क्याम्बोडियामा १०१ र ९८ वर्षका दिदीबहिनीको ४७ वर्षपछि भेट

बुन सेन र बुन चिया
तस्बिरको क्याप्शन, यी दुई दिदीबहिनीको सन् १९७३ यता एकअर्कासँग भेट भएको थिएन
Published

कम्बोडियाका दुई दिदीबहिनीको ४७ वर्षपछि पुनर्मिलन भएको छ।

१०१ वर्षीया बुन चिया र ९८ वर्षीया बुन सेनले सन् १९७० को दशकमा कम्बोडियामा भएको कमेयर रुझ शासनको क्रममा एकअर्काको मृत्यु भएको हुनसक्ने ठानेका थिए।

बुन सेनको आफ्ना ९२ वर्षे भाइसँग पनि पुनर्मिलन भएको छ। एउटा स्थानीय गैरसरकारी संस्थाका अनुसार बुन सेनले भाइको पनि मृत्यु भइसकेको ठानेकी थिइन्।

कम्बोडियामा सन् १९७५ मा कम्युनिष्ट नेता पल पटले शासन आफ्नो हातमा लिनु दुई वर्षअघि बुन सेन र बुन चियाको भेट भएको थियो।

कमेयर रुझ शासनका बेला कम्बोडियामा करिब २० लाख मानिसहरू मारिएको ठानिन्छ।

उक्त शासनकालमा थुप्रै परिवारको बिछोड भएको थियो।

सन् १९७९ को मे महिनामा पल पट र कम्बोडियाको सेना
तस्बिरको क्याप्शन, पल पटको कट्टरपन्थी नेतृत्वका बेला कम्बोडियामा लाखौं मानिसले ज्यान गुमाएको ठानिन्छ

बुन सेनले आफ्ना श्रीमान्‌लाई भने पल पटकै शासनकालमा गुमाइन्। पल पट शासन सन् १९७९ मा समाप्त भएको थियो।

त्यसपछि उनी राजधानी नोम पेनमा रहेको एउटा डम्पिङ साइट नजिकै बस्न थालिन्।

लामो समयसम्म बुन सेनले त्यही क्षेत्रमा फालिने फोहोरमैला जम्मा गरेर पुन: प्रयोग गर्न मिल्ने सामानहरू बेच्दै गुजारा चलाइन्।

उनी छिमेकमा रहेका गरिब बालबालिकाको रेखदेखको काम पनि गर्थिन्।

बुन सेन र उनका भाइ
तस्बिरको क्याप्शन, बुन सेनको ९२ वर्षीय भाइसँग पनि पुनर्मिलन भएको छ

राजधानी नोम पेनबाट ९० माइलको दूरीमा क्यामपोङ चाम प्रान्तमा रहेको आफ्नो गाउँ जाने उनको धोको थियो।

तर उनको उमेर र अन्य थुप्रै कारणले त्यो कठिन भएको थियो।

line

को हुन् कमेयर रुझ?

  • सन् १९७५-१९७९ मा भएको निर्मम कमेयर रुझ शासनले करिब २० लाख मानिसको ज्यान लिएको थियो।
  • पल पटको नेतृत्वको शासनले कम्बोडियालाई मध्ययुगमा लैजान खोजेको थियो। त्यतिबेला लाखौं मानिसहरूलाई सहरबाट फर्किएर कम्युनमा रहन र खेती गर्न बाध्य पारिएको थियो।
  • संयुक्त राष्ट्रसङ्घले कमेयर रुझका नेताहरूमाथि ट्राइब्युनल स्थापित गर्न मद्दत गरेको थियो र यसले सन् २००९ मा काम थालेको थियो।
  • कमयेर रुझ शासनकालका तीनजना नेतामाथि मात्रै जेल सजाय सुनाइयो।
line

कम्बोडियन चिन्ड्रेन्स फन्ड नामक स्थानीय गैरसरकारी संस्थाले सन् २००४ यता बुन सेनलाई सहयोग गर्दै आएको छ। उनको भ्रमणको चाँजोपाँजो पनि उसैले मिलाइदिएको हो।

त्यसपछि नै उनीहरूले बुन सेनका भाइ र दिदी गाउँमा जीवित नै रहेको पत्ता लगाएका हुन्।

सन् २००८ मा देखिएको स्टङ्ग मिनचे डम्बिङसाइट

करिब आधा शताब्दीपछि बुन सेनले आफ्नी दिदी बुन चिया र कान्छा भाइलाई गत साता भेटिन्।

"मैले मेरो गाउँ धेरै पहिला नै छोडेँ र फेरि कहिल्यै फर्किनँ। मलाई सधैँ मेरा दिदीभाइ मरिसके होलान् भन्ने लाग्यो," बुन सेनले भनिन्।

"मेरी दिदीको हात समाउनु मेरा लागि ठूलो कुरा थियो। पहिलोपटक मेरो भाइले मेरो हात समाएपछि म रुन थालेँ।"

बुन सेन र बुन चिया
तस्बिरको क्याप्शन, दुई दिदीबहिनी नोम पेनमा सँगै घुमे
दुई दिदीबहिनी
तस्बिरको क्याप्शन, दुई दिदीबहिनीले नोम पेनस्थित टुन्ले सप नदी पनि हेरे

कमेयर रुझ शासनकै बेला बुन चियाका पनि श्रीमान्‌को मृत्यु भएको थियो। १२ सन्तानकी आमा उनी विधवा भइन्। उनलाई पनि आफ्नी बहिनी मरिसकी होली भन्ने लागेको थियो।

"पल पटले हाम्रा १३ जना आफन्तहरू मारेका थिए र हामीलाई दिदीलाई पनि मारे भन्ने लागेको थियो। यो धेरै समयअघिको कुरा हो," उनले भनिन्।

लामो समयपछि भेटेका दिदीबहिनी एकअर्कासँग समय बिताइरहेका छन्। यो साता उनीहरूले राजधानी सँगै घुमे।

बुन चियाले भनिन्: "कुरा गरिरहे पनि बहिनीलाई देख्न पाइएला भनेर कहिल्यै पनि लागेको थिएन।"