रेस्टुराँमा खान आउने ग्राहकलाई रोबट बिरालोको म्याउँम्याउँ

बेलाबटले रेस्टुराँमा ग्राहकलाई खाना लगिदिन्छ
तस्बिरको क्याप्शन, बेलाबटले रेस्टुराँमा ग्राहकलाई खाना लगिदिन्छ
Published

अमेरिकाको लास भेगसमा आयोजित सीईएस प्रविधिमेलामा रेस्टुराँमा आउने ग्राहकलाई टेबलसम्म खाना लगिदिन बनाइएको रोबट बिरालो प्रदर्शनीमा राखिएको छ।

'बेलाबट' नामकरण गरिएको उक्त रोबट चिनियाँ कम्पनी पुडुटेकले बनाएको हो। उसले बनाएका अन्य अचम्मलाग्दा रोबट पनि उक्त मेला प्रदर्शन गरिनेछन्।

यूबीटेकद्वारा निर्मित योगासन गर्न सक्ने वोकर नामक रोबट पनि प्रदर्शनीमा छ। चार्मिनले विकसित गरेको रोलबटले शौचालयमा ट्वाइलेट पेपरको रोल खोलिदिन्छ।

एक विशेषज्ञका अनुसार भविष्यमा सीईएसमा प्रदर्शित रोबटहरू भविष्यमा झन् अचम्मलाग्दा हुन सक्नेछन्।

विशेषता

ग्राहकको टेबलमा खानाको आदेश कुरेर बस्ने बेलाबट बिरालोको छुट्टै 'व्यक्तित्व' छ।

एउटा पुरानो ढाँचालाई अझ परिष्कृत गरेर बेलाबट बनाइएको हो। यसको स्क्रीनमा बिरालोको अनुहार भएको एनिमेशन देखिन्छ।

बेलाबटमा चारवटा तखता छन् र प्रत्येक तखताले १० किलो खाना थेग्न सक्छ
तस्बिरको क्याप्शन, बेलाबटमा चारवटा तखता छन् र प्रत्येक तखताले १० किलो खाना थेग्न सक्छ

ग्राहकसँग खानाको आदेश लिनुअघि ऊ टेबलनजिकै गएर म्याउँम्याउँ गर्छ। ग्राहकले कान मुसारिदिँदा प्रसन्नता व्यक्त गर्दै "कति न्यानो हात" भन्छ।

तर ग्राहकले धेरै बेर कान समाते भने ऊ रिसाउँछ।

"रिसाउँदै उसले आफ्नो काममा बाधा नपुर्‍याउन तपाईँलाई भन्छ," पुडुटेक भन्छ।

धेरै बेर कान समाते बेलाबट रिसाउँछ
तस्बिरको क्याप्शन, धेरै बेर कान समाते बेलाबट रिसाउँछ

पुडुटेकले चीनका रेस्टुराँहरूलाई उक्त उपकरण बेच्ने उद्देश्य राखेको छ। चीनमा रेस्टुराँलाई खानाको आदेश लिने कर्मचारी पाउन गाह्रो हुने गरेको छ।

पुडुटेकले निर्माण गरेका अरू रोबट अहिले विश्वभरि २,००० वटा रेस्टुराँले प्रयोग गरेका छन्।

मङ्गलवार सबैका लागि खुल्ने सीईएस प्रदर्शनीमा विशेष रूपमा डिजाइन गरिएको एउटा रेस्टुराँमा उक्त रोबट बिरालो राखिएको छ।

तर वास्तविक परिस्थितिमा बेलाबटलाई काम गर्न त्यति सहज नहुने धारणा प्रविधिविज्ञ पाउलो पेस्कटोरको छ।

उनका अनुसार व्यस्त समयमा भिडभाड भएको रेस्टुराँमा रोबटलाई दिशा पहिल्याउन गाह्रो पर्न सक्छ।

भविष्य

स्वचालित प्रविधिको प्रयोग कुनै न कुनै रूपमा बढिरहेको पेस्टकोर बताउँछन्।

यूबीटेकले अझ परिमार्जन गरेको 'वोकर' बट पनि प्रदर्शनीमा हुनेछ।

त्यसले योगाभ्यास र परम्परागत चिनियाँ मार्शल आर्ट ताई चीका अनेक आसन गर्न सक्छ।

वोकर नाम दिइएको यो रोबटले योगासन गर्न सक्छ
तस्बिरको क्याप्शन, वोकर नाम दिइएको यो रोबटले योगासन गर्न सक्छ

त्यसले ठेला धकेल्न, चित्र कोर्न र भाँडोमा तरल पदार्थ खन्याउन सक्छ।

हार्डवेअर र सफ्टवेअर दुवैको क्षमता बढेकाले रोबटहरू बिस्तारै उच्च क्षमताका हुने र मान्छेले जसरी नै काम गर्न सक्ने बन्ने अपेक्षा पेस्टकोरको छ।

उपभोक्तासँग व्यवहार गर्नुपर्ने र व्यापारिक प्रतिस्पर्धा हुने स्थानमा अनौठा रोबटले विशेष प्रभाव पार्न सक्ने उनी बताउँछन्।

"यो तीव्र रूपमा विकसित एउटा चलन हो," उनी भन्छन्, "भविष्यमा अझ धेरै अनौठा रोबट आउनेछन्।"

चार्मिनले बनाएको यो रोबटको नाम रोलबट राखिएको छ
तस्बिरको क्याप्शन, चार्मिनले बनाएको यो रोबटको नाम रोलबट राखिएको छ
रोलबटले शौचालयमा ट्वाइलेट पेपर खोलिदिन्छ
तस्बिरको क्याप्शन, रोलबटले शौचालयमा ट्वाइलेट पेपर खोलिदिन्छ