कोरोनाभाइरस: चिनियाँ राष्ट्रपतिसँग फोनवार्ता गरेपछि ट्रम्पद्वारा सी जिन्पिङको प्रशंसा

चीन-अमेरिका
Published
पढ्ने समय: २ मिनेट

चिनियाँ राष्ट्रपति सी जिन्पिङले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई शुक्रवार भएको टेलिफोनवार्तामा कोरोनाभाइरस महामारीसँग जुझ्न एकजुट हुनैपर्ने बताएका छन्।

ट्रम्पले 'चिनियाँ भाइरस' भनेपछि पछिल्ला साताहरूमा यी दुई देशबीच बारम्बार चर्काचर्की परेको थियो।

तर फोनवार्तामा राष्ट्रपति सीले चीन अमेरिकासँग मिलेर काम गर्न चाहेको बताए।

उनले बेइजिङका कदमहरू खुला र पारदर्शी भएको समेत बताए।

ट्रम्पले के भने?

फोनवार्ता पछिको एउटा ट्वीटमा राष्ट्रपति ट्रम्पले 'निकै सम्मान' लेख्दै यस रोगबारे चीनसँग बलियो बुझाइ रहेको उल्लेख गरे।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

बेइजिङले कोरोनाभाइरसको महामारीसँग जुझिरहेका देशहरूलाई सघाउने विषयमा नेतृत्वदायी भूमिका खेलिरहेको छ।

उसले अहिलेसम्म झण्डै एक सय देशमा चिकित्सक र स्वास्थ्य सामग्री पठाइसकेको छ।

उता विश्व नेताहरूले भाइरसको प्रभावसँग जुझ्ने कदमहरू घोषणा गरिरहँदा एशियाका शेअर बजारमा आशाका सङ्केतहरू देखिएका छन्।

अर्थतन्त्र जोगाउने प्रयास

बिहीवार मुख्य अमेरिकी सेअर बजारमा मन्दी छाउन थालेयताकै लगातार तीन दिनको उकालो लाग्ने राम्रो क्रम देखिएको थियो।

शनिवार अन्त्यसम्ममा अमेरिकी संसद्‌ कङ्ग्रेसले झण्डै २० खर्ब डलरको एउटा विशाल आर्थिक प्याकेज पारित हुने आशाबीच सेअर बजारमा केही आशालाग्दा छनक देखिन थालेका हुन्।

चीन-अमेरिका

यसैबीच विश्वका मुख्य अर्थतन्त्र भएका देशहरूको समूह जी ट्वान्टीले समेत बिहीवार नै विश्व अर्थतन्त्रमा ५० खर्ब डलर प्रवाह गर्ने वाचा गरेको थियो।

युरोपेली सङ्घ (ईयू) र १९ देशका नेताहरूले एउटा भर्चुअल सम्मेलन गर्दै त्यस्तो वाचा गरेका थिए।

साउदी अरबले अध्यक्षता गरेको उक्त सम्मेलनअघि संयुक्त राष्ट्रसङ्घले दशौँ लाख शरणार्थी र घरबारविहीन बनेका मानिसहरूमाथि विश्वले ध्यान दिनुपर्ने बताएको थियो।

अमेरिकाको अवस्था के छ?

विश्वमै सबैभन्दा धेरै कोरोनाभाइरस सङ्क्रमण अमेरिकामा पुष्टि भएपछि राष्ट्रपति ट्रम्पले त्यो आफ्नो देशमा बृहत् रूपमा गरिएका जाँच कारण भएको बताएका छन्।

अमेरिकामा अहिले ८५ हजारभन्दा बढी सङ्क्रमित पुष्टि भएका छन्।

सङ्क्रमणका हिसाबमा अमेरिकाभन्दा मुनि चीन, इटली रहे पनि मृत्यु हुनेको सङ्ख्या भने ती देशमा अमेरिकामा भन्दा धेरै छ।

ह्वाइट हाउसमा बोल्दै ट्रम्पले चीनको तथ्याङ्कप्रति भने पुन: संशय व्यक्त गरे र अमेरिका 'निकै छिटो' काममा फर्कने बताए।

यसबीच विश्वभरि कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या पाँच लाख नाघेको छ।

संसारका १८० भन्दा बढी देशमा यो रोग फैलिसकेको छ। करिब २३ हजार मानिसको ज्यान गइसकेको छ।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर