कागज र कपडाका झोला पनि प्लास्टिक जस्तै पर्यावरणका लागि हानिकारक हुन सक्छन्

कागज र कपडाको झोला
Published

पातला अर्थात् ३० माइक्रोनभन्दा कम तौल भएका प्लास्टिकका झोला उत्पादनमा नेपाल सरकारले प्रतिबन्ध लगाएको छ।

सगरमाथा क्षेत्रसहित देशका विभिन्न स्थानीय सरकारका समेत प्लास्टिकका झोलाको प्रयोग रोक्न आ-आफ्नै योजना र कार्यक्रमहरू बनाएका छन्।

प्लास्टिक पर्यावरणका लागि हानिकारक छ भन्दै अभियान चलाउनेहरूले प्लास्टिकको झोलाको स्थानमा दिने साझा विकल्प हो - कपडा वा कागजको झोला।

तपाईँले पछिल्लोपटक प्रयोग गरेको झोला केबाट बनेको थियो?

जवाफ जेसुकै भए पनि हामीसँग एउटा जानकारी छ: "ती सबै पर्यावरणका लागि खराब छन्।"

विज्ञहरू त तपाईँलाई अर्को नयाँ झोला नै नकिन्न सुझाव दिन्छन्।

पर्यावरणका लागि प्लास्टिकका झोलाभन्दा बढी कपडा वा कागजको झोला खतरनाक हुन सक्ने उनीहरूको मत छ।

वातावरणमैत्री झोलाको कुरा गर्दा त्यसको काम सकिएपछि के हुन्छ भन्ने मात्र सोचेका छौँ।

तर त्यो झोला बन्ने क्रममा लाग्ने खर्च र प्रक्रियालाई बिर्सन्छौँ।

झोलाले पर्यावरणमा पर्ने प्रभाव जाँच्ने हो भने निम्न कुराहरूमा ध्यान दिनुपर्छ:

  • झोला बनाउँदा कति ऊर्जा खपत भयो?
  • त्यसलाई कतिपटकसम्म पुर्नप्रयोग गर्न सकिन्छ?
  • पुर्नप्रशोधन गर्न कति सहज छ?
  • फ्याँकेपछि कति सहजै त्यो कुहिन्छ?

ऊर्जा खपतको प्रश्न

सन् २०११ उत्तरी आयरल्याण्डको संसद्‍को एउटा अध्ययनका अनुसार "कागजको झोला उत्पादन गर्न प्लास्टिकको भन्दा चार गुणाभन्दा बढी ऊर्जा खपत हुन्छ।"

उक्त अध्ययनका अनुसार पेट्रोलियम प्रशोधनका क्रममा खेर जाने पदार्थबाट प्लास्टिकका झोला उत्पादन हुन्छ भने पनि कागजका लागि रूख काट्नुपर्छ।

पछिल्ला दशकमा समुद्रमुनि उल्लेख्य मात्रामा प्लास्टिक जम्मा भएका छन्
तस्बिरको क्याप्शन, पछिल्ला दशकमा समुद्रमुनि उल्लेख्य मात्रामा प्लास्टिक जम्मा भएका छन्

कागजको झोला उत्पादन प्रक्रियामा धेरै पानी र रसायन खपत हुने बताइएको छ।

कपडाको झोला उत्पादनले त झन समस्या देखाउँछ।

नर्थनटम विश्वविद्यालयका दिगो फोहोर व्यवस्थापन विषयका प्राध्यापक मार्ग्रेट बेट्स भन्छन्: "कपास उत्पादन गर्ने काम निकै लामो र श्रम पर्ने हुन्छ। तीव्र रूपमा फेरिएका हाम्रा फेसनका रहरको असर यसमा पनि पर्छ।"

सन् २००६ मा यूकेको पर्यावरण निकायले गरेको एउटा अध्ययनमा तापमान वृद्धिदर घटाउन कागजको झोलाको उत्पादन तीन गुणाले घटाउनुपर्ने बताएको थियो।

सो सुझावमा प्लास्टिकको झोलाको उत्पादन चार गुणाले घटाउनुपर्ने कुरा थियो। तर सो प्रतिवेदनमा कपडाका झोलाको उत्पादन भने १३१ गुणाले कम गर्नुपर्ने बताएको थियो।

च्यातिने र भिज्ने समस्या भएका काजगका झोलाको पुर्नप्रयोग हुन गार्हो हुन्छ।

प्लास्टिक

निष्कर्षमा उक्त वातावरणीय प्रतिवेदनमा भनिएको छ:

  • कागजको झोला कमजोर हुँदा धेरै प्रयोग गर्न सकिन्न,
  • कपडाका झोलाको आयु भने लामो हुनेगर्छ,
  • कागज कमजोर भएपनि छिट्टै कुहिने भएकाले त्यसले जनावरहरूमा पार्ने असर भने कम हुन्छ, र
  • प्लास्टिकका झोला कुहिन चार सयदेखि एक हजार वर्षसम्म लाग्छ।
कपडाको झोला

त्यसोभए ठीक कुन हो त?

जवाफ सरल छ।

तपाईँले झोलाहरू पुर्नप्रयोग गर्नुभएन भने त्यसको वातावरणीय प्रभाव उच्च हुन्छ।

प्राध्यापक बेट्स भन्छन्: "जेसुकैबाट बनेका झोला भए पनि त्यसलाई सक्दो धेरै पुर्नप्रयोगमा ल्याउनु नै त्यसको वातावरणीय असर कम गर्नु हो।"

बजार जाँदा झोला बोक्न बिर्सियो र कपडा वा कागजकै झोला किनियो भने पनि सबैभन्दा ठूलो वातावरणीय मूल्य पर्छ।