्षा

नेपालले सगरमाथाको उचाइ यकिन गर्ने कार्य अन्तिम चरणमा पुर्‍याएका बेला गत मे महिनामा चीनले पनि एउटा टोली पठाएर सगरमाथाको उचाइ नाप्न थालेको जनाएको थियो।

त्यसबारे उसले नेपाललाई जानकारी गराएको बताइएको थियो।

नेपाली अधिकारीको बुझाइमा 'चीन अहिले स्थलगत रूपमा सङ्कलित तथ्याङ्कहरूको विश्लेषणको अन्तिम चरणमा रहेको' छ।

चीनले पनि उचाइ मापनलाई अन्तिम रूप दिएपछि मात्र नेपालले दुवै देशले संयुक्त रूपमा त्यसको घोषणा गर्ने सम्भावना देखिन्छ।

सगरमाथा
तस्बिरको क्याप्शन, नापी विभागका अधिकारी आधार शिविरमा

उचाइ मापन

हालसम्म सगरमाथाको उचाइ ८,८४८ मिटर मान्ने गरिएको छ।

उक्त उचाइ सन् १९५४ मा सर्वे अफ इण्डियाले सार्वजनिक गरेको थियो। त्यसैलाई विश्वले मान्यता दिएको हो।

तर २०७२ सालमा नेपालमा आएको विनाशकारी भूकम्पका कारण सगरमाथाको उचाइमा पनि असर परेको हुनसक्ने आकलन छ।

त्यसपछि नेपालले करिब तीन वर्षअघि पहिलोपटक आफैँले सगरमाथाको उचाइ नाप्ने प्रक्रिया अघि बढाएको हो।

सुशील डङ्गोलको संयोजकत्वमा रहेको टोलीले सगरमाथाको उचाइ मापनलाई अघि बढाएको थियो।

त्यस क्रममा उक्त टोलीका दुईजना कर्मचारीले सगरमाथाको चुचुरोसम्मै पुगेका थिए।

शेर्पाहरूको सहयोगमा उपकरणसहित चुचुरोमा पुगेका उनीहरू त्यहाँ १ घण्टा १६ मिनेट बसेका थिए।

उचाइ यकिन गर्न समुद्री सतहबाट सगरमाथाको उचाइ मापन, सगरमाथा देखिने १२ वटा विन्दुबाट हिमाल अवलोकन र जीपीएस एवम् गुरुत्वाकर्षण सर्भे गरिएको अधिकारीहरूले जानकारी दिएका छन्।