कोरोना भाइरस महामारीः कोभिड-१९ का कारण भारतमा सोमवार एकै दिन विश्वभरिकै सर्वाधिक मृत्यु

भारत
Published
पढ्ने समय: २ मिनेट

भारतमा सोमवार ८०३ जनाको कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएको सरकारले जनाएको छ। उक्त सङ्ख्या विगत २४ घण्टाको अवधिमा विश्वभरि कुनै पनि देशमा मृत्यु भएका व्यक्तिको सर्वाधिक सङ्ख्या हो।

सो अवधिमा भारतमा अन्यत्रको भन्दा सर्वाधिक सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका थिए।

मङ्गलवार बिहान सार्वजनिक गरिएको तथ्याङ्कमा भारतमा सोमवार ५२,०५० जनामा कोभिड-१९ पुष्टि भएको उल्लेख छ।

यो वृद्धिसँगै भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अहिले सङ्क्रमितको कुल सङ्ख्या १८,५५,७४६ पुगेको छ। तीमध्ये ३८,९३८ जनाको मृत्यु भइसकेको छ।

भारतमा विगत छ दिनदेखि प्रत्येक दिन ५०,००० भन्दा बढी मानिसमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

मुम्बई
तस्बिरको क्याप्शन, भारतमा महाराष्ट्र राज्य सबैभन्दा नराम्ररी प्रभावित भएको छ

पन्ध्र दिनदेखि सङ्क्रमणको दर ह्वात्तै बढिरहेको तथ्याङ्कले देखाउँछ।

तर भारत सरकारले बिरामीहरू निको हुने दर अन्य देशको तुलनामा राम्रो भएको तर्क गरेको छ। अहिलेसम्म १२,३०,५०९ जना निको भएको बताइन्छ।

कस्तो छ विश्वभरिको स्थिति?

अहिले अमेरिका र ब्रजिलपछि भारत सर्वाधिक सङ्क्रमण देखिएको देश हो।

तर कोभिड-१९ का कारण धेरै मृत्यु हुने सूचीमा अमेरिका, ब्रजिल, मेक्सिको र यूकेपछि मात्र भारत पर्छ।

अमेरिकास्थित जोन्स हप्किन्स यूनिभर्सिटीले सङ्कलन गरेको तथ्याङ्ककअनुसार अहिलेसम्म विश्वभरि १,८२,८८,७७३ जना सङ्क्रमित भएको पुष्टि हुँदा ६,९३,८०५ जनाको मृत्यु भएको छ।

उच्चपदस्थ व्यक्ति नै सङ्क्रमित

भारतमा उच्चपदस्थ व्यक्तिहरू पनि सङ्क्रमित भएका छन्।

आइतवार गृहमन्त्री अमित शाहले आफूलाई कोभिड-१९ भएको घोषणा गरेका थिए।

उत्तर प्रदेशमा एक मन्त्रीको मृत्यु भएको छ भने केही राज्यका राज्यपाल र नेताहरूमा सङ्क्रमण देखिएको छ।

भारतमा लकडाउन हटाइएपछि सङ्क्रमण दर बढेको छ।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

महाराष्ट्र, तामिलनाडु, आन्ध्र प्रदेश, कर्णाटक र दिल्ली सर्वाधिक प्रभावित भएका छन्।

नेपालसँग सीमा जोडिएका राज्यहरूमा पनि सङ्क्रमितको सङ्ख्या बढिरहेको छ।

उत्तर प्रदेशमा सोमवार ४,४४१ जनामा सङ्क्रमण फेला पर्‍यो। त्यहाँ सङ्क्रमितको कुल सङ्ख्या ९७,००० नाघेको छ।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर