कोरोना भाइरस उपचार: कोभिड-१९ निको हुन कति समय लाग्छ?

Boris Johnson
तस्बिरको क्याप्शन, कोरोनाभाइरसमुक्त भएपछि ब्रिटेनका प्रधानमन्त्री काममा फर्केका छन्
    • Author, जेम्स ग्यालहर
    • Role, स्वास्थ्य तथा विज्ञान संवाददाता
  • Published

यूकेका प्रधानमन्त्री बोरिस जोनसम कोभिड-१९ बाट निको भएर काममा फर्केका छन्।

तर कतिपय बिरामीलाई पूर्ण रूपमा निको भई फिर्ता हुन लामो समय लाग्न सक्छ।

निको हुने समय सुरुमा तपाईँ कुन चरणको बिरामी हुनुहुन्थ्यो भन्नेमा निर्भर हुन्छ।

केही व्यक्तिहरू चाँडै रोगमुक्त हुन्छन् भने कतिका लागि यो दीर्घ समस्या बन्न सक्छ।

उमेर, लिङ्ग तथा स्वास्थ्यसम्बन्धी अन्य समस्याले कोभिड-१९ बाट को कति गम्भीर बिरामी हुन्छ जोखिम देखाउँछ।

जति चाँडो तपाईँले उपचार पाउनुहुन्छ र जति लामो समयसम्म उपचार हुन्छ त्यति नै निको हुने सम्भावना हुन्छ।

सामान्य लक्षण देखा पर्दा के हुन्छ?

कोभिड-१९ बाट सङ्क्रमित अधिकांश बिरामीलाई खोकी र ज्वरोजस्ता मुख्य लक्षणहरू देखा पर्छन्। तर उनीहरूलाई जीउ दुख्ने, थकाइ लाग्ने, घाँटी तथा टाउको दुख्ने पनि हुनसक्छ।

सुरुमा सुक्खा खोकी र पछि भाइरसका कारण मरेका फोक्सोका कोषिकायुक्त खकारसहित खोकी लाग्न सक्छ।

कोरोनाभाइरस

यस्ता लक्षणहरूको उपचारमा आराम, पर्याप्त तरल पदार्थको सेवन र दुखाइ कम गर्न प्यारासिटामोलको प्रयोग गरिन्छ।

सामान्य लक्षण भएका बिरामीहरू छिटै राम्ररी निको हुन सक्छन्।

एक साताभन्दा कम समयमै ज्वरो निको हुन सक्छ तर खोकी केही समय रहन्छ।

चिनियाँ तथ्याङ्कका आधारमा विश्व स्वास्थ्य सङ्गठनले गरेको विश्लेषणले औसतमा निको हुन दुई साता लाग्ने देखाएको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोना भाइरस: धेरै बिरामीको ज्यान जोगाउन कश्मीरका चिकित्सकले गरेको भेन्टिलेटरमा परिमार्जन

गम्भीर लक्षण देखिए के हुन्छ?

कतिपयका लागि यो निकै गम्भीर बन्न सक्छ। सङ्क्रमणको सातदेखि १० दिनसम्ममा यस्तो अवस्था आउन सक्छ।

यस्तो परिवर्तन निकै तीव्र हुन सक्छ। फोक्सो सुन्निन्छ र सास फेर्न गाह्रो हुन थाल्छ।

शरीरको प्रतिरक्षा प्रणालीले भाइरससँग लड्न खोज्दा अत्यधिक प्रतिक्रिया जनाउँदा शरीरमा जटिलताहरू उत्पन्न हुन्छन्। त्यसले गर्दा यस्तो हुन्छ।

अक्सिजन दिनका लागि केही मानिसलाई अस्पतालमा राख्नुपर्ने हुनसक्छ।

चिकित्सक सेरा जार्भिस भन्छिन्, "सास फेर्न गाह्रो हुने अवस्था निको हुन केही समय लाग्छ किनकि शरीर सुन्निएको हुन्छ र दागहरू देखिएका हुन्छन्।"

उनका अनुसार यो चरणमा निको हुन दुईदेखि आठ सातासम्म लाग्न सक्छ। थकान भने लामै समयसम्म रहिरहन्छ।

कोरोनाभाइरस

कसलाई सघन उपचार चाहिन्छ?

विश्व स्वास्थ्य सङ्गठनको अनुमानअनुसार २० बिरामीमध्ये एक जनालाई सघन उपचार आवश्यक पर्नसक्छ।

त्यस्ता बिरामीहरूलाई भेन्टिलेटरमा राख्नुपर्छ।

सघन उपचार केन्द्र (आईसीयू) मा राखिएका बिरामी निको हुन थप समय लाग्छ। उनीहरूलाई घर पठाउनुअघि सामान्य उपचार कक्षमा सारिन्छ।

इन्टेन्सिभ केअर मेडिसिन विभागकी डीन डा. एलिसन पिटार्डका अनुसार सघन उपचारमा रहेका बिरामीलाई तन्दुरुस्त हुन १२ देखि १८ महिना लाग्छ।

अस्पतालमा लामो समय बस्दा बिरामीको तौल घट्छ। मांसपेशीहरू तन्दुरुस्त हुन समय लाग्छ। हिँडडुल गर्न कतिलाई फिजिओथेरपी आवश्यक पर्न सक्छ।

कतिपयमा मनोवैज्ञानिक समस्या हुने सम्भावना पनि रहन्छ।

चीन र इटलीबाट प्राप्त विवरणहरूमा बिरामीहरूलाई कमजोरी अनुभव हुने, थोरै हलचल गर्दापनि स्वाँस्वाँ हुने र खोकी लागिरहने उल्लेख छ। धेरै निद्राको आवश्यकता परेको पनि देखिएको छ।

कार्डिफ तथा भेल विश्वविद्यालयको स्वास्थ्य बोर्डका फिजिओथेरपिस्ट पाउल टोज भन्छन्, "बिरामीहरूलाई लामो समय, कतिपयलाई महिनौँ, लाग्न सक्छ भन्ने हामीलाई थाहा छ। तर यसलाई सामान्यीकरण गर्न कठिन हुन्छ। कुनै मानिस सघन उपचार कक्षमा थोरै समयमात्र रहन्छन् भने कसैलाई हप्तौँसम्म भेन्टिलेटरमा राख्नुपर्छ।"

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर
Presentational white space

कोरोनाभाइरसले स्वास्थ्यमा लामो समयसम्म असर पार्छ?

हामीसँग लामो समयसम्मका तथ्याङ्कहरू नभएकाले त्यसबारे भन्न सकिँदैन। तर हामी अरू अवस्थालाई हेर्न सक्छौँ।

बिरामीमा अक्यञट रेस्पिरटरी डिस्ट्रेस सिन्ड्रम विकास हुन्छ। यो शरीरको प्रतिरक्षा प्रणाली अधिक सक्रिय भई फोक्सोमा समस्या हुँदा हुन्छ।

टोजले भन्छन्, " कतिपय विवरणहरूका अनुसार त्यस्ता मानिसलाई पाँच वर्षपश्चात् पनि शारीरिक वा मनोवैज्ञानिक समस्या उत्पन्न हुने गरेको छन्।"

कतिपय विशेषज्ञहरू यस्ता मानिसहरूलाई मनोवैज्ञानिक परामर्श पनि आवश्यक हुने बताउँछन्।

यस्ता व्यक्तिहरूलाई पोस्ट ट्रोम्याटिक स्ट्रेस डिस्अर्डर (पीटीएसडी) हुनसक्छ।

सामान्य लक्षणहरू देखिएका बिरामीलाई पनि लामै समय थकान महसुस हुनसक्छ।

कोरोनाभाइरस
तस्बिरको क्याप्शन, मोरक्कोमा कोरोनाभाइरसबाट निको भएपछि अस्पतालको भुईँलाई चुम्बन गर्दै एक व्यक्ति

कति मानिस निको भए?

यसको यथार्थ विवरण पाउन निकै कठिन छ।

जोन्स हप्किन्स विश्वविद्यालयको विवरणअनुसार झन्डै ३१ लाख मानिस सङ्क्रमित भएका छन् भने तीमध्ये नौ लाख जनाजति निको भइसकेका छन्।

देशैपिच्छे तथ्याङ्क राख्ने तरिका फरक छ। कतिले निको भएको विवरण सार्वजनिक गर्दैनन् भने कतिमा सामान्य लक्षण देखिएकाहरू विवरणमा समाविष्ट छैनन्।

गणितीय प्रणालीहरूका अनुसार ९९ देखि ९९.५ प्रतिशत बिरामी निको भएका छन्।

के कोभिड-१९ दोहोरिन्छ?

सङ्क्रमितको शरीरमा विकास हुने प्रतिरक्षात्मक क्षमता कति समयसम्म टिक्छ भन्नेबारे धेरै चर्चा भए पनि प्रमाण भने कम छ।

कुनै व्यक्ति भाइरसमुक्त भएको छ भने उसमा पक्कै प्रतिरक्षात्मक तत्त्व विकसित भएको हुनुपर्छ।

कोही सङ्क्रमणमुक्त भएको र फेरि सङ्क्रमित भएको भन्ने कुरा पहिलो परीक्षणले गलत नतिजा देखाएकाले हुनसक्छ।

मानिसमा विकास भएको प्रतिरक्षा शक्तिले नै फेरि सङ्क्रमित हुन्छन् वा यो रोगविरुद्धको खोप कति प्रभावकारी हुन्छ भन्ने बुझ्न सहयोग पुग्नेछ।