कोरोनाभाइरस सङ्क्रमण: वुहानबाट नेपालीलाई स्वदेश फिर्ता गर्न 'चीनले अझै अनुमति दिएन'

कोरोनाभाइरस सङ्क्रमण रोक्न चिनियाँ सतर्कता
Published
पढ्ने समय: २ मिनेट

कोरोनाभाइरस सङ्क्रमणको केन्द्रबिन्दुमा रहेको चीनको वुहान र नजिकैका नगरमा अड्किएका झन्डै १०० जना नेपालीलाई सुरक्षित रूपमा नेपाल फर्काउने पहल गरिए पनि चिनियाँ अनुरोधमा उनीहरूलाई त्यहीँ रोकिएको बेइजिङस्थित नेपाली राजदूतावासले जनाएको छ।

दूतावासका नियोग उपप्रमुख सुशीलकुमार लम्सालका अनुसार हुबे प्रान्तका वुहान र अन्य नगरमा रहेका नेपालीहरूलाई कोरोनाभाइरसको सङ्क्रमण फैलिन थालेलगत्तै स्वदेश फिर्ता गर्न पहल गरिएको थियो।

तर चिनियाँ परराष्ट्र मन्त्रालयले सङ्क्रमण फैलिन नदिन सबै देशका नागरिकलाई आफ्नो नगर नछोड्न अनुरोध गरेकोले वुहान र वरपर रहेका नेपाली नागरिकलाई नेपाल फर्काउने प्रयास अहिलेलाई स्थगित गरिएको लम्सालले बीबीसी न्यूज नेपालीलाई बताए।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

तर छिमेकी देश भारतको विदेश मन्त्रालयका प्रवक्ताले हुबे प्रान्तबाट आफ्ना नागरिकलाई अन्यत्र लैजाने प्रक्रिया सुरु गरिएको बताएको छ।

वुहानको एउटा माछा बजारबाट कोरोनाभाइरस फैलिन थालेको आशङ्का गरिएपछि त्यो नगरमा सबै यातायात बन्द गरिएको छ। हुबे प्रान्तका वरपरका अन्य नगरमा पनि यातायात सेवा बन्द गरिएको छ।

दूतावासको अग्रसरता

लम्सालका अनुसार नेपाल सरकारले वुहान र वरपरका क्षेत्रबाट आफ्ना नागरिक फिर्ता लैजान अग्रसरता देखाएको छ।

"हामी आवश्यकताअनुसार सबै कदम चाल्न तयार छौँ। तर यो विशिष्ट परिस्थिति भएकोले चीनले अहिलेसम्म अनुमति दिएको छैन," उनले भने।

त्रिभुवन विमानस्थलमा उच्च सतर्कता
तस्बिरको क्याप्शन, भाइरसको सङ्क्रमण नेपालमा पनि फैलिने त्रास बढेपछि त्रिभुवन विमानस्थलमा उच्च सतर्कता अपनाइएको छ।

नेपालका राजदूतले पनि सङ्क्रमण थप फैलिन नदिन आफ्ना नागरिकलाई फिर्ता लैजान हतार नगर्ने प्रतिबद्धता चिनियाँ परराष्ट्र मन्त्रालयसमक्ष गरिसकेको उनले बताए।

नेपाली दूतावासका नियोग उपप्रमुख लम्सालका अनुसार चीनमा अहिले झन्डै ८,००० नेपाली छन्।

चिनियाँ अधिकारीहरूले कोरोनाभाइरसका कारण १०६ जनाको मृत्यु र मङ्गलवारसम्म ४,५०० भन्दा बढी व्यक्तिमा कोरोनोभाइरस सङ्क्रमण भएको पुष्टि गरेका छन्।

हुबेका केही सहरमा यात्रा गर्न प्रतिबन्ध लगाइएको छ भने सार्वजनिक स्थलमा अनिवार्य रूपमा मास्क लगाउनुपर्ने नियम लागु गरिएको छ। अहिले वुहान तथा हुबे प्रान्तका अधिकांश स्थान सुनसान देखिन्छन्।

भाइरसको सङ्क्रमण नेपालमा पनि फैलिने त्रास बढेपछि त्रिभुवन विमानस्थलमा उच्च सतर्कता अपनाइएको छ।

नेपालीको शव अझै वुहानमा

वुहानमा सङ्क्रमण फैलिएर यातायात सेबा बन्द भएपछि त्यहाँ गत हप्ता हृदयाघातका कारण मृत्यु भएका एक नेपालीको शव नेपाल ल्याउने पहल अझै सफल हुन नसकेको दूतावासको भनाइ छ।

हुबेका नेपालीको अवस्थाप्रति चिन्ता व्यक्त भइरहँदा उनले उनीहरूलाई आवश्यक सबै सहयोग र परामर्श दिनका लागि नेपाली दूतावासले सक्रियतापूर्वक काम गरिरहेको बताए।

उनले भने, "अहिले चिन्ता लिनुपर्ने अवस्था केही छैन। नेपालीहरू सबै सुरक्षित हुनुहुन्छ। चीन सरकारले अनुमति दिनेबित्तिकै उहाँहरूलाई सबैभन्दा पहिले उद्धार गर्ने हामी नै हुनेछौँ।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोनाभाइरस फैलिएको हुबे प्रान्त सुनसान देखिन्छ