'करुणाभावले तपाईँको आयु लामो बन्न सक्छ'

करूणा
    • Author, लरेन टर्नर
    • Role, बीबीसी न्यूज, वासिङ्टन
  • Published

करुणाभावले तपाईँलाई के फरक पार्छ? त्यसले तपाईँको अनुहारमा चमक ल्याउँछ वा आनन्दित महसुस गराउँछ?

त्यो ठीक होला। तर वैज्ञानिक एवं प्राज्ञिक क्षेत्रका मानिसहरूले करुणाभावले तपाईँको आयु नै लम्ब्याउन सक्ने आफ्नो एउटा अध्ययनमार्फत् बताएका छन्।

अमेरिकाको लस एन्जलसस्थित बेडारी काइन्डनेस इन्स्टिच्युटका कर्मचारीहरूले उक्त अध्ययन गरेका थिए।

"हामीले वैज्ञानिक दृष्टिकोणबाट हेर्छौँ। हामीले सकारात्मक सामाजिक अन्तरसंवादका मनोविज्ञानबारे कुरा गरिरहेका छौँ," इन्स्टिच्युटका एकजना निर्देशक डानिअल फिस्लरले भने।

करूणा: किन महत्त्वपूर्ण?

करूणाबारेको यस कुरा पछिल्लो समय थुप्रै समाचारको शीर्षक बन्यो।

त्यो एकजना अग्रणी डेमोक्र्याट इलिज कम्मिङ्सको शोकसभामा अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाले गरेको मन्तव्यमा समेत समेटिएको थियो।

"बलियो मानिस हुनु भनेको उसमा करूणा समेत हुनु हो। करूणाभाव र सहानुभूतिको केही कमजोर पक्ष छैन," उनले भने।

"आत्मसम्मान बोकेर अरूलाई सम्मानसाथ व्यवहार गर्नु भनेको तपाईँ सोझो हुनु होइन।"

नोभेम्बर १३ का दिन विश्व करूणा दिवस मनाइरहँदा करूणाभाव भनेको के हो र यो किन महत्त्वपूर्ण छ भनेर चर्चा गरौँ।

विज्ञहरूले जाँच्न चाहेको पनि यही हो। र उनीहरू यसमा गम्भीर छन्।

उनीहरू ठान्छन्- यो जीवन र मरणकै विषय पनि बन्नसक्छ।

ओबामा

अध्ययन

डानिअल फिस्लरका अध्ययनहरूले मानिसहरू कसरी अरूले देखाउने करूणाभाव हेरेर दयालु बन्न सक्छन् भन्ने जाँचेको छ।

"मलाई लाग्छ अहिले हामी करूणा नभएको समयमा बाँचिरहेका छौँ," उनले भने।

"अमेरिकाभित्रै र विश्वभर मानिसहरूका बीचमा फरक राजनीतिक आस्था र क्षेत्रका आधारमा द्वन्द्व बढिरहेको देखिन्छ।"

उनका भनाइमा करूणा त्यस्तो विचार, सोच र आस्था हो जसले अरूलाई राम्रो गर्नेबारे सोच्छ।

"जहाँ अन्त्य भनेकै अरूको राम्रो गर्ने भन्ने हुन्छ।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, ममतामयी स्तनपान बेसहारालाई जीवनदान

जबकी निर्दयी हुनु भनेको 'असहिष्णु सोच र परोपकारलाई मूल्य नदिनु' मानिन्छ।

सामाजिक सञ्जालमा कसैप्रति एकोहोरो खनिने अवस्था झेलेका जो कोहीले यस कुराको अर्थ सजिलै बुझ्छन्।

डानिअल फिस्लर भन्छन्: "आधुनिक विश्वका लागि करूणा किन दुर्लभ भयो भनेर जान्नका लागि यो अध्ययन महत्त्वपूर्ण छ। यसले विज्ञान र आध्यात्मलाई जोड्ने काम समेत गर्नेछ।"

उनीहरूले गरिरहेका केही अध्ययनहरू यस्ता छन्:

  • करूणा मानिसहरूमाझ कसरी फैलाउने भन्ने मानवशास्त्रीय अध्ययन
  • निर्दयीहरूमा कसरी करूणाभाव भर्ने भन्ने समाजशास्त्रीय अध्ययन
  • करूणाभावले कसरी डिप्रेसनमा कमी ल्याउँदै मनलाई आनन्दित पार्छ भन्ने मनोवैज्ञानिक अध्ययन
डार्नेल हन्ट र डानिअल फिस्लर
तस्बिरको क्याप्शन, डार्नेल हन्ट र डानिअल फिस्लर

फिस्लर भन्छन्: "तपाईँको अनादर गर्ने, वैरभाव राख्ने मानिससँग बस्दा तपाईँको जीवन साँच्चिकै छोटो हुन जान्छ।"

"करूणाभावको आदानप्रदानले तपाईँमा तनाव कम हुन्छ।"

'करुणा: तपाईँसामु, सित्तैमा'

कोलम्बिया युनिभर्सिटीकी डाक्टर केली हार्डिङले यस कुरालाई आफ्नो पुस्तक 'द र्‍याबिट इफेक्ट'मा लेखेकी छन्।

उनी भन्छिन्: "करूणाले प्रतिरक्षा प्रणाली, रक्तचापजस्ता कुरामा सघाउँदै मानिसलाई दीर्घ र स्वस्थ्य भएर बाँच्न सघाउँछ। यो धेरै भयो भन्ने हुन्न र त्यो सित्तैमा पाइन्छ। त्यो तपाईँसामु नै छ।"

उनले सन् १९७० को दशकमा एकजना साह्रै मायालु अध्ययनकर्ताले निकै ख्याल गरेर पालेको खरायोले निकै राम्रो जीवनयापन गरेको थाहा पाएपछि आफ्नो किताबको नाम जुराएको बताएकी थिइन्।

एउटा चिकित्सकको रूपमा त्यस घटनाबाट आफू निकै प्रभावित भएको र त्यो 'आपत्कालीन सन्देश' संसारलाई सुनाउन आवश्यक रहेको उनले बताइन्।

"करूणाले तपाईँको जीवनमा धेरैकुरा फेरिदिन सक्छ र संसार बुझ्न समेत सघाउँछ।"

केली हार्डिङका अनुसार आफूमाथि भन्दा पनि अरूप्रति करूणा दर्शाउन प्राय: सजिलो हुनेगर्छ।
तस्बिरको क्याप्शन, केली हार्डिङका अनुसार आफूमाथि भन्दा पनि अरूप्रति करूणा दर्शाउन प्राय: सजिलो हुनेगर्छ।

उनका अनुसार आफूमाथि भन्दा पनि अरूप्रति करूणा दर्शाउन प्राय: सजिलो हुनेगर्छ।

Presentational grey line

करूणाभाव दर्शाउने उपायहरू

'करूणाविज्ञ' गब्रिला भान रिज भन्छन्:

  • पहिल्यै जवाफ दिनेगरि उत्तर तय गर्नुभन्दा साँच्चिकै अरूको कुरा सुन्नुस्
  • जवाफहरू दिँदा करूणा झल्कनेगरी प्रस्तुत हुनुहोस्। तपाईँप्रति कोही रूखो नै भएको छ भने पनि 'तपाईँको दिन कठिन भएजस्तो छ?' भन्नुभयो भने माहोल शान्त भइहाल्छ।
  • कुनै प्रक्रियामा बेवास्ता गरिएका मानिसहरूलाई महत्त्व दिनुस्। त्यसो गर्दा तपाईँले उनीहरूलाई सम्मान दिनुहुनेछ। बेवास्ता गरिनु, अस्वीकृत हुनु र माया नपाउनु भनेको अमानवीय स्थिति हो।
  • क्रिया/प्रतिक्रिया: मान्नुस कि यदि तपाईँ रूखो हुनुभयो भने त्यो तपाईँ होइन। त्यस्तो बेला लामो स्वास फेरेर एकछिन रोकिनुस्।
Presentational grey line

युनिभर्सिटी अफ क्यालिफोर्नियाका प्राध्यापक डार्नेल हन्ट भन्छन्: "जब मानिसहरू करूणा भरिएका व्यवहार देख्छन् उनीहरू त्यसलाई अनुसरण गर्न प्रेरित हुन्छन्। तर हामीले अझै यो कसरी काम गर्छ भन्ने बुझ्न खोजिरहेका छौँ।"

"यो वास्तविकतामै आधारित अध्ययन हो। हामीले यो मानिसहरूमा प्रयोग गर्दै नीति बनाउन र परिवर्तन ल्याउन प्रयोग गर्न चाहन्छौँ।"

र यो गर्न अहिले 'ऐतिहासिक रूपमा उपयुक्त समय' हो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, दाइलाई मिर्गौला दिने बहिनी