प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपेन्डिसाइटिस, शल्यक्रियापछि उच्च निगरानीमा

ओली
Published
पढ्ने समय: १ मिनेट

प्रधानमन्त्री केपी शर्मा ओलीको महाराजगन्जस्थित शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा अपेन्डिसाइटिसको शल्यक्रिया गरिएको छ।

अहिले प्रधानमन्त्रीको स्वास्थ्यस्थिति स्थिर रहेको र उनलाई उच्च निगरानीमा राखिएको चिकित्सकहरूले बताएका छन्।

बिहान पेट दुखेपछि प्रधानमन्त्री ओलीलाई अस्पताल लगिएको थियो। उनी ९:०० बजेतिर स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका थिए।

सेन्टरका कार्यकारी निर्देशक उत्तमकृष्ण श्रेष्ठका अनुसार विज्ञ चिकित्सकहरू सम्मिलित टोलीले परीक्षण गर्दा ओलीलाई अपेन्डिसाइटिससहित पेरिटोनाइटिस अर्थात् पेटको सङ्क्रमण भएको पत्ता लागेको थियो।

प्रा. डा. श्रेष्ठले जारी गरेको विज्ञप्तिमा ल्यापरोटमी अपेन्डेक्टमी आदि विधिबाट प्रधानमन्त्रीको उपचार गरिएको उल्लेख छ।

"(प्रधानमन्त्री ओलीलाई) हाल सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको छ," श्रेष्ठको हस्ताक्षर भएको विज्ञप्तिमा उल्लेख छ।

यसअघि प्रधानमन्त्रीलाई हेरेका प्रा. डा. अरुण सायमी र प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ओलीलाई अपेन्डिसाइटिस भएको पुष्टि गरेका थिए।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

Presentational white space

झन्डै १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएका प्रम ओली अहिले फेरि मिर्गौलाको समस्याबाट पीडित छन्।

हालै उनको केही पटक हेमोडायालिसिस गरिएको थियो।

अस्पतालमा दुई दिन बसेर अक्टोबर ३१ मा आफ्नो निवास फर्कँदै प्रधानमन्त्री ओली
तस्बिरको क्याप्शन, अस्पतालमा दुई दिन बसेर अक्टोबर ३१ मा आफ्नो निवास फर्कँदै प्रधानमन्त्री ओली

अपेन्डिसाइटिसको समस्या त्यति जटिल नभए पनि ओलीको स्वास्थ्यमा विद्यमान अन्य समस्याका कारण अस्पताल भर्ना भएपछि विज्ञ चिकित्सकहरूसँग परामर्श गरिएको बताइन्छ।

स्वास्थ्यमा समस्या भए पनि ओली सार्वजनिक कार्यक्रममा सहभागी हुन छोडेका छैनन्।

मङ्गलवार अपराह्न प्रधानमन्त्री ओलीले दक्षिण एशियाली खेलकुद सागमा भाग लिने नेपाली खेलाडीहरूलाई भेट्ने कार्यक्रम रहेको थियो।

मानिसको आमाशयमा आन्द्रानजिकै हुने अपेन्डिक्स भनिने तन्तुको सुजनलाई अपेन्डिसाइटिस भनिन्छ।

अपेन्डिसाइटिस हुँदा ब्याक्टेरियाको सङ्क्रमण तथा आन्द्रामा अवरोध पुग्दा बिरामी व्यक्तिलाई पेट दुख्ने र गम्भीर समस्या हुन सक्ने चिकित्सकहरू बताउँछन्।

अपन्डिसाइटिस हुँदा समयमै शल्यक्रियामार्फत् अपेन्डिक्स निकालेर उपचार गरिन्छ।