निर्मल पुर्जा: कसरी सुरु भयो साहसी आरोहण अभियान

निर्मल पुर्जा
    • Author, प्रदीप बस्याल
    • Role, बीबीसी नेपाली सेवा
  • Published
  • पढ्ने समय: ५ मिनेट

सात महिनामा आठ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल चढ्ने अभियान पूरा गरेको भोलिपल्ट काठमाण्डू विमानस्थलमा उत्रेका निर्मल पुर्जाले आफ्नो सफलतालाई 'कुनै दौड नभई मानव क्षमताको जाँच' भएको प्रतिक्रिया दिएका थिए।

उनको भनाइ थियो: "तपाईँले जीवनमा साँच्चिकै केही कुरा गर्न चाहनुहुन्छ र त्यसका लागि पूरा शतप्रतिशत दिनुहुन्छ, मन र मस्तिष्कबाट त्यस काममा लाग्नुहुन्छ भने त्यो सम्भव छ। यो अभियानको त्यो सन्देश पर्वतारोहण क्षेत्रमा मात्र नभएर सबै मानिसहरूको लागि हो।"

त्यसको एक दिनअघि भाइटीकाकै दिन ३६ वर्षे यी पूर्व ब्रिटिश सैनिकले तिब्बतमा पर्ने शिशापाङ्मा हिमालको सफल आरोहण गरेका थिए।

उचाइका हिसाबले ८ हजार मिटरमाथिका शिखरमध्ये शिशापाङ्मा सबैभन्दा होचो भएपनि उनको यो सफलतासँगै विश्वभर उनको साहसको चर्चा भयो।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

बधाई दिनेमध्ये कसैले उनको उक्त सफलतालाई 'साँच्चिकै लोभलाग्दो कीर्तिमान' भनेका थिए भने कसैले त्यससँगै 'पर्वतारोहणलाई अर्को तहमा पुर्‍याएको' भन्दै प्रशंसा गरे।

'प्रोजेक्ट पोसिबल' नाम दिइएको उनको कीर्तिमानी अभियान कति महत्त्वपूर्ण हो भनेर ठम्याउन उनले तोडेकै कीर्तिमान हेरे पुग्छ।

यसअघि त्यस्तो कीर्तिमान कायम गर्ने दक्षिण कोरियाका किम चाङ्-होले १४-हिमालका आरोहण सक्न सात वर्ष १० महिना ६ दिन लगाएका थिए।

आफ्नै परीक्षा

म्याग्दीमा जन्मिएका यी कीर्तिमानी आरोहीको हिमालसँगको साइनो धेरै पुरानो होइन। सन् २०१२ को डिसेम्बरबाट मात्र ‍निर्मल पुर्जाले हिमाल चढ्न सुरु गरेका हुन्।

सन् २०१७ मा सगरमाथा-लोत्से र मकालु पाँच दिनभित्र चढेपछि उनको नाममा विश्व कीर्तिमान बनेको थियो।

तर त्यतिखेर ब्रिटिश सेनामा काम गर्ने उनी दुई दिनभित्र काममा फर्कंनुपर्ने तालिका थियो।

"त्यसबेला मौसमको खराबीले मकालु आधार शिविरमा हेलिकप्टर आइदिएन। र, ६ दिन लाग्ने बाटो दगुरेर १८ घण्टामा तल तुम्लिङ्टार आइपुगेँ," पुर्जाले बीबीसीसँग भने।

"त्यसो गर्दा पनि म शारीरिक रूपमा ठीकै थिएँ। त्यसबेला मलाई मेरो क्षमता योभन्दा अझ बढी छ भन्ने लाग्यो र त्यसरी सात महिनामा १४ वटा आठ हजार मिटरका हिमाल चढ्ने योजना बन्यो।"

निर्मल पुर्जा

उनले सुरुमा ८० दिनभित्र अग्ला पाँच हिमाल चढ्ने सोचेका थिए।

जुन ब्रिटिश सेनामा रहेर गर्न असम्भव हुने थाहा पाएपछि उनले एक वर्षअघि जागिरबाट राजीनामा दिएका हुन्।

तर महत्त्वाकांक्षी यस योजनामा आर्थिक सहयोग जुटाउन उनले निकै सास्ती खेपे जसक्रममा आफ्नै घर समेत बेचेको उनले बताए।

जब उनले आफ्नो योजना अरूलाई सुनाए पर्वतारोहण क्षेत्रकै मानिसहरूले पनि कसैले 'असम्भव' भनिदिन्थे त कसैले 'हाँसेर टारिदिन्थे'।

हुन त त्यस्तो योजना सम्भव होला भन्ने कल्पना केही महिना अघिसम्म पुर्जा स्वयंलाई पनि थिएन।

"तर जब मैले चढ्छु भने, अरू सबैले जे सोचे पनि ममा यो सम्भव छ र मैले सक्छु भन्नेमा म विश्वस्त थिएँ।"

उनले आफ्ना साथी मिङ्मा डेभिड शेर्पालाई आफ्नो योजना सुनाए। दुवैलाई यो गर्न सकिन्छ भन्ने विश्वास भएपछि उनीहरू सहयोगी शेर्पाहरूसँगको टिम बनाउन लागे।

निर्मल पुर्जासँगको आरोहणकै दौरान मिङ्मा डेभिडले आठ हजार मिटर माथिका ९ वटा थप हिमाल चढेर १४ वटै हिमाल पूरा गरेका छन्।
तस्बिरको क्याप्शन, निर्मल पुर्जासँगको आरोहण अभियानकै बेला मिङ्मा डेभिडले समेत ८ हजार मिटर माथिका ८ वटा थप हिमाल चढेर १४ वटै हिमाल आरोहण पूरा गरेका छन्। उनले ६ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल पहिले नै चढिसकेका थिए।

मिङ्मा डेभिडले बीबीसीसँग भने: "हामीले सुरुदेखि नै निकै उत्साही र आत्मबल भएका शेर्पाहरूको टिम बनायौँ। सके चढ्ने होइन कि चढेरै छाड्ने भन्ने आत्मबल टोलीमा रहेका हामी सबैसँग थियो।"

यस आरोहणकै दौरान मिङ्माले आठ हजार मिटर माथिका ८ वटा थप हिमाल चढेर १४ वटै हिमाल पूरा गरेका छन्। उनले ६ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल पहिले नै चढिसकेका थिए।

नेपालबाट पाँच आरोहीले १४ वटै आठ हजार मिटर माथिका हिमाल चढेकोमा ३० वर्षे मिङ्मा त्यो पूरा गर्ने कान्छा आरोही हुन्।

शक्ति

सात महिनाभित्र सक्ने लक्ष्य राखिएको पुर्जाको यो अभियान ६ महिना ६ दिनमा पूरा भयो।

यो वर्ष शिशापाङ्मा आरोहणमा रोक लगाएको चीन सरकारले नेपाल सरकारको आग्रहमा पुर्जाको आरोहण दलका लागि मात्र सो हिमाल खुला गरेको थियो।

जसको प्रक्रिया र पहलका लागि केही समय नलागेको भए अझै केही दिन वा साता अगाडि १४ वटा हिमाल चढिसकिने पुर्जाको विश्वास थियो।

पुर्जाले बनाएका कीर्तिमान र उनको रफ्तार देखेर धेरैले उनलाई सोध्ने गर्छन्: त्यस्तो शक्ति कहाँबाट आउँछ?

निर्मल पुर्जा

यसको लागि पुर्जाको व्यावसायिक जीवनमा केही पछाडि फर्कनुपर्छ।

ब्रिटिश सेनामा बिताएका १६ वर्षमध्ये पछिल्लो १० वर्ष निर्मल पुर्जाले युके स्पेशल फोर्सेस (यूकेएसएफ)मा काम गरेका थिए।

जसक्रममा उनले चरम चिसो अवस्थामा गरिने युद्धको प्रशिक्षकदेखि लिएर स्पेशल बोट सर्भिसमा काम गरेका छन्।

उनले सुनाए: "यूकेएसएफमा काम गर्ने सपना ब्रिटिश सेनाभित्रका सबै एकसेएक आर्मीहरूले देख्छन्। तर कडा प्रतिस्पर्धा हुने त्यस परीक्षा पास गर्न निकै कमले सक्छन्।"

"एकसेएक प्रतिस्पर्धी हुने त्यहाँ फेल हुने मानिसको कुरा सुन्नुभयो भने अर्कै कथा बन्छ। तपाईँलाई प्रयास नै गर्ने आँट पनि आउन्न। त्यसैले मैले असफल मानिसको कथा सुन्दिनँ।"

EPA
फेल हुने मानिसको कुरा सुन्नुभयो भने अर्कै कथा बन्छ। तपाईँलाई प्रयास गर्ने आँट नै पनि आउन्न। त्यसैले मैले असफल मानिसको कथा सुन्दिनँ।
निर्मल पुर्जा
पर्वतारोही

हिमाल चढ्दा नै पनि उनले कुनै हिमाललाई कम नआक्ने बताउँछन्।

उनका अनुभवमा एउटै हिमाल दोस्रोपटक चढ्दा अर्कै अनुभव हुन्छ। चौधवटा हिमालका कथामा त झन् धेरै नै विविधता छन्।

"यति ठूलो मिशनमा हिँड्दा शारीरिक क्षमता र स्फूर्ति त सबैभन्दा आधारभूत कुरा हुन्छ। त्योभन्दा बढी आफ्नो टिमलाई नेतृत्व दिँदा क्षण-क्षणमा लिइने निर्णायक निर्णयहरू महत्त्वपूर्ण हुन्।"

उनले सफलताको रहस्य सुनाए: "यो रफ्तारमा हिमाल चढ्दा ज्यान नै गल्न समय लाग्दैन। तर आफैँलाई उत्प्रेरणा भर्दै एक-एक पाइलामा विश्वास राख्दै अगाडि बढ्नु नै सफलताको रहस्य हो।"

'आफैँसँगको दौड'

आरोहणमा निर्मल पुर्जाको एउटा मन्त्र छ- यो कसैसँगको प्रतिस्पर्धा वा दौड होइन। यो आफैँभित्र आफ्नो क्षमता खोज्ने यात्रा हो।

सगरमाथा आरोहणको पछिल्लो बसन्त याममा यिनै पुर्जाले खिचेको चुचुरो चढ्ने बेलाको 'ट्राफिक जाम'को तस्बिर निकै चर्चित बनेको थियो।

जतिखेर कम अनुभवी वा सौखिन मानिसहरू सगरमाथा चढ्न खोज्दा त्यहाँ मानिसको भिड लागेको भन्दै सरकार र पर्वतारोहण क्षेत्र आलोचित बनेको थियो।

"खासमा त्यतिखेर मैले १० घण्टा १५ मिनेटमा रहेको आफ्नो सगरमाथा र लोत्सेको रेकर्डलाई ६ घण्टामा तोड्न खोजिरहेको थिएँ," सगरमाथामा ट्राफिक जामबारे आफ्नो फोटो खिच्दाको कथा उनले सुनाए।

"मैले गर्छु भनेको काम नगरेको छैन तर ट्राफिक जामले सात घण्टा कुर्नुपरेपछि कारण बताउन खिचेको फोटो संयोगले भाइरल भइदियो। "

सगरमाथामा भएको भद्रगोलपूर्ण अवस्थाको चित्र बाहिर ल्याइदिए पनि पुर्जालाई अरू आरोहीबारे केही भन्नु छैन।

"सबैले आफ्नो क्षमताको जाँच दिने हो। कसैलाई सानै पहाड चढ्दा पनि आफ्नो क्षमताप्रति गर्व लाग्छ भने त्यसका लागि उनीहरू स्वतन्त्र छन्। हामीले त्यसको सम्मान गर्नुपर्छ।"

सगरमाथाको पछिल्लो बसन्त याममा निर्मल पुर्जाले खिचेको चुचुरो चढ्ने बेलाको 'ट्राफिक जाम'को तस्बिर निकै चर्चित बनेको थियो।
तस्बिरको क्याप्शन, सगरमाथाको पछिल्लो बसन्त याममा निर्मल पुर्जाले खिचेको चुचुरो चढ्ने बेलाको 'ट्राफिक जाम'को तस्बिर निकै चर्चित बनेको थियो।

प्रोजेक्ट पोसिबलको मुख्य लक्ष्य १४ वटा हिमाल भएपनि त्यसक्रममै उनले विभिन्न नयाँ कीर्तिमान बनाएका छन् भने कति यसअघिकै आफ्ना कीर्तिमान तोडेका छन्।

"म हिजोको आफूभन्दा आज अझ राम्रो हुन चाहन्छु। मैले गर्ने प्रतिस्पर्धा भनेकै त्यही हो।"

आठ हजार मिटर उचाइका हिमाल चढ्ने क्रममै महालङ्गुर हिमश्रृङ्खालामा पर्ने सगरमाथा, लोत्से र मकालुमा यसअघि पाँच दिनको रहेको आफ्नो कीर्तिमान ४८ घण्टामा चढेपछि पुर्जा आफैँले तोडेका थिए।

उनले गत बसन्त याममा (६) र गर्मी याममा (५) सबैभन्दा धेरै आठ हजार मिटर माथिका हिमाल चढेका छन्।

सात वर्षअघि पदयात्राको क्रममा सगरमाथा आधारशिविर पुगेका बेला अनायसै मनमा आरोहणको रहर पलाएपछि ६,११९ मिटर उचाईको लोबुचे इस्ट चढेका उनी अब हिमालमै आफ्नो कर्मक्षेत्र बनाउन चाहन्छन्।

जलवायु बचाउ अभियान

हिमालय र कराकोरम पर्वत श्रृङ्खलामा पर्ने १४ वटै हिमालहरू चढेपछि पुर्जाले आफूले चढेका हिमाललाई पृथ्वीको भविष्यसँग जोडेर हेर्न थालेका छन्।

बीबीसीसँग कुरा गर्दा अबको आफ्नो अभियान जलवायु परिवर्तनसँग सम्बन्धित हुने बताएका छन्।

"यसअघि मैले पनि जलवायु परिवर्तनको कुरालाई यसरी हेरेको थिइनँ। तर अहिले लाग्छ हामीले पृथ्वीलाई हाम्रो घर बचाउने जसरी हेर्नुपर्छ," पुर्जाले भने।

"घर नै भएन भने हाम्रा अन्य उपलब्धीको केही अर्थ छैन। हाम्रो घर कसरी ध्वस्त भइरहेको छ भन्नै सबैले बुझ्न आवश्यक छ।"

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

सन् २०१४ मा आमादब्लम हिमाल चढ्दा उनले क्याम्प वानमा हिउँ पगालेर पानीको जोहो गरेका थिए।

चार वर्षपछि त्यहीँ पुग्दा हिउँ नभएकै कारण तलबाट ग्यालेनभरी पानी बोकेर जानु परेको थियो। हिमनदीहरू पग्लने दर उत्तिकै बढिरहेको उनले देखे।

"यतिखेर म मर्कामा परेका र स्वर चाहिएका मानिसहरूको प्रतिनिधित्व गरेर बोल्न सक्ने भएको छु।"

सेनाको जागिर छाडेपछिको आफ्नो कर्मक्षेत्र अब हिमालमै हुनेमा उनलाई शङ्का छैन।

तर अब उनले हिमालमा गर्न बाँकी त्यस्तो ठूलो काम के छ त?

पुर्जाले आफ्नो गति नरोकिने सङ्केत गर्दै भने: "छ नि! केही समय कुर्नुस। म छिट्टै भन्छु त्यो पनि।"