कोरोनाभाइरस: वाशिङटन राज्यमा कोरोनाभाइरसका कारण मृत्यु भएको अमेरिकाद्वारा पुष्टि

कोरोनाभाइरस
तस्बिरको क्याप्शन, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प 'आतङ्कित हुनुपर्ने कारण नरहेको' बताएका छन्
Published

अमेरिकामा उत्तर पश्चिमी वाशिङटन राज्यमा कोरोनाभाइरसका कारण अमेरिकामै पहिलो मृत्यु भएको बताइएको छ।

पहिले नै केही स्वास्थ्य समस्या रहेका पाँचको दशकको उमेर भएका पुरुषको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

राष्ट्रपति डोनल्ड ट्रम्पले अरू पनि त्यस्ता सङ्क्रमितहरू 'देखिन सक्ने' भन्दै अमेरिका कुनै पनि परिस्थितिका लागि तयार रहेको बताए।

अधिकारीहरूले अति प्रभावित इटली र दक्षिण कोरिया पछि इरानका लागि पनि यात्रा प्रतिबन्ध थप्न लागिएको जनाएका छन्।

संसारभर ८५ हजारमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भइसकेको र ३,००० जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ। कोरोना भाइरस पहिलोपटक देखा परेको चीनमा धेरैजसो सङ्क्रमण र मृत्यु हुनेको सङ्ख्या रहेको छ।

अमेरिकामा के भइरहेको छ?

वाशिङटन राज्यको किङ काउन्टीमा पाँचको दशकका उमेर रहेका व्यक्तिको मृत्यु भएका स्थानीय स्वास्थ्य अधिकारीले शनिवार पुष्टि गरेका छन्। ती व्यक्तिले कुनै पनि उच्च खतरा भएको क्षेत्रमा यात्रा नगरेको उनीहरूले बताए।

कोरोनाभाइरस
तस्बिरको क्याप्शन, एकजना सङक्रमितलाई उपचार गर्न तयारी गरिरहेका स्वास्थ्यकर्मी

वाशिङटन गभर्नर जे इन्सलीले नयाँ सङ्क्रमण सन्दर्भमा राज्यमा सङ्कटकाल घोषणा गरेका छ्न्।

क्यालिफोर्निया ओरेगन र वाशिङटनका अधिकारीहरूले प्रकोप भएका क्षेत्रमा नगएका मानिसहरू वा सङ्क्रमण भएका सँग कुनै सम्पर्क नभएका मानिसहरूमा पनि सङ्क्रमण देखिन थालेको भन्दै चिन्ता जाहेर गरेका बेला यो मृत्यु भएको छ।

वाशिङटन राज्यका अधिकारीहरूले एउटा स्थानीय नर्सिङ होममा कोरोनाको सङ्क्रमण फैलिएको हुन सक्ने सम्भावनामाथि अनुसन्धान गरिरहेका छन्।

वाशिङटनको सियाटल र किङ काउन्टीका लागि स्वास्थ्य अधिकारी डा. जेफ्री डचीनले भने, "नर्सिङहोममा एकजना स्वास्थ्यकर्मी र अर्की सात दशकको उमेर रहेकी स्थानीय बासिन्दामा सङ्क्रमण पुष्टि भएको छ।"

Ambulance driver at the Life Care Center in Kirkland, Washington State, US, 29 February 2020

डा. डचिनले थप २७ जना नर्सिङ होममा बस्नेहरू र २५ जना कर्मचारीमा "केही लक्षण जस्तो" पाइएको बताएका छन्। अधिकारीहरूले सङ्क्रमितको सङख्या बढने ठानेका छन्।

डब्लुएचओका अनुसार अमेरिकामा अहिलेसम्म जम्मा ६२ जनामा सङक्रमण पुष्टि भएको छ।

यस अघि एकजना अमेरिकीको कोरोना पहिलोपटक देखिएको चीनको वुहानमा मृत्यु भएको थियो।

ट्रम्पले के भने?

नयाँ सङ्क्रमित हुने सङख्या बढ्न सक्ने ठानिएको ट्रम्पले बताए।

उनले भने, "विदेशमा सङक्रमण सुरु हुने वित्तिकै मेरो प्रशासनले सङ्क्रमणसँग जुझ्न आधुनिक इतिहासकै सबभन्दा आक्रामक तयारी गरेको छ।"

"त्रस्त हुनुपर्ने कुनै कारण छैन। हाम्रो मुलुक जुनसुकै अवस्थाका लागि तयार छ।"