कोरोना भाइरस अमेरिका: अर्थतन्त्रमा दशकयताकै ठूलो सङ्कुचन

अमेरिका
Published

यस वर्षको पहिलो तीन महिनाको तथ्याङ्कअनुसार अमेरिकाको अर्थतन्त्रमा एक दशकयताकै सबैभन्दा गम्भीर सङ्कुचन देखा परेको छ।

कोरोनाभाइरसको सङ्क्रमण फैलन नदिनका लागि लकडाउन लगाइएपछि अर्थतन्त्रमा यस्तो सङ्कुचन पैदा भएको हो।

बुधवार सार्वजनिक गरिएको विवरणका अनुसार विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्रमा ४ दशमलव ८ प्रतिशतको वार्षिक गिरावट आउने देखिएको छ।

यसले सन् २०१४ पश्चात् पहिलो पटक ठूलो आर्थिक सङ्कुचनलाई देखाएको छ र कीर्तिमानी बिस्तारलाई समाप्त पारिदिएको छ।

तर मार्चमा पूर्णरूपमा प्रतिबन्धहरू नलगाइएकाले यो तथ्याङ्कले सङ्कटको सङ्केत मात्र गर्छ।

गम्भीर कठिनाइ

Fed Chair Jerome Powell
तस्बिरको क्याप्शन, फेडेरल रिजर्भका अध्यक्ष जेरोम पाउलले बुधवार ब्याङ्कले चालेका नयाँ कदमहरू अर्थतन्त्र आफ्नो गतिमा नआउन्जेल जारी रहने बताए

अमेरिकी केन्द्रीय ब्याङ्कका नीति निर्माताहरूले बुधवार कोरोनाभाइरस महामारी अमेरिका तथा विश्वको गम्भीर मानवीय र आर्थिक कठिनाइको कारक बनेको बताएका छन्।

अमेरिकाले थप व्ययभारका लागि करिब तीन ट्रिलियन डलर खर्चिने भएको छ। त्यसमा धेरै परिवारलाई प्रत्यक्ष रूपमा दिइने नगद पनि सामेल छ।

फेडेरल रिजर्भले सङ्कटकालीन कदमहरूको पनि जानकारी दिएको छ। त्यसमा ब्याजदरलाई शून्यको नजिक पुर्‍याउनेलगायतका कदमहरू छन्।

फेडेरल रिजर्भका अध्यक्ष जेरोम पाउलले बुधवार ब्याङ्कले चालेका नयाँ कदमहरू अर्थतन्त्र आफ्नो गतिमा नआउन्जेल जारी रहने बताए।

उनले अहिलेको सङ्कट निकै तीव्र र गहिरो हुनसक्ने चेतावनी पनि दिए।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

चीनमा पनि गिरावट

एउटा अनलाइन पत्रकार सम्मेलनमा उनले थप कदमहरू चाल्नुपर्ने आवश्यकता रहेको पनि बताए।

मार्च मध्ययता अमेरिकामा २ करोड ६० लाख मानिसहरूले बेरोजगार भएको भन्दै सहायताका लागि आवेदन दिइसकेका छन्।

अमेरिकामा अहिले ऐतिहासिक रूपमा व्यापार र उपभोक्ताको आत्मविश्वासमा कमी देखिएको छ।

कोरोनाभाइरसका कारण चीनमा पनि अर्थतन्त्रमा निकै गिरावट देखिएको छ।

यो वर्षको पहिलो तीन महिनामा त्यहाँको अर्थतन्त्रमा ६ दशमलव ८ प्रतिशतले गिरावट देखिएको छ। जुन सन् १९९२ यताकै सबैभन्दा उच्च गिरावट हो।

उता, जर्मनीले पनि यस वर्ष ६ दशमलव ३ प्रतिशतको गिरावट आउने बुधवार बताएको छ।