कोरोनाभाइरस: सङ्क्रमण फैलिने डरले इरानमा हजारौँ कैदी केही समयका लागि रिहा

तेहरानमा हिड्दै गरेकी महिला
तस्बिरको क्याप्शन, इरानमा कोरोनाभइरसबाट दुई साताभन्दा कम समयमा ७७ जनाको ज्यान गइसकेको छ
Published
पढ्ने समय: २ मिनेट

धेरै चाप भएका कारागारहरूमा नयाँ कोरोनाभाइरस सङ्क्रमण नफैलियोस् भनेर इरानले ५४,००० भन्दा बढी कैदीलाई अस्थायी रूपमा रिहा गरिदिएको छ।

इरानी न्यायपालिकाका प्रवक्ता घोलामहोसिन इस्माइलीले संवाददाताहरूलाई परीक्षणबाट कोभिड-१९ नभएको पुष्टि भएपछि जमानत लिएर उनीहरूलाई केही दिनका लागि छाडिएको बताए।

पाँच वर्षभन्दा बढी जेल सजाय सुनाइएका "सुरक्षासँग सम्बन्धित कैदीहरू"लाई भने छाडिएको छैन।

एक ब्रिटिश सांसदका अनुसार इरानको जेलमा रहेकी सामाजिक कार्यकर्ता नाजनीन जाग्हारी रेट्क्लिफ पनि चाँडै छुट्न सक्नेछिन्।

ट्यूलिप सिद्दिकले इरानी राजदूतलाई उद्धृत गर्दै जाग्हारी रेट्क्लिफ "सम्भवत: केही समयका लागि आज वा भोलि रिहा हुने" बताएकी छन्।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

उनका पतिले शनिवार तेहरानको एविन जेलमा रेट्क्लिफलाई कोभिड-१९ भएको र त्यहाँका अधिकारीहरूले परीक्षण गराउन नमानेको बताएका थिए।

तर इस्माइलीले सोमवार बताएअनुसार त्यसपछि उनले परिवारसँग सम्पर्क गरिन् र आफ्नो स्वास्थ्यस्थिति राम्रो रहेको जानकारी दिइन्।

फाइल फोटो
तस्बिरको क्याप्शन, नाजनीन जाग्हारी रेट्क्लिफलाई जासुसीको आरोपमा पाँच वर्षका लागि जेल पठाइएको थियो

रेट्क्लिफलाई जासुसीको आरोपमा सन् २०१६ मा पाँच वर्षका लागि जेल हालिएको थियो।

आफूलाई लागेको आरोप उनले अस्वीकार गरेकी छन्। यूकेले पनि उनी निर्दोष रहेको दाबी गर्दै आएको छ।

विदेश मन्त्रालयका एक अधिकारीले भने, "हामी इरानी सरकारलाई तत्कालै स्वास्थ्यकर्मीहरूलाई एविन जेलभित्र जान दिइयोस् र त्यहाँ रहेका ब्रिटेन र इरानको दोहोरो नागरिकता भएका व्यक्तिहरूको अवस्थाबारे जाँच गरियोस् भन्ने आह्वान गर्छौँ।"

Presentational grey line

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोनाभाइरस: नेपाल जोखिममा छ?
Presentational grey line

विश्वभरि अहिले ९०,००० जनाभन्दा बढीमा कोभिड-१९ भएको पुष्टि भइसकेको छ।

गत डिसेम्बरको अन्त्यतिरबाट सुरु भएको उक्त सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३,१०० नाघेको छ। इरानमा दुई साताभन्दा कम समयमा कम्तिमा ७७ जनाको ज्यान गइसकेको छ।

इरानी अधिकारीहरूले मङ्गलवार लगातार दोस्रो दिन सङ्क्रमण पुष्टि भएका मानिसको सङ्ख्या ५० प्रतिशतभन्दा बढी भएको बताएका छन्। पुष्टि भएको सङ्ख्या २,३३६ भए पनि वास्तविक सङ्ख्या धेरै भएको अनुमान छ।

अफगानिस्तान, क्यानडा, लेबनन, पाकिस्तान, कुवेत, बाहरेन, इराक, ओमन, कतार र संयुक्त अरब इमिरेट्समा पनि इरानसँग जोडिएका व्यक्तिहरूमा सङ्क्रमण पाइएको छ।

इरान

इरानका कैयौँ वरिष्ठ अधिकारीहरूमा पनि सङ्क्रमण देखिएको छ।

त्यहाँको आकस्मिक स्वास्थ्य सेवाका प्रमुख पिरहुसेनी कोलिभान्डमा पनि सङ्क्रमण भएको पुष्टि भएको छ।

दुई सय ९० सांसदमध्ये २३ जनामा पनि सङ्क्रमण देखिएको छ।

सोमवार त्यहाँका सर्वोच्च नेता आयातोल्लाह खामेनेईका एक सल्लाहकारको पनि कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ।

इरान
तस्बिरको क्याप्शन, इरानका सर्वोच्च नेता

विश्व वन्यजन्तु दिवसका अवसरमा मङ्गलवार वृक्षरोपण कार्यक्रममा बोल्दै सर्वोच्च नेता आयातोल्लाह खामेनेईले नागरिकहरूलाई स्वास्थ्य मन्त्रालयको निर्देशन पालना गर्न आह्वान गरे।

उनले सबै सरकारी निकायहरूलाई स्वास्थ्य मन्त्रालयलाई आवश्यक सहायता गर्न पनि निर्देशन दिए।

इरानी अधिकारीहरूले सङ्क्रमणको विवरण नलुकाएको उनको दाबी थियो।

उनले अधिकारीहरूले पहिलो दिनदेखि नै "गम्भीरतापूर्वक र पारदर्शी रूपमा जानकारी दिएको" भन्दै "सङ्क्रमण गम्भीर रूपमा फैलिएका केही देशले लुकाउने प्रयास गरेको" आरोप लगाए।

उनले इरानको सङ्क्रमण लामो समय नरहने पनि बताए।

इरान
तस्बिरको क्याप्शन, सोमवार विश्व स्वास्थ्य सङ्गठनको टोली तेहरान पुगेको छ

स्वास्थ्य मन्त्री सईद नमाकीले बुधवारदेखि देशभरि निगरानी अभियान सुरु हुने बताए।

स्वास्थ्यकर्मीको टोली कोभिड-१९ भएको शङ्का लागेका र स्वास्थ्यसेवाको पहुँच नभएका समुदायसम्म पुग्नेछ।

सोमवार इरानमा पुगेको विश्व स्वास्थ्य सङ्गठनको एउटा टोलीले पनि त्यहाँका स्वास्थ्य अधिकारीहरूलाई सहायता गरिरहेका छन्।