एआई प्रयोग गरेर वैज्ञानिकहरूले नयाँ किसिमको शक्तिशाली एन्टीबायोटिक पत्ता लगाए

अनुसन्धान
Published

अमेरिकामा वैज्ञानिकहरूले अत्यन्त खतरनाकमध्येका केही थरी ब्याक्टेरियालाई नष्ट गर्न सक्ने क्षमता भएको नयाँ किसिमिको शक्तिशाली एन्टीबायोटिक पत्ता लगाउन आर्टिफिशल इन्टेलिजन्सको सहयोग लिएको बताएका छन्।

विज्ञहरूले यसलाई ठूलो उपलब्धि मानेका छन्।

एमआईटी संस्थाका अनुसन्धानकर्ताहरूले ब्याक्टेरियालाई मार्न सक्ने अणुहरू पहिचान गर्न एल्गरिदमलाई प्रशिक्षित गरेका छन्।

उक्त ज्ञानको सहयोगबाट उनीहरूले मानिसलाई लाग्ने विभिन्न रोगको उपचारमा प्रयोग हुने ६,००० भन्दा धेरै थरीका यौगिकको अध्ययन गरे।

त्यसपछि केही घण्टामै उक्त एल्गरिदमले ह्यालिसीन नामक यौगिकको शक्तिशाली एन्टीबायोटिकको रूपमा सम्भाव्यता उजागर गरिदियो।

विज्ञहरूले गरे स्वागत

वैज्ञानिकहरूको नयाँ खोजलाई विज्ञहरूले औषधिप्रतिरोधसम्बन्धी समस्या समाधानतर्फ महत्त्वपूर्ण विकास भनेर स्वागत गरेका छन्।

उक्त एल्गरिदमको सहयोगमा वैज्ञानिकहरूले केही दिनभित्रै दशौँ करोड रासायनिक यौगिकको विश्लेषण गर्न सके।

नयाँ पत्ता लागेको यौगिकले घातक हुन सक्ने ३५ थरी ब्याक्टेरियालाई मार्न सकेको अनुसन्धानकर्ताहरूले बताएका छन्।

एन्टीबायोटिक औषधिको फाइल फोटो
तस्बिरको क्याप्शन, जथाभावी एन्टीबायोटिक प्रयोग गर्दा हानिकारक ब्याक्टेरियाले त्यसको प्रतिरोध गर्न सक्ने क्षमता विकास गर्छन्

केही वर्षयता एन्टीबायोटिक प्रतिरोधी सङ्क्रमणका घटना बढेका छन्।

जथाभावी एन्टीबायोटिक प्रयोग गर्दा शरीरभित्र रहने हानिकारक ब्याक्टेरियाले त्यसको प्रतिरोध गर्न सक्ने क्षमता विकास गर्छन्। अर्थात् चाहिएको बेला औषधिले काम गर्न सक्दैन।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले यसलाई विश्व स्वास्थ्य सुरक्षा तथा विकासले सामना गरेको सबभन्दा ठूलो खतरामध्ये एक मानेको छ।

नयाँ युग

"एन्टीबायोटिकसम्बन्धी खोजमा यो पहिलो हो," एमआईटीमा कार्यरत वरिष्ठ अनुसन्धानकर्ता रेजिना बार्जिलेले बताइन्।

मानिसको मस्तिष्कको प्रारूपबाट प्रभावित भएर विकास गरिएको एल्गरिदमको सहाराले उक्त खोज गरिएको हो।

"हालसम्म खोज गरिएकोमा यो सबभन्दा शक्तिशालीमध्येको एन्टीबायोटिक हो," ह्यालिसिनबारे एमआईटीका बायोइन्जिनियर जेम्स कोलिन्सले बताए।

अनुसन्धानकर्ताहरूका अनुसार यसरी औषधि पत्ता लगाउन मशीनको प्रयोग गर्दा त्यसले भविष्यमा थप एन्टीबायोटिकको खोजी गर्ने काममा लाग्ने खर्च कम बनाउनेछ।

Presentational grey line

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, एन्टीबायोटिकले काम गर्न छोडेपछि के हुन्छ?