कोरोना भाइरस खोप: कोभिड-१९ विरुद्ध बन्ने भ्याक्सीन गरिब देशले सजिलै पाउलान् त?

नाइजिरिया
तस्बिरको क्याप्शन, गरिब देशमा कोभिड-१९ विरुद्ध बन्ने खोप पुग्न धेरै समय लाग्ने आशङ्का व्यक्त गरिएको छ
    • Author, फर्नान्डो डुआर्टे
    • Role, बीबीसी विश्व सेवा
  • Published

मलेक्युलर जेनेटिसिस्ट केट ब्रोडेरिक विश्वभरि कोभिड-१९ विरुद्धको खोप विकासको प्रयास गरिरहेका ४४ वटा परियोजनासँग सम्बद्ध वैज्ञानिकहरूको समूहमा संलग्न छिन्।

उनी डिसेम्बरको सुरुमा १० लाख खोप तयार गर्ने योजना बनाएको अमेरिकास्थित जैविक प्रविधि कम्पनी इनिभिओका अनुसन्धानकर्ताको एउटा समूहको सदस्य हुन्।

तर कहाँ र कसले ती खोप पाउलान्?

यो ती स्कटिश वैज्ञानिकको मनमा सधैँ आउने प्रश्न हो। डा. ब्रोडेरिककी बहिनी ब्रिटेनको न्याश्नल हेल्थ सर्भिसमा नर्सको रूपमा कार्यरत छिन्।

उनले बीबीसीसँग भनिन्, "मेरी बहिनी दिनहुँ रोगसँग लडिरहेका मानिसहरूलाई सहयोग गर्न सङ्घर्ष गर्दैछिन्। त्यसैले म खोपको आपूर्तिबारे चिन्तित छु। खोप तयार गर्नुपर्ने खाँचो छ।"

थुपार्ने आशङ्का

तर अहिले नै इनोभिओका उत्पादन धनी देशले कब्जा गर्ने अवस्था भएको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।

'इम्युनाईजेशन ग्याप' अर्थात् खोपको उपलब्धतामा हुने विभेदको जोखिमबारे सरुवारोग नियन्त्रणविज्ञ सेथ बर्क्लीले आवाज उठाएका छन्।

सेथ बर्क्ली र बिल गेट्स
तस्बिरको क्याप्शन, फाइल तस्बिर

उनी विश्वव्यापी सार्वजनिक तथा निजी स्वास्थ्य साझेदारीसम्बन्धी संस्था द भ्याक्सीन अलाईअन्स ग्याभीका प्रमुख कार्यकारी अधिकृत हुन्। उक्त संस्था विश्वका सबैभन्दा गरिब ७३ वटा देशमा खोपको पहुँच बढाउने काममा प्रतिबद्ध छ।

विश्व स्वास्थ्य सङ्गठन उक्त संस्थाको सदस्य छ।

बर्कलेले बीबीसीसँग भने, "अहिलेसम्म खोप उपलब्ध नभए पनि हामीले त्यसबारे अब छलफल गर्नुपर्ने आवश्यकता छ।"

उनका भनाइमा धनी देशमा जसलाई चाहिन्छ उसका निम्ति र गरिब देशमा जसलाई खाँचो छ उसको निम्ति पनि खोप प्रशस्त रहेको सुनिश्चित गर्ने चुनौती हुनेछ।

हेपाटाइटिस बी - कङ्गो
तस्बिरको क्याप्शन, विपन्न देशले हेपाटाइटिस बी नियन्त्रणका लागि खोप पाउन धेरै कुर्नुपर्‍यो

उनको आशङ्का निराधार छैन।

यसअघिका खोपमा सन्दर्भमा पनि असमान पहुँच एउटा विशेषता बन्यो।

केही समयअघि जर्मन समाचारपत्र 'भेल्ट आम जोन्टाग'ले उच्च सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले जर्मन कम्पनी क्योरभ्याकले विकास गर्न लागेको खोपमा अमेरिकीहरूको विशेष पहुँच सुनिश्चित गर्ने प्रयास गरेको तर विफल भएको उल्लेख गरेको छ।

हेपाटाइटिस 'बी'मा विभेद

हेपाटाइटिस 'बी' को खोप एउटा महत्त्वपूर्ण उदाहरण हो।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार कलेजोको क्यान्सरको कारक बन्ने उक्त भाइरसको सङ्क्रमण एचआईभीभन्दा पनि ५० गुना बढी छ। सन् २०१५ मा विश्वभरि २५ करोड ७० लाख मानिसमा हेपाटाइटिस बीको सङ्क्रमण रहेको अनुमान गरिएको छ।

बिल गेट्सले खोप विकासका लागि अर्बौँ डलर दान दिएका छन्
तस्बिरको क्याप्शन, बिल गेट्सले खोप विकासका लागि अर्बौँ डलर दान दिएका छन्

उक्त रोगविरुद्धको प्रतिरोधात्मक प्रणाली विकास गर्ने खोप धनी देशमा सन् १९८२ मै उपलब्ध थियो।

तर सन् २००० सम्म विश्वका १० प्रतिशतभन्दा कम गरिब देशको मात्र त्यसमा पहुँच थियो। बिल गेट्स र मेलिन्डा गेट्सद्वारा सन् २००० मा स्थापना गरिएको ग्याभीले सरकारहरू र औषधि उद्योगहरूसँगको सम्झौताका कारण खोपको सुस्तता महत्त्वपूर्ण रूपमा घटाउन सहयोग गरेको छ।

अर्को महत्त्वपूर्ण पक्ष कोअलिशन फोर एपिडेमिक प्रिपेअर्ड्नस इनोभेशन्स (सीईपीआई) हो। सार्वजनिक र निजी क्षेत्रबाट प्राप्त आर्थिक सहयोग खोपको विकासमा लगानी गर्न त्यो संस्था सन् २०१७ मा नर्वेमा स्थापना गरिएको हो।

उसले खोप वितरणका लागि खुला वकालत गर्छ।

"सङ्क्रामक रोगले राजनीतिक सीमा पूर्ण रूपमा बेवास्ता गर्छ भन्ने कुरा कोभिड-१९ ले देखाउँछ," कम्पनीले विज्ञप्तिमा भनेको छ, "खोपको स्वच्छ वितरणबिना हामी विश्वव्यापी सङ्क्रामक रोगको खतरा नियन्त्रण गर्न वा रोक्न सक्दैनौँ।"

दुई तहको पहुँच

तर वास्तवमा दुई तहको अवस्था अझै कायम छ।

पाठेघरको मुखको क्यान्सर नियन्त्रण गर्न निर्मित खोप विपन्न देशमा पुगेकै छैन
तस्बिरको क्याप्शन, पाठेघरको मुखको क्यान्सर नियन्त्रण गर्न निर्मित खोप विपन्न देशमा पुगेकै छैन

एउटा उदाहरण अमेरिकी कम्पनी मर्कले सन् २००७ मा उत्पादन गरेको ह्यूमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको ग्यार्डासिल खोप हो। अमेरिकी अधिकारीहरूले प्रयोगको निम्ति त्यसलाई सन् २०१४ मा अनुमति दिएका थिए। विश्वभरि हुने अधिकांश पाठेघरको मुखको क्यान्सरको कारक एचपीभी हो। तर खोप सन् २०१९ सम्म १३ वटा कम आय भएका देशहरूमा उपलब्ध छ।

दोष कसको हो त? उच्च मागका कारण विश्वव्यापी अभाव।

जबकि पाठेघरको मुखको क्यान्सरका कारण विश्वभरि हुने कुल मृत्युको ८५ प्रतिशत विकासशील देशमा हुन्छ।

यस्तो अभाव किन हुन्छ भन्ने बुझ्न हामीले खोपको व्यापारबारे बुझ्नुपर्छ।

सानो तर लोभलाग्दो अंश

औषधि उद्योगका लागि खोप आयको आधारभूत उत्पादन हैन।

विश्व बजारमा उपलब्ध पछिल्लो तथ्याङ्कअनुसार सन् २०१८ मा औषधिको बजार १२ खर्ब डलरको रह्यो जबकि खोपको बजार ४० अर्ब डलरमा सीमित थियो।

औषधि उद्योगका लागि खोप प्राथमिक उत्पादन हैन
तस्बिरको क्याप्शन, औषधि उद्योगका लागि खोप प्राथमिक उत्पादन हैन

यस्तो असमानताले उपचारको औषधिभन्दा खोप विकास गर्ने व्यापार कति जोखिममा छ भन्ने देखाउँछ।

खोपको अनुसन्धान र विकास मूल्य निकै उच्च हुन्छ। अनि परीक्षणसम्बन्धी नियमहरू पनि धेरै जटिल छन्।

त्यसका अतिरिक्त मुख्य ग्राहक सार्वजनिक स्वास्थ्यसंस्थाहरू निजी ग्राहकभन्दा निकै कममा खरिद गर्छन्। तसर्थ मानिसले जीवनमा एक चोटि मात्रै लाउने खोपहरू अन्य औषधिको तुलनामा कम नाफामूलक हुन्छन्।

संयुक्त राज्य अमेरिकामा खोप उत्पादक उद्योगको सङ्ख्या घटेको छ।

उद्योगहरू रोकथामभन्दा पनि उपचारमा धेरै केन्द्रित हुन थालेपछि सन् १९६७ मा २६ वटा रहेको खोप उत्पादक उद्योगको सङ्ख्या सन् २००४ मा पाँच वटामा सीमित भएको छ।

प्रेभनार
तस्बिरको क्याप्शन, फाइजर कम्पनीले सन् २०१८ मा निमोनिया गराउने ब्याक्टेरियाविरुद्ध निर्मित प्रेभनार नामक खोप धेरै बेचेको थियो

तैपनि अवस्थामा परिवर्तन आएको छ।

केही वर्षयता खोपको मात्रा बढाउन उत्पादनको माग पूर्तिका निम्ति बिल गेट्स र मेलिन्डा गेट्सजस्ता परोपकारी व्यक्ति र संस्थाले अर्बौँ डलर दान गरेका छन्।

स्वतन्त्र बजारको चिन्ता

बालबालिका र युवालाई निमोनिया गराउने जीवाणुबाट जोगाउन प्रयोग हुने खोप प्रेभनारजस्ता उत्पादनमा उद्योगहरूले उल्लेखनीय व्यावसायिक सफलता हासिल गरेका छन्।

खोप विकासका लागि आवश्यक अनुसन्धान र अन्य कार्यका लागि करोडौँ डलर खर्च हुन्छ
तस्बिरको क्याप्शन, खोप विकासका लागि आवश्यक अनुसन्धान र अन्य कार्यका लागि करोडौँ डलर खर्च हुन्छ

कम्तीमा खोपको विकास तथा अनुसन्धानको लागत उठाउन धनी बजारमा धेरै नै आकर्षक नाफा हुन्छ।

ब्रिटेनको औषधि उत्पादकको सङ्घले नयाँ खोप उत्पादन खर्च १.८ अर्ब डलर लाग्ने अनुमान गरेको छ।

लन्डन स्कूल अफ हाईजीन एन्ड ट्रपिकल मेडिसिनका प्राध्यापक मार्क जिटले बीबीसीसँग भने, "यदि हामीले निर्णय गर्न स्वतन्त्र बजारलाई छाडिदियौँ भने कोभिड-१९ को खोपमा धनी देशका मानिसहरूको पहुँच मात्र हुनेछ।"

विगतमा कैयौँ खोपका सन्दर्भमा त्यस्तो उदाहरण देखिएको बताउँदै उनले त्यो फेरि दोहोरिएमा ठूलो पीडा बेहोर्नुपर्ने बताए।

ठूला औषधि कम्पनीहरूले विश्वमा ८० प्रतिशत खोप बेच्छन्
तस्बिरको क्याप्शन, ठूला औषधि कम्पनीहरूले विश्वमा ८० प्रतिशत खोप बेच्छन्

सहमति

उदाहरणका निम्ति इनोभिओले कोभिड-१९ विरुद्ध बनाउन लागेको खोप सफल भएमा उसले करोडौँ थान खोप उत्पादन गर्न कुनै औषधि उद्योगसँग सहकार्य गर्नुपर्ने हुन्छ।

पछिल्ला वर्षहरूमा ठूला कम्पनीहरूले सार्वजनिक रूपमा खोपमा विश्वव्यापी पहुँचको निम्ति काम गर्ने सङ्कल्प गरेका छन्।

ब्रिटेनस्थित विश्वकै ठूला औषधि उद्योगमध्येको एक ग्ल्याक्सोस्मिथक्लाइन (जीएसके) कोभिड-१९ को खोपको विकास गर्न विभिन्न साझेदारहरूसँग मिलेर काम गरिरहेको छ।

एउटा विज्ञप्तिमा जीएसकेकी प्रमुख कार्यकारी अधिकृत एमा वाल्म्सलीले भनेकी छन्, "कोभिड-१९ लाई परास्त गर्न स्वास्थ्य सुरक्षामा काम गर्ने प्रत्येकबाट संयुक्त प्रयासको खाँचो छ।"

उनको भनाइ छ, "यो विश्वव्यापी महामारीमा योगदान दिन र नागरिकको सुरक्षाको निम्ति वैज्ञानिक, उद्योग, नियामक निकाय, सरकार तथा स्वास्थ्यकर्मीहरूबीच सहकार्यले सहयोग पुर्‍याउने हाम्रो बलियो विश्वास छ।"

कोभिड-१९ विरुद्ध खोप बनाउन अहिले कम्तीमा ४४ वटा परियोजना सक्रिय छन्
तस्बिरको क्याप्शन, कोभिड-१९ विरुद्ध खोप बनाउन अहिले कम्तीमा ४४ वटा परियोजना सक्रिय छन्

ग्याभीका सेथ बर्क्ली 'खोप सेवा प्रदानमा रहेको विभेद' मेट्न त्यस्तो सहमतिको ठूलो योगदान हुने धारणा राख्छन्।

"पक्कै पनि विश्वव्यापी पहुँच तत्काल सार्थक हुनेछैन," उनी भन्छन्, "तर पैसा तिर्न सक्ने क्षमताकै आधारमा मात्र मानिसहरूले खोप पाउने अवस्था हुन सक्दैन।"

उनका भनाइमा यदि निकै खाँचो रहेको स्थानलाई प्राथमिकता दिइएन भने महामारी जारी रहनेछ।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर