कोरोना भाइरस नेपाल: आइसोलेशन कक्षमै बच्चा जन्माएकी सङ्क्रमित युवती भन्छिन्, 'भाइरसलाई परास्त गर्ने आशामा छु'

कोरोनाभाइरस
तस्बिरको क्याप्शन, साङ्केतिक तस्बिर
    • Author, रबिना बोहरा
    • Role, बीबीसी न्यूज नेपाली
  • Published

कोरोनाभाइरस सङ्क्रमण देखिएपछि उपचारका लागि आइसोलेशनमा राखिएकी ढोरपाटन नगरपालिका वडा नम्बर-८ की एक १९ वर्षीया युवतीले बिहीवार बच्चा जन्माएकी छन्।

उनले धौलागिरि अस्पतालको आइसोलेशन कक्षमा सुत्केरी भएकी हुन्। उनी यही जेठ २१ गते भारतको पञ्जाबबाट श्रीमान्‌सँगै नेपाल फर्किएकी थिइन्।

उनीहरू दुवै जना असार ६ गतेसम्म ढोरपाटन नगरपालिकाको क्वारन्टीनमा बसेका थिए।

गण्डकी प्रादेशिक स्वास्थ्य निर्देशनालय पोखरामा गरिएको नमुना परीक्षणमा उनीहरूमा कोरोनाभाइरस देखिएको थियो।

बच्चाको पीर

आफूलाई सङ्क्रमण भएको थाहा पाएपछि गर्भमा रहेको बच्चाको पीर लागेको ती युवतीले बीबीसीलाई बताइन्।

केही आत्तिए पनि हार भने नमानेको उनी बताउँछिन्।

"सङ्क्रमणले कैयौँको ज्यान लिएको समाचार सुन्दा अब के हुन्छ भन्ने मात्रै सोच आयो। पञ्जाबबाट पेटमा भएको बच्चालाई बोकेर आउन धेरै गाह्रो भएको थियो, कोरोनाभाइरस देखियो भने झन् के गर्ने होला भन्ने चिन्ताले दिनदिनै सताउँथ्यो," उनले भनिन्।

धौलागिरि अस्पताल
तस्बिरको क्याप्शन, धौलागिरि अस्पतालको फाइल तस्बिर

सङ्क्रमण पुष्टि भएपछि असार ७ गते उनीहरूलाई धौलागिरि अस्पतालको आइसोलेशन कक्षमा लगियो।

उनका अनुसार अस्पताल भर्ना भएपछि पनि उनलाई गर्भमा भएको बच्चाकै पीरले सताइरह्यो।

बुधवारदेखि सुत्केरी बेथाले च्यापेको तर बच्चा जन्मिएपछि खुसी लागेको उनले बताइन्।

चिकित्सकको व्यवहार

निकै सकसपूर्ण यात्रा गरेर भारतबाट स्वदेश फर्किएकी उनलाई अस्पतालका चिकित्सकहरूले गरेको व्यवहार राम्रो लागेको छ।

उनले भनिन्, "कोरोनाभाइरस सङ्क्रमणको डरले डाक्टरहरूले छुन समेत मान्दैनन् कि भन्ने सोचेकी थिएँ, तर त्यस्तो भएन। सबैले बच्चा जन्मिँदा सहयोग गर्नुभयो।"

उनका अनुसार भाइरसका कारण केही डर लागेको भए पनि त्यसलाई परास्त गर्न सकिन्छ भन्ने आशा छ।

"अहिले पहिलो रिपोर्ट नेगेटिभ देखिएको भन्नुभएको छ, अब अर्को रिपोर्ट पनि नेगेटिभ होला भन्ने आशा छ।"

रोजगारीका लागि झन्डै सात महिनाअघि उनका श्रीमान् भारत जाँदा उनी पनि सँगै थिइन्।

नेपाल आगमन

पञ्जाबमा उनका श्रीमान् एउटा होटलमा वेटर थिए। कोरोनाभाइरस सङ्क्रमण फैलिएपछि उनको काम बन्द भयो।

त्यसपछि उनीहरूले नेपाल फर्किने निधो गरे।

कोरोनाभाइरस

तर श्रीमतीको सुत्केरी हुने समय हुनै लागेकाले बाटैमा अप्ठेरो पर्ने हो कि भन्ने डर ती २२ वर्षीय युवकलाई थियो।

उनलाई सङ्क्रमण नभए हुन्थ्यो भन्ने लागेको थियो।

"आखिर सङ्क्रमण भइहाल्यो तर आत्मा बलियो बनाउनैपर्ने रहेछ," धौलागिरि अस्पतालकै आइसोलेशन कक्षमा रहेका ती युवकले भने।

उनलाई भारतबाट आउने र कोरोनाभाइरस सङ्क्रमितलाई गाउँलेले गरेको व्यवहारप्रति भने दु:ख लागेको छ।

"गाउँलेहरूले हामीलाई भारतबाट कोरोनाभाइरस लिएर आएको भन्दै गाली गर्थे, बाटोको छेउबाट हिँड्दा पनि 'यता नआइज उताबाट जा'सम्म भने," उनले भने।

बच्चाको स्वास्थ्य

धौलागिरि अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सौगात कोइराला, नर्सहरू शान्ति भण्डारी, मिलन बरुवाललगायतको टोलीले सङ्क्रमित युवतीलाई सुत्केरी गराएका थिए।

कोरोनाभाइरस

सङ्क्रमण नफैलियोस् भनेर पीपीईको प्रयोग गरी उच्च सतर्कताका साथ प्रसूति गराइएको स्वास्थ्यकर्मीहरूले बताए।

अहिले आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको धौलागिरि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र विक पोखरेलले बताए।

आइसोलेशनमा राखिएपछि गरिएको श्रीमान्‌-श्रीमती दुवैको पहिलो नमुना परीक्षणको नतिजामा सङ्क्रमण नदेखिएको र दोस्रो आउन बाँकी रहेको पोखरेलले जानकारी दिए।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर
Presentational white space