प्रख्यात भिडिओ सम्पादन सफ्टवेअर एडोबी प्रिमियर प्रोमा नेपाली फोटोपत्रकार स्कन्द गौतमको तस्बिर

स्कन्द गौतम
Published

प्रख्यात अमेरिकी सफ्टवेअर निर्माता एडोबीको भिडिओ सम्पादन गर्ने प्रिमियर प्रोको नयाँ भर्सन चलाउनु भयो भने सुरुमा जुन तस्बिर देख्नुहुन्छ त्यो तस्बिर एक नेपालीले खिचेको हो।

फोटोपत्रकार स्कन्द गौतमले खिचेको सो तस्बिरलाई एडोबीले चार हजार अमेरिकी डलर (चार लाख ५२ हजार रुपैयाँ) तिरेर किनेको हो।

सन् २०१७ तिर भक्तपुरको सल्लाधारीमा बिस्केत जात्राका मेलामा 'मौतका कुवा' भनिने प्रदर्शनमा ठाडो भित्तामा मोटरसाइकल फनफनी घुमाएको तस्बिर एडोबीको प्रिमियर प्रो सफ्टवेअरमा प्रयोग गरिएको छ।

सन् २०१९ को नोभेम्बरमा आएको प्रिमियर प्रोमा सो तस्बिर देख्न सकिने गौतम बताउँछन्।

गौतमका अनुसार उक्त तस्बिर प्रयोग गर्न एडोबीले गत वर्षको जुलाईमा सम्पर्क गरेको थियो।

'अचम्म परेँ'

आफूले करिब दुई वर्ष अघि खिचेको फोटो प्रयोग गर्नका लागि एडोबीले सम्पर्क गर्दा सुरुमा पत्यार नलागेको गौतम बताउँछन्।

"यो मेरा लागि अप्रत्याशित थियो," उनी सम्झन्छन्।

फोटो एडोबी

तस्बिर प्रकाशनमा आएपछि आफ्ना अग्रजहरूले समेत बधाई दिन थालेपछि चाहिँ राम्रै काम गरिएछ भन्ने लागेको उनी बताउँछन्।

"अहिले मलाई कहीँ चिनाउनु पर्दा एडोबीले फोटो लिएको पत्रकार भनेर चिनाउँछन्," उनले थपे।

यसरी खिचिएको थियो तस्बिर

सल्लाधारीमा भएको मेलाको तस्बिर कैद गर्न पुगेका गौतमको कानमा तीव्र गतिमा गुडेको मोटरसाइकलको ध्वनि ठोक्कियो।

मोटरसाइकल फनफनी नचाइने सर्कस उनका लागि अनौठो थियो।

"यो तस्बिर त खिच्नै पर्छ भन्ने सोच आयो," गौतमले भने।

"सुरुमा माथिबाट फोटो लिएँ तर त्यो त्यति राम्रो लागेन। कुवा भित्रै गएर खिच्न खतरा थियो।"

"सर्कसका सदस्यहरूले पनि त्यस्तो गर्न दिएनन्। तर मैले हार मानिनँ। आफूलाई केही नहुने प्रत्याभूति दिलाएर भित्र पसेँ र तस्बिर कैद गर्न थालेँ।"

गौतमका अनुसार उनले ८०० तस्बिर लिएका थिए। तीव्र गतिमा कुदेको मोटरसाइकलको तस्बिर लिन सहज थिएन।

"धेरै कुरा मिलाउनु पर्ने हुन्थ्यो," उनले भने।

"त्यसमध्ये मन परेका केही तस्बिर सृजनात्मक कार्यमा लाग्नेहरूले प्रयोग गर्ने साइटमा हालेको थिए।"

"एडोबीले त्यो तस्बिर उक्त साइटमा देखेको हुनुपर्छ।"

फोटो पत्रकार स्कन्द गौतम

'सहज भएन'

तस्बिर छाप्ने कुरामा दुवै पक्ष सहमत भए। सहमति अनुरूप एउटा सम्झौता पनि भयो र अगस्ट महिनामा रकम पनि प्राप्त गरे।

तर तस्बिरमा देखिएका युवाको समेत सहमति चाहिने कुरा एडोबीबाट आएपछि भने समस्या उत्पन्न भयो।

यस्ता किसिमका सर्कस देखाउने कुरामा प्राय: भारतीय वा सीमावर्ती क्षेत्रका नेपाली हुने हुँदा र उनीहरूको सम्पर्क नहुँदा सास्ती खेप्नुपरेको गौतम बताउँछन्।

"धेरै घोत्लिए पछि ती युवासँग फोटो खिचे पछि कुरा भएको याद आयो। उनीसँग त्यसपछि फेसबुकमा कुरा भएको थियो। मैले मेसेन्जरमा तस्बिर पठाएको थिए," तस्बिरमा देखिएका भारतीय युवा बब्लुबारे उनले भने।

फेसबुकमा फेला परे पनि भारतमा बस्ने र सामाजिक सञ्जाल प्रयोग गर्ने हुँदा उनीसँग कुरा हुन सकेन।

"मैले उनलाई मेसेन्जरमा सन्देश पठाएको थिए। चार दिन पछि त्यसको जवाफ आयो,"गौतमले भने।

"तर जवाफ भने सोचे जस्तो थिएन। आफूले यस्तो कुरा नबुझ्ने र मिलाएर गर्नु भन्ने आशयको सन्देश थियो।"

एडोबी

त्यसपछि गौतमले त्यो सन्देश एडोबीका अधिकारीहरूलाई सुनाइदिए। तस्बिर प्रयोग नहुने पो हो कि भन्ने पनि उनलाई महसुस भयो।

तर विषयवस्तु बुझे पछि एडोबीले बब्लुको मन्जुरी लिएको हिसाबले गौतमबाटै अर्को सम्झौता गर्‍यो।

पत्रिकामा स्थान पाएको थिएन

फोटोपत्रकारका रूपमा गौतमको यात्रा सन् २०१३ मा सुरु भएको हो।

करिब तीन महिना द काठमाण्डू पोस्टमा प्रशिक्षार्थीका रूपमा काम गरेका गौतम सन् २०१४ बाट दि हिमालयन टाइम्समा आबद्ध भए।

आफूले खिचेका तस्बिर पत्रिकामा प्रकाशन गर्नका लागि भनेर छुट्टाए। तर त्यो तस्बिरले पत्रिकामा भने स्थान पाएन।

दि हिमालयन टाइम्सकै वेबसाइटमा भने तस्बिर प्रकाशित भएको जस्तो गौतमलाई लाग्छ।

ठ्याक्कै यकिन भने हुन नसकेको उनी बताउँछन्।

"पत्रिकामा तस्बिर छाप्न धेरै कुरा मिल्नु पर्छ। स्थानदेखि तस्बिरको सान्दर्भिकता जस्ता कुरा हेर्नुपर्ने हुन्छ।"

"त्यसैले होला तस्बिर पत्रिकामा प्रकाशन भएको थिएन," गौतमले भने।