भारत-चीन सीमा विवाद: लद्दाखमा दुई देशका सेनाबीच भिडन्त, कम्तीमा तीन भारतीय सैनिकको मृत्यु

चिनियाँ सैनिक
तस्बिरको क्याप्शन, फाइल तस्बिर
Published
पढ्ने समय: २ मिनेट

भारतीय र चिनियाँ सैनिकबीच लद्दाखको विकट गलवान उपत्यकामा सङ्घर्ष भएको भारत सरकारले पुष्टि गरेको छ।

भारतले 'दुवै पक्षका वरिष्ठ सैन्य अधिकारीहरू स्थिति सामान्य बनाउन वार्तामा रहेको' बताउँदै दुवैतर्फ सैनिकको मृत्यु भएको जनाएको छ।

चीनले भारतलाई तनाव बढ्नेगरी एकपक्षीय रूपमा कुनै काम नगर्न आह्वान गरेको समाचारसंस्था रोएटर्सले जनाएको छ।

समाचारसंस्था एएफपीका अनुसार चीनले भारतलाई सीमा उल्लङ्घन गरेर चिनियाँ सैनिकमाथि आक्रमण गरेको आरोप लगाएको छ।

बीबीसी हिन्दीका अनुसार भारतीय सेनाले भारत-चीन सीमामा सोमवार राति भिडन्त हुँदा एक वरिष्ठ सैन्य अधिकारी र दुई सैनिकको मृत्यु भएको पुष्टि गरेको छ।

भारतका अनुसार भारतीय सैनिकहरू सीमाबाट पछि हट्दा उक्त घटना भएको हो।

के भन्छ चीन?

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भारतीय सैनिकले सीमा नाघेर 'चिनियाँ सैनिकलाई आक्रमण गरेर दुई पक्षका सीमा सुरक्षा बलबीच गम्भीर शारीरिक सङ्घर्ष भएको' बताएको समाचारमा जनाइएको छ।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

बेइजिङले आफ्नो पक्षमा भएको क्षतिको पुष्टि गरेको छैन।

तर भारतीय सेनाले चिनियाँ सैनिकहरू पनि हताहत भएको दाबी गरेको छ।

भारतीय पक्षले यो घटनामा गोली नचलेको दाबी गरेको छ।

स्थानीय सञ्चारमाध्यमले "भारतीय सैनिकहरूको कुटीकुटी हत्या गरिएको" विवरण प्रकाशित गरेका छन्। तर सेनाले यसको पुष्टि गरेको छैन।

केही समययता लद्दाखको गलवान क्षेत्रमा चिनियाँ सेना प्रवेश गरेकाले विवाद बढेको भारतीय पक्षको भनाइ छ।

चीनको ग्लोबल टाइम्स पत्रिकाका अनुसार चिनियाँ विदेशमन्त्रालयले विद्यमान विवादलाई वार्ताबाट समाधान गरिने र त्यसका लागि दुवै देश तयार भएको जनाएको छ।

लद्दाखमा भारतले निर्माण गरेको एउटा सडकबारे विवाद उत्पन्न भएको छ
तस्बिरको क्याप्शन, लद्दाखमा भारतले निर्माण गरेको एउटा सडकबारे विवाद उत्पन्न भएको छ

विवाद कहिलेदेखि?

भारत र चीनबीच सीमामा लामो समयदेखि तनाव हुँदै आएको छ।

तर धेरैपछि सैनिकको मृत्यु हुनेगरी सङ्घर्ष भएको हो।

दुई देशबीच सन् १९६२ मा युद्ध भएको थियो। त्यसमा भारत नराम्ररी पराजित भएको थियो।

चिनियाँ र भारतीय सैनिक जवानको फाइल तस्बिर
तस्बिरको क्याप्शन, चिनियाँ र भारतीय सैनिक जवानको फाइल तस्बिर
सन् १९६२ मा भारत र चीनबीच युद्ध भएको थियो। तस्बिर: Hulton Archive
तस्बिरको क्याप्शन, सन् १९६२ मा भारत र चीनबीच युद्ध भएको थियो। Hulton Archive को तस्बिर

चीनले आफ्नो ३८,००० वर्ग किलोमिटर क्षेत्र ओगटेको भारतको आरोप छ। त्यसका लागि हजारौँ चिनियाँ सैनिक आएको उसको दाबी छ।

सीमाबारे दुई पक्षले तीन दशकमा पटकपटक वार्ता गरेका भए पनि कुनै समाधान फेला पारेका छैनन्।

गत मे महिनामा दुई देशका सेनाबीच सिक्किमको सीमामा हात हालाहाल भएको थियो।