कोरोनाभाइरस: रुसद्वारा मिथ्या सूचना फैलाएको आरोप अस्वीकार

बेइजिङ्
Published

रुसले सामाजिक सञ्जालमा कोरोनाभाइरसबारे मिथ्या सूचना फैलाएको आरोप अस्वीकार गरेको छ।

अमेरिकी अधिकारीहरूले रुससँग सम्बन्ध भएका सामाजिक सञ्जालका अकाउन्टहरूले कोरोनाभाइरसले अमेरिकाले शुरू गरेको मिथ्या सूचना फैलाएको बताएका थिए।

उनीहरूले ट्विटर, फेसबुक र इन्स्टाग्रामका हजारौँ अकाउन्टहरूबाट सो मिथ्या सूचना फैलाइएको दाबी गरेका छन्।

शनिवार सो सम्बन्धमा बोल्दै रुसको विदेश मन्त्रालयले सो दाबी नै मिथ्या भएको बताए।

"यो जानाजान फैलाइएको मिथ्या कुरा हो," विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले रुसको तास समाचार संस्थालाई बताएकी छन्।

रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले अमेरिकाको आरोप मिथ्या भएको बताइन्
तस्बिरको क्याप्शन, रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले अमेरिकाको आरोप मिथ्या भएको बताइन्

चीनको हुबे प्रान्तमा गत वर्ष शुरू भएको कोरोनाभाइरस २६ देशमा फैलिसकेको छ र चीनबाहिर १,४०० भन्दा बढी सङ्क्रमित भएको र ११ जनाको मृत्यु भएको छ।

चीनका स्वास्थ्य अधिकारीहरूका अनुसार शनिवार यसको नयाँ सङ्क्रमण र मृत्यु हुनेको सङ्ख्या घटेको छ।

तर त्यहाँ अहिलेसम्म ७६,३९२ सङ्क्रमण र २,३४८ मृत्यु पुष्टि भइसकेको छ।

यसअघि अमेरिकी विदेश मन्त्रालयका वरिष्ठ अधिकारी फिलिप रिकरले कोरोनाभाइरसको उत्पत्तिका बारेमा रुसका केहीले मिथ्या जानकारी दिने प्रयास गरिरहेको बताएका थिए।

चीनविरुद्धको आर्थिक युद्ध शुरू गर्ने अमेरिकी प्रयास कोरोनाभाइरस रहेको भन्ने एउटा मिथ्या सूचना विभिन्न भाषाका सामाजिक सञ्जालमा देखिएको छ।

"रुसीहरूले कोरोनाभाइरसको सम्बन्धमा मिथ्या सूचना फैलाएर विश्वभर यस भाइरसविरुद्ध भइरहेको प्रयासबाट ध्यान मोडेर जनस्वास्थ्यमा खेलबाड गर्न खोजिएको छ," रिकरले एएफपीलाई बताएका छन्।

कोरोनाभाइरस सङ्क्रमणका कारण २,००० भन्दा धेरैको ज्यान गएको छ।
तस्बिरको क्याप्शन, कोरोनाभाइरस सङ्क्रमणका कारण २,००० भन्दा धेरैको ज्यान गएको छ

सो मिथ्या सूचनामा माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सले पनि भाइरस फैलाउन सहयोग रहेको दाबी गरिएको छ।

मिथ्या सूचनाको बाढी ज्यानुअरीको मध्यबाट शुरू भएको अमेरिकी अधिकारीहरूले थाहा पाएको एएफपीले लेखेको छ।

त्यस्तो सूचना फैलाइएका अकाउन्टहरू पहिले रुसी सन्देशहरू फैलाउन प्रयोग गरिएका अकाउन्ट भएको बताइएको छ।

रुसका टिभीहरूमा पनि कोरोनाभाइरसका लागि पश्चिमा धनीहरूको हात रहेको कुरा दाबी गरिरहेको बताइएको छ।