पुष्पकमल दाहाल प्रचण्ड: टाई-सूटमा भादगाउँले टोपी लगाउने पूर्वमाओवादी नेता भन्छन्, 'कुनै दिन दौरा सुरुवाल लगाएर हिँड्न सक्छु'

प्रचण्ड
    • Author, नेत्र केसी
    • Role, बीबीसी न्यूज नेपाली
  • Published

सशस्त्र विद्रोहमा लागेका तत्कालीन माओवादी पार्टीका नेतादेखि कार्यकर्तासम्म सबैले दौरा, सुरुवाल र कोटलाई 'सामन्ती पोसाक' भन्ने गर्थे।

शान्ति प्रक्रियामा आएलगत्तै मन्त्री तथा प्रधानमन्त्री बनेका नेताहरूले शपथ ग्रहण गर्दा पनि त्यो पोसाक लगाएनन्।

तर अहिले उनीहरूको व्यवहारमा परिवर्तन हुन थालेको छ। विभिन्न सार्वजनिक पदमा पुगेका पूर्वमाओवादी नेताहरूले दौरा, सुरुवाल र कोट लगाउन थालेका छन्।

दशवर्षे सशस्त्र विद्रोहको नेतृत्व गरेका पुष्पकमल दाहाल प्रचण्डले भने अहिलेसम्म दौरा सुरुवाल लगाएको देखिएको छैन।

तर उक्त पोसाकप्रति आफ्नो नकारात्मक दृष्टिकोण नभएको बताउँदै उनी भन्छन्, "कुनै दिन दौरा सुरुवाल लगाउन सक्छु।"

कहिले लगाउलान् दौरा सुरुवाल?

पहिलो पटक प्रधानमन्त्री भएदेखि प्रचण्डले भादगाउँले कालो टोपी लगाउन थाले।

प्रचण्डका सहयोद्धा बाबुराम भट्टराईले पनि प्रधानमन्त्री हुँदा दौरा सुरुवाल लगाएनन्।

माओवादी दल छोडेर अर्कै दल बनाएका उनले गत वर्ष "देशअनुसारको भेष" भन्दै दौरा सुरुवाल लगाएको तस्बिर सार्वजनिक गरे।

प्रचण्ड

के प्रचण्डले पनि दौरा सुरुवाल लगाउलान् त?

गत साता बीबीसीसँग कुराकानी गर्दै उनले आफूले दौरा सुरुवाल लगाउन सक्ने बताए।

"सन्दर्भ मिलेका दिन लगाउनुपर्छ भन्ने मैले सोचेको छु। तर दौरा, सुरुवाल र कोट सधैँ लगाउने भन्ने सायद हुँदैन," उनले भने।

विभिन्न जातजाति र धर्मावलम्बीका कार्यक्रममा जाँदा आफूले उनीहरूको पहिचान झल्किने पोसाक लगाउने गरेको प्रसङ्ग निकाल्दै उनले दौरा, सुरुवाल र कोट पनि त्यसरी नै लगाउने बताए।

प्रचण्ड
तस्बिरको क्याप्शन, पूर्वमाओवादी कमान्डर नन्दबहादुर पुन (बीच) उपराष्ट्रपति भएपछि दौरा, सुरूवाल र ढाका टोपीमा सजिएर औपचारिक समारोहमा भाग लिन्छन्

नेकपा एमालेसँग पार्टी एकीकरण भएपछि प्रचण्ड अहिले नेकपाका दुईमध्ये एक अध्यक्ष छन्।

पार्टी एकीकरण हुनुअघि आफूले पार्टीमा "इच्छा भएका साथीहरूले [दौरा सुरुवाल] लगाउँदा राम्रै हुन्छ" भनेको स्मरण गरे।

प्रचण्ड
तस्बिरको क्याप्शन, ०६२/२०६३ को राजनीतिक परिवर्तनपछि प्रचण्ड बालुवाटारमा यसरी सार्वजनिक भएका थिए
प्रचण्ड

विसं २०६२/२०६३ को आन्दोलनअघिसम्म दौरा, सुरुवाल, कोट र टोपीलाई पुरुषको राष्ट्रिय पोसाक मानिन्थ्यो।

तर गणतन्त्र स्थापना हुनुअघि जारी भएको अन्तरिम संविधानमा त्यो व्यवस्था हटाइयो।

नेपालको नयाँ संविधान राष्ट्रिय पोसाकको विषयमा मौन छ।

अहिलेसम्म किन दौरा सुरुवाल लगाएनन्?

प्रचण्डका अनुसार उनले अहिलेसम्म दौरा सुरुवाल लगाएका छैनन्।

राजनीतिक कारणले नै आफूले दौरा नलगाएको उनको तर्क छ।

"मलाई के लाग्छ भने राजतन्त्रकालीन संस्कृति, परम्परा, वेशभूषा राजा-महाराजाले विकास गरेर ल्याएका हुन्," उनले भने।

"मैले त्यसको ठाउँमा सबै नेपालीको पहिचान झल्किने एउटा साझा आन्दोलनको नेतृत्व गरेँ," उनले भने, "मैले एउटा पोसाकमा गएर केन्द्रित भइदिँदा अरू वेशभूषा, संस्कृति र परम्परा भएका जनताको मनमा के लाग्ला भन्ने कारणले मैले नलाएको हुँ।"

प्रचण्ड
तस्बिरको क्याप्शन, विभिन्न समुदायका वेशभूषामा प्रचण्ड देखा परिरहन्छन्

"सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता भनेर यहाँ आइपुगिएको छ।"

"संविधान र सबै कुराको मनोवैज्ञानिक पक्षलाई विचार गर्दा मैले हतार गरेर लगाएर हिँड्नुपर्ने छैन भन्ने परेको छ। यो कुनै विरोधको कुराले हैन, भावनात्मक कुराले मात्रै हो," स्पष्टीकरण दिँदै उनले भने।

टाई-सूटमा कालो टोपीको संयोजन किन?

दुई पटकसम्म प्रधानमन्त्री भएका प्रचण्ड प्राय: सार्वजनिक कार्यक्रममा टाई-सूट र भादगाउँले टोपीमा देखिन्छन्।

प्रचण्ड

उक्त पोसाक रोज्नुको कारण सुनाउँदै उनी भन्छन्, "कम्युनिस्ट भनेका अन्तर्राष्ट्रवादी हुन्। माओको पालामा चिनियाँ कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताले कोट लगाउँथे अहिले त्यसलाई सूट र टाईमा परिणत गरिएको छ।"

"लेनिन, मार्क्स र एङ्गेल्सले पनि सूट र टाई नै लगाउँथे। कम्युनिस्ट हुनुको नाताले उनीहरूले राष्ट्रवाद र अन्तर्राष्ट्रियतावादको जोड मिलाउनुपर्ने हुन्छ।"

"राष्ट्रवादभित्र अन्तर्राष्ट्रवाद र अन्तर्राष्ट्रवादभित्र राष्ट्रवाद हुन्छ। मैले पहिलो पटक प्रधानमन्त्री हुँदा त्यस बेलामा के पोसाक लगाउने भन्ने विषयमा ठूलै बहस भएको थियो। मैले त्यस बेलामा के गर्नु उचित हो भन्ने बारेमा गम्भीर ढङ्गले विचार गरेको थिएँ।"

प्रचण्ड
तस्बिरको क्याप्शन, चीन र रुसी कम्युनिस्ट नेताको प्रभावमा आफूले टाई-सूट र टोपीको संयोजन रोजेको प्रचण्डको भनाइ छ

त्यस बेला कोट, पाइन्ट, टाई र भादगाउँले टोपी लगाएर गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीको रूपमा प्रचण्डले शपथ लिएका थिए।

उनले पोसाकको परम्परालाई आफूले बारम्बार भन्ने गरे जसरी नै "क्रमभङ्ग" गरिदिएका थिए।

त्यस बेलाको निर्णय सम्झिँदै प्रचण्ड भन्छन्, "नेपालीहरूको ठ्याक्कै राष्ट्रिय पहिचान झल्किने भनेको टोपी नै हो। किनभने टोपी सबैतिर लगाइन्छ, कुनै न कुनै रूपमा टोपीको आकारप्रकार फरक भए पनि टोपी आम रूपमा लगाइन्छ। त्यसैले नेपालको राष्ट्रियतालाई झल्काउन मैले टोपी रोजेँ।"

उनले आफू कम्युनिस्ट भएकाले टाई र सूट रोजेको बताए।

उनले भने, "आजभोलि मलाई खुसी लाग्छ - साथीहरू अहिले टाई, सूट र टोपी लगाउने साथीहरू बढेका छन्। राष्ट्रिय भावना पनि त्यहाँ मुखरित होस् र एउटा कम्युनिस्ट नेता हुनुको नाताले अन्तर्राष्ट्रियतावाद पनि देखियोस् भनेर यो पोसाक रोजिएको हो।"

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'मसँग सम्बन्ध हुनेबित्तिकै विवादित? यो महारोग हो'