श्रीलङ्का चुनाव: आतङ्कवादी हमलाको सात महिनापछि नयाँ राष्ट्रपतिको चुनाव सम्पन्न

श्रीलङ्का
Published

श्रीलङ्कामा २५० जनाभन्दा बढी मानिसको मृत्यु भएको आतङ्कवादी हमलाको सात महिनापछि शनिवार नयाँ राष्ट्रपति चयनका लागि भएको निर्वाचन सकिएको छ।

अहिलेसम्मकै सबैभन्दा धेरै ३५ जना उम्मेदवारहरू रहेको चुनाव सन् २००९ मा दशकौँ लामो गृहयुद्ध अन्त्य भएपछिको तेस्रो निर्वाचन हो।

प्रतिस्पर्धामा वर्तमान राष्ट्रपति मैत्रीपाल सिरिसेना भने सहभागी थिएनन्।

इसाई धर्मको इस्टर पर्वका बेला भएका हमलापछि सिरिसेनाको तीव्र आलोचना भएको थियो जसका कारण उनले यो चुनावमा उठेनन्।

इस्लामिक स्टेट समूहसँग सम्बद्ध व्यक्तिहरूले श्रीलङ्काका गिर्जाघर र होटलहरूमा शृङ्खलाबद्ध विस्फोटन गराउँदा कम्तीमा २५३ व्यक्तिको मृत्यु भएको अधिकारीहरूले बताएका थिए।

सरकारले त्यो घटना हुनुमा गुप्तचरी कमजोर रहेको समेत स्वीकारेको थियो।

भारतीय गुप्तचर निकायबाट हमलाका योजनाबारे सूचनाहरू आएपनि सम्बन्धित अधिकारीहरूले त्यसलाई गम्भीर रूपमा नलिएको त्यहाँका रक्षामन्त्रीले बताएका थिए।

नयाँ राष्ट्रपति को हुनसक्छ?

धेरै उम्मेदवारहरू भएकाले सबैको नाम समेट्न मतपत्र दुईपटक पट्याउनुपर्ने लामो छ।

तर यस निर्वाचनमा स्पष्टरूपमा दुईजना अग्रणी उम्मेदवारहरू छन्।

गोटाबाया राजापाक्ष र सजिथ प्रेमादसा श्रीलङ्का निर्वाचनमा अग्रणी उमेद्दवारका रूपमा छन्।
तस्बिरको क्याप्शन, गोटाबाया राजापाक्ष र सजिथ प्रेमादसा श्रीलङ्का निर्वाचनमा अग्रणी उमेद्दवारका रूपमा छन्।

तीमध्ये एकजना दाजु महिन्दा राजापाक्षको कार्यकालमा एकदशक रक्षामन्त्री हुँदा मानवअधिकार हननको आरोपहरू खेपेका गोटाबाया राजापाक्ष हुन्।

उनीमाथि सन् २००५ देखि १० वर्ष शक्तिमा रहँदा हजारौँ मानिसहरू बेपत्ता पारिएको आरोप लाग्ने गरेको छ।

तर गृहयुद्ध अन्त्य गर्नमा आफ्नो योगदान रहेको भन्ने उनको इस्टर हमलापछि आत्मबल उच्च छ।

अर्का अग्रणी प्रतिस्पर्धी सजिथ प्रेमादसाले चुनावी अभियानमा आफूले जितेमा तमिल टाइगर्सहरूलाई हराउने सेनाप्रमुख शरथ फोन्सेकालाई सुरक्षा प्रमुख बनाउने बताएका छन्।

श्रीलङ्का
तस्बिरको क्याप्शन, श्रीलङ्कामा एक करोड ६० लाखभन्दा धैरे मतदाता छन्

यद्यपि प्रेमादसाले सामाजिक मुद्दाका रूपमा गरिबी निवारण र गुणस्तरीय घर निर्माणका निरन्तर उठाउँदै आएका छन्।

हालका बसोबासमन्त्री उनी सन् १९९३ मा तमिल टाइगर्सबाट मारिएका तत्कालीन राष्ट्रपति रनासिङ्घे प्रेमादसाका छोरा हुन्।

वर्तमान राष्ट्रपति किन उठेनन्?

मैत्रीपाल सिरिसेनाले एउटा अपत्यारिलो जितमार्फत् महिन्द्रा राजापाक्षलाई सन् २०१५ मा शक्तिबाट हटाइदिएका थिए।

तर उनले कुनै कारण नखुलाइ दोस्रोपटक उम्मेदवारी नदिने निर्णय गरे।

चुनावी प्रतिस्पर्धामा वर्तमान राष्ट्रपति मैत्रीपाल सिरिसेना सहभागि छैनन्।
तस्बिरको क्याप्शन, चुनावी प्रतिस्पर्धामा वर्तमान राष्ट्रपति मैत्रीपाल सिरिसेना सहभागी छैनन्

उनी श्रीलङ्कालीमाझ बढ्दो रूपमा अलोकप्रिय भइरहेका छन्।

इस्टर घटनामा गुप्तचरका सूचना बेवास्ता गर्नुदेखि लिएर संवैधानिक सङ्कट सिर्जना हुनेगरी आफ्नै प्रधानमन्त्रीलाई पदबाट हटाउने कामले उनको लोकप्रियता खस्काएको छ।

मुख्य मुद्दा: राष्ट्रिय सुरक्षा

अहिले श्रीलङ्कामा राष्ट्रिय सुरक्षा सबैभन्दा ठूलो मुद्दा छ।

तर अल्पसङ्ख्यको समानताको मुद्दा र बेरोजगारीको बिषयले समेत मतदाताको मनसायमा असर पार्नेछ।

अन्तर्राष्ट्रिय मुद्दामा राजापाक्षले श्रीलङ्कालाई सबैभन्दा बढी आर्थिक सहयोग गर्ने चीनसँग सम्बन्ध सुधार्ने कुरा गरेका छन्।

तर शक्तिराष्ट्र चीनसँग बढेको ऋणको भार उच्च भइरहँदा त्यसलाई कतिपयले विवादित रूपमा हेर्नेगरेका छन्।

प्रेमादसाले भने भने भारत र अमेरिकासँग थप सम्बन्ध विस्तारका कुरा उठाएका छन्।

चुनावी प्रक्रिया

निर्वाचन एक चरणको मात्र हुनेछ। तर मतदाताले आफ्नो प्राथमिकताका आधारमा तीन जनालाई मत हाल्न पाउनेछन्।

अहिले श्रीलङ्कामा राष्ट्रिय सुरक्षा सबैभन्दा ठूलो मुद्दा छ।
तस्बिरको क्याप्शन, अहिले श्रीलङ्कामा राष्ट्रिय सुरक्षा सबैभन्दा ठूलो मुद्दा छ

यदि कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत पाएनन् भने शीर्ष स्थानका दुई उम्मेदवारमध्ये मतदाताले दोस्रो प्राथमिकतामा हालेको मतको आधारमा विजेता घोषणा गरिनेछ।

कुनै एक जनाले पचास प्रतिशत मत ल्याएमा चुनावको नतिजा आइतवार आउने अपेक्षा गरिएको छ।

दोस्रो विकल्पमा गएमा सोमवारसम्ममा चुनावी नतिजा बताइएको छ।

श्रीलङ्काबारे जान्नैपर्ने कुरा

  • श्रीलङ्कामा सन् २००९ मा गृहयुद्ध समाप्त भएपछि सन् २०१९ को एप्रिलको इस्टर बम हमला सबैभन्दा ठूलो हिंसक घटना हो।
  • बौद्ध र मुस्लिम समुदायबीच हिंसा चर्किँदा सन् २०१८ मार्चमा त्यहाँ राष्ट्रिय सङ्कटकाल घोषणा भएको थियो।
  • अल्पसङ्ख्यक तमिलहरूका लागि छुट्टै राज्य माग गर्दै २६ वर्ष युद्ध गरेको तमिल टाइगर्सलाई सन् २००९ मा सरकारी फौजले हराएपछि त्यहाँको गृहयुद्ध सकिएको थियो।
Map of Sri Lanka
  • उक्त गृहयुद्धमा ७० देखि ८० हजार मानिसहरू मारिएको ठानिन्छ।
  • श्रीलङ्काको मुख्य धर्म थेरवादी बौद्ध हो।
  • पछिल्लो जनगणनाका अनुसार उक्त धर्म मान्नेहरू ७०.२ प्रतिशत छन्।
  • बहुसङ्ख्यक सिंहला समुदायले बौद्ध धर्म मान्छ। देशको कानुनमा पनि उनीहरूलाई प्राथमिकता दिइएको छ र संविधानमा पनि विशेषाधिकार दिइएको छ।
  • श्रीलङ्कामा १२.६ प्रतिशत हिन्दू र ९.७ प्रतिशत मुस्लिम जनसङ्ख्या रहेको छ।
  • सन् २०१२ को जनगणना अनुसार त्यहाँ करिब १५ लाख इसाईहरू रहेका छन्। त्यसमध्ये अधिकांश रोमन क्याथोलिक सम्प्रदायका हुन्।