कोरोना भाइरस: यो अन्तिम महामारी होइन

Indian bats
तस्बिरको क्याप्शन, कोरोनाभाइरस लगायतका रोगहरू चमेरोबाट उत्पन्न भएको मानिन्छ
    • Author, भिक्टोरिया गिल
    • Role, विज्ञान सम्वाददाता, बीबीसी न्यूज
  • Published

वैज्ञानिकहरूले जङ्गलबाट रोगहरू मानवमा सरेर छिटै विश्वभरि फैलिन 'एउटा उत्तम आँधी' निर्माण गरेको चेतावनी दिएका छन्।

प्राकृतिक विश्वमा मानिसहरूको अतिक्रमणले यो प्रक्रियालाई द्रुत बनाएको छ।

यो निष्कर्ष नयाँ रोग कहाँ र कसरी उत्पन्न हुन्छ भनेर अध्ययन गर्ने विश्व स्वास्थ्य विज्ञहरूबाट आएको हो।

ती वैज्ञानिकहरूले कुन जङ्गली रोग मानिसहरूका लागि सबैभन्दा खतरनाक हुन्छ भनेर थाहा पाउन एउटा ढाँचा पहिचान प्रणाली निर्माण गरेका छन्।

Camels can harbour the novel coronavirus, Mers
तस्बिरको क्याप्शन, उँटहरूबाट मानिसमा मर्स रोग फैलिएको थियो

यूकेको लिभरपुल विश्वविद्यालयका वैज्ञानिकहरूले नेतृत्व गरेको यो प्रणाली भविष्यका रोगहरूसँग लड्न तयारी गर्ने विश्वव्यापी प्रयासको एउटा अंश हो।

'हामीले पाँच गोली छल्यौँ'

"गएको २० वर्षमा हाम्रा अगाडि छ खतरनाक रोगहरू आए - सार्स, मेर्स, इबोला, एभिअन इन्फ्लुएन्जा र स्वाइन फ्लू," प्राध्यापक म्याथ्युज बाइलिस भन्छन्। "हामीले पाँच वटा छल्यौँ तर छैठौँले हामीलाई प्रहार गर्‍यो।"

"र यो हामीले देख्ने अन्तिम महामारी होइन त्यसैले हामीले जङ्गली जनावरका रोगहरूलाई राम्ररी नियालिरहनु पर्छ।"

त्यही नियाल्नका लागि बाइलिस र उनका सहकर्मीहरूले बनाएको प्रणालीले थाहा भएका सबै जङ्गली जनावरका रोगहरूको तथ्याङ्कमाथि अध्ययन गर्छ।

विज्ञानले चिनेका हजारौँ ब्याक्टेरिया, परजीवी र भाइरसहरूको तथ्याङ्कमा सो प्रणालीले ती मानवमा सर्नसक्ने जोखिमका विषयमा जानकारी हासिल गर्ने प्रयास गर्छ। त्यो जानकारीले कुन चाहिँ रोग मानिसकालाई सबैभन्दा बढी जोखिम छ भन्ने पत्ता लगाउन मद्दत गर्छ।

Animals implicated in disease outbreaks
तस्बिरको क्याप्शन, भाइरस चमेरोबाट उत्पन्न भएर अर्को माध्यमबाट मानिसमा आएको हुनसक्ने ठानिएको छ

यदि कुनै जीवाणुमा खतरा देखियो भने वैज्ञानिकहरूले यसमा अध्ययन केन्द्रित गरेर रोग बनेर फैलिनु अगाडि नै त्यसको उपचार वा नियन्त्रण उपाय खोज्न सक्छन्।

"कुन रोग महामारी बन्छ भनेर थाहा पाउनु अर्को कदम हो तर हामी पहिलो कदममा केही अगाडि बढेका छौँ," प्राध्यापक बाइलिसले भने।

लकडाउनको शिक्षा

धेरै वैज्ञानिकहरू वनविनाश र वन्यजन्तुको आवास क्षेत्रमा अतिक्रमण जस्ता हाम्रा व्यवहारका कारण जनावरबाट मानिसहरू रोग सर्ने दर बढेको मान्छन्।

युनिभर्सिटी कलेज लन्डनकी प्राध्यापक केट जोन्सका अनुसार मानवनिर्मित कृषि क्षेत्रजस्ता कुरा बन्दा प्राकृतिक पर्यावरण चक्र तोडिने कारण मानिसहरूमा सङ्क्रमणको जोखिम बढेको हो।

Volunteer working with rescued orangutans
तस्बिरको क्याप्शन, मानिसबाट जनावरमा पनि रोग सर्ने गरेको छ

"सबै रोगको विषयमा यस्तो भन्न मिल्दैन तर धेरैजस्तो अवस्थामा मानिसको अतिक्रमणलाई सबैभन्दा सहन सक्ने जनावरहरूले नै रोग सार्ने जीवाणुहरू बोकेको देखिन्छ।"

प्राध्यापक जोन्स भन्छिन्,"त्यसैले वन विनाशजस्ता कारणले मानिस र जनावरको बढी सम्पर्क हुने पर्यावरण चक्र निर्माण गर्छ जसले केही भाइरस, ब्याक्टेरिया र परजीवीहरू मानिससम्म आइपुग्छन्।"

यसको एउटा उदाहरण सन् १९९९ मा मलेशियामा देखिएको निपाह भाइरसको सङ्क्रमण हो। जङ्गलसँग जोडिएको एउटा सुँगुर पालन केन्द्रबाट सुरु भएको यो सङ्क्रमण जङ्गली चमेरोबाट सरेको थियो। ती चमेरोले खाएर बाँकी रहेका फलहरू सुँगुरले खाएपछि भएको यो सङ्क्रमणले त्यो केन्द्रमा काम गर्ने २५० जनालाई बिरामी बनाएको थियो।

तीमध्ये १०० भन्दा बढीको मृत्यु भयो। कोरोनाभाइरसबाट मृत्युदर अहिलेको औसतमा एक प्रतिशत जति छ तर निपाह भाइरस सङ्क्रमणको मृत्युदर ४० देखि ७५ प्रतिशत देखिन्छ।

लिभरपुल विश्वविद्यालयका प्रध्यापक इरिक फेब्रेका अनुसार रोग सङ्क्रमण फैलिनसक्ने स्थानहरूमा निरन्तर निगरानी आवश्यक छ।

Researcher with a captured megabat

जङ्गल नजिकैका पशुपालन केन्द्रहरू, जनावरको बिक्री हुने बजारहरू र मानव-जनावरबीच दूरी कम हुने स्थानहरू निगरानी गर्नुपर्छ।

फेब्रेका अनुसार त्यस्ता स्थानमा अनौठो लक्षणहरू देखिने बित्तिकै त्यसलाई व्यवस्थापन गर्ने संयन्त्र हुनुपर्छ।

"बर्सेनि तीनदेखि चार पटक मानिसमा नयाँ रोग देखिन्छ र त्यो एशिया वा अफ्रिकामा मात्रै होइन, युरोप र अमेरिकामा पनि हो," फेब्रे भन्छन्।

बाइलिस नयाँ रोगबारे थाहा पाउने निगरानी प्रणाली ज्यादै महत्त्वपूर्ण हुँदै गइरहेको बताउँछन्। "हामीले नयाँ महामारीको उत्पत्तिका लागि एउटा उत्तम आँधी निर्माण गरेका छौँ।"

प्राध्यापक फेब्रे भन्छन्, "यस्ता घटनाहरू पटक पटक हुने सम्भावना छ।"

कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर