कोरोनाभाइरस: भारतमा १४ घण्टा लामो 'जनता कर्फ्यु'

A deserted road in Delhi
Published

भारतमा कोरोनाभाइरसको महामारीविरुद्धको लडाईँ जित्ने प्रयासमा एक अर्बभन्दा बढी मानिसलाई १४ घण्टा लामो 'कर्फ्यु'को पालना गर्न भनिएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले गत हप्ता नै आजको कर्फ्यु घोषणा गर्दै त्यो भाइरसविरुद्ध लड्ने भारतीय क्षमताको परीक्षण हुने बताएका थिए।

मोदीले नागरिकहरूलाई आइतवार बिहान सात बजेदेखि बेलुका नौ बजेसम्म घरभित्रै बस्न आग्रह गरेका थिए।

भारतमा अहिलेसम्म कोरोनाभाइरस सङ्क्रमितको सङख्या ३२४ पुगेको छ।

सुनसान बजार र रित्तासडक

मोदीले ट्विटरमा आफ्ना फलोअरहरूलाई भनेका छन्, "आउनुहोस् हामी सबै कर्फ्युको अंश बनौँ जसले कोभिड- १९ विरुद्धको लडाईँका लागि अथाह शक्ति दिनेछ। अहिले हामीले चाल्ने पाइलाले आगामी दिनमा सहयोग पुर्‍याउनेछ।"

रेलवे टर्मिनल भारत
तस्बिरको क्याप्शन, मुम्बइ र अन्यत्र पनि यातायात प्रभावित भएको छ

कुनै पनि लामो दूरीका र शहरमा चल्ने रेल सेवा बन्द छन्। तर कर्फ्यु अगाडि नै आफ्नो गन्तब्यका लागि हिँडेका रेल भने रोकिने छैनन्।

देशका विभिन्न शहरबाट प्राप्त तस्बिरहरूमा बजार सुनसान र सडक रित्ता देखिन्छन्।

दिल्लीमा अति आवश्यक सामग्री बेच्ने पसल र औषधीपसल बाहेक अरू सबै पसल बन्द छन्। कर्फ्युका कारण धार्मिक स्थलहरूका कार्यक्रमहरू रद्द गरिएका छन्।

मोदीले आइतवार साँझ पाँच बजे बाल्कोनी या झ्याल छेउ उभिएर ताली बजाएर या ढोकाका घण्टी बजाएर स्वास्थ्यकर्मी र सफाइ कर्मचारीहरूप्रति आभार व्यक्त गर्न अनुरोध गरेका छन्।

भारतका कैयौँ ठाउँहरू बन्द गरिएका छन्।

रित्ता सडकहरू
तस्बिरको क्याप्शन, कोलकाता लगायतका शहरहरूमा मानिसले कर्फ्यु आदेश पालना गरेका छन्

राजस्थानमा मार्च ३१ सम्म बन्द आह्वान गरिएको छ। गुजरातका चार शहरमा २५ मार्चसम्म त्यस्तै बन्दको आह्वान गरिएको छ।

भारतले यूके र सबैजसो युरोपेली मुलुकबाट आउने हवाइ उडान रोक्दै सबैलाई भारत प्रवेशमा प्रतिबन्ध लगाएको छ। उसले अरू देशबाट भारत जान लिइएका सबैजसोका प्रवेशाज्ञा दिन पनि रोकेको छ।

ठूलो सङ्ख्यामा मानिसहरूको जमघट रोक्न भन्दै प्रख्यात भारतीय स्थानहरू जस्तो कि दिल्लीस्थित लाल किल्ला पनि बन्द गरिएको छ।

ताल महल पनि गत मङ्गलवारदेखि बन्द छ। त्यस्तै १४० वटा अरू प्रख्यात स्थान र सङ्ग्रहालयहरू पनि बन्द गरिएका छन्।

कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर