कोरोनाभाइरस: चीनबाट उद्धार हुँदै गरेका नेपालीमध्ये कोही रोमाञ्चित, कसैमा बेचैनी

कोरोनाभाइरस
तस्बिरको क्याप्शन, विमानस्थलतर्फ जाँदै गरेका नेपाली विद्यार्थीहरू
Published
पढ्ने समय: २ मिनेट

कोरोनाभाइरस अर्थात् कोभिड-नाइन्टिनबाट अति प्रभावित चीनको हुबे प्रान्तबाट उद्धार हुन लागेका नेपालीहरूले आफूहरू 'रोमाञ्चित र बेचैन' भएको बताएका छन्।

हुबेका ६ वटा विभिन्न सहरहरूबाट बेइजिङस्थित नेपाली दूतावासको पहलमा राजधानी वुहानमा भेला भइसकेका उनीहरूले बीबीसीसँग कुराकानी गर्दै त्यस्तो बताएका हुन्।

सरकारले उद्धार गर्ने निर्णय गरेको दुई सातापछि शनिवार नेपालले उनीहरूको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज वुहानतर्फ पठाउँदै छ।

बेइजिङस्थित नेपाली दूतावासका अधिकारीहरूका अनुसार कुनै असामान्य अवस्था नआएमा भोलि बिहान सबेरै उनीहरू नेपाल आइपुग्नेछन्।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

उत्साह र बेचैनी

नेपाल आउनका लगि स्वयम्‌सेवकहरूको सहायतामा वुहानस्थित अन्तर्राष्ट्रिय विमानस्थलतर्फ जान लागेका नेपालीहरूले बीबीसीलाई आफूहरू रोमाञ्चित भएको बताए।

नेपाल ल्याइन लागेका १ सय ८५ जना नागरिकमध्ये अधिकांश विश्वविद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरू रहेका छन्।

नेपाल फर्कनका लागि विमानस्थल जाने बसमा यात्रा गर्दै गर्दा वीच्याटमार्फत् कुराकानी गर्दै एकजना विद्यार्थी सलिमा कक्षपतीले भनिन्, "नेपाल सरकारले पहिलो पटक यसरी विशेष विमान नै पठाएर उद्धार गर्दैछ। त्यसको हिस्सा बन्न पाउँदा अलि अनौठो पनि लागिरहेको छ। हामीलाई खुसी र नेपालप्रति गर्व पनि लागिरहेको छ।"

कोरोनाभाइरस
तस्बिरको क्याप्शन, बसको पर्खाइमा नेपाली विद्यार्थीहरू

उनीसँगै नेपाल फर्कन लागेकी अर्की विद्यार्थी श्रद्धा श्रेष्ठले चाहिँ केही बैचैनी पनि महसुस गरेको बताइन्।

उनले भनिन्, "यहाँ अझै हाम्रो चेकजाँच हुनै बाँकी छ। केही भइहाल्ने पो हो कि भन्ने खालेको बेचैनी भइरहेको छ। नेपाल पुगेर पनि हामी क्वारन्टीनमा बस्नुपर्छ, परिवारसँग भेटघाट हुँदैन भनेर पनि कस्तोकस्तो लागिरहेको छ।"

हुबेमै विद्यावारिधिरत डा. गौरव पोखरेललाई नेपाल फर्कन पाउँदा निकै खुसी लागेको छ।

उनले भने, "अहिले यहाँ हिउँ परिरहेको छ। यस्तो मौसममा हामी कोरोनाभाइरस सङ्क्रमित क्षेत्रबाट आफ्नै देश फर्कन लागेका छौँ। त्यो भन्दा अर्को खुसी के नै हुन्छ र? हामी निकै रोमाञ्चित छौँ।"

अर्का नेपाली विद्यार्थी एवम् चिकित्सक अमीत श्रीवास्तवले पनि नेपाल फर्कन पाउँदा निकै उत्साहित बनेको बताए।

अब उडान मात्र बाँकी

चीनस्थित नेपाली दूतावासका अधिकारीहरूका अनुसार नेपालीहरूको उद्धारका लागि सबै प्रक्रियाहरू पूरा भइसकेको छ।

कोरोनाभाइरस
तस्बिरको क्याप्शन, बस चढ्ने तरखरमा नेपाली विद्यार्थीहरू

उनीहरूलाई विभिन्न सहरहरूबाट वुहानमा ल्याइसकिएको छ।

दूतावासका उप नियोग प्रमुख सुशील लम्सालका अनुसार चिनियाँ अधिकारीहरूसँगको समन्वयमा सम्पूर्ण कार्य पूरा गरिएको छ।

उनले शनिवार साँझ ६ बजेपछि नेपालीहरू विमानस्थलमा प्रवेश गर्ने जानकारी दिए।

नेपाल वायुसेवा निगमले शनिवार उद्धारका लागि चीन जाने जहाज आइतवार बिहान २:१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जनाएको छ।

चीनबाट ल्याइएका नेपालीहरूलाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा लगेर क्वारन्टीनमा राखिनेछ।