कश्मीर तनाव: सीमावारिपारि गोलाबारी, भारत र पाकिस्तानबीच आरोपप्रत्यारोप

कश्मीर
Published
पढ्ने समय: ३ मिनेट

कश्मीरस्थित सीमावारिपारि गोलाबारी भएपछि भारत र पाकिस्तानबीच फेरि तनाव चर्किएको छ।

उनीहरूले एकअर्कालाई गोलाबारी गरेको आरोप लगाएका छन्। घटनामा दुवैतिर सैनिक तथा गैरसैनिक नागरिकको मृत्यु भएको छ।

दुवै पक्षले एकअर्काले युद्धविराम भङ्ग गरेको र आफूले प्रतिकार गरेको दाबी गरेका छन्।

परमाणुअस्त्र भएका दुवै देशले कश्मीरलाई लिएर दुईचोटि युद्ध र एकचोटि कार्गीलमा सीमित सङ्घर्ष गरिसकेका छन्।

यो वर्ष उनीहरूबीच तनाव धेरै बढेको छ।

फेब्रुअरीमा कश्मीरमा गरिएको एउटा आत्मघाती आक्रमणमा ४० सैनिक मरेपछि भारतले लडाकुलाई लक्षित गरेको भन्दै पाकिस्तानमा हवाई आक्रमण गर्‍यो। पाकिस्तानमा आधारित जैश-ए-मोहम्मद समूहले भारतपट्टि पुलवामामा आफूले आत्मघाती बम विस्फोटन गराएको स्वीकारेको थियो।

अगस्टमा भारतले आफूनियन्त्रित कश्मीरको आंशिक स्वायत्तता खोस्दा पाकिस्तानले त्यसको विरोध गर्‍यो। पाकिस्तानले भारतको उक्त निर्णयविरुद्ध अन्तर्राष्ट्रिय समर्थन खोजिरहेको छ।

भारत र पाकिस्तान दुवैले कश्मीर आफ्नो स्वामित्वमा हुनुपर्ने दाबी गर्छन्।

पाकिस्तानपट्टि नीलम उपत्यका

सन् २००३ मा कश्मीरमा युद्धविराम गर्ने सहमति भएको थियो। तर यस वर्षको तनावले उक्त सहमतिलाई जोखिममा पारेको छ।

सीमावर्ती कुपवारा जिल्लाका दुई गाउँमा आइतवार गोलाबारी भएको थियो। तर दुई पक्षले फरकफरक कुरा बताएका छन्।

पाकिस्तानले गैरसैनिकलाई तारो बनाएको भारतको आरोप छ। उसका अनुसार एक सर्वसाधारण मानिसको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

भारतका सेनाप्रमुख विपीन राउतले भारतीय पक्षले लडाकुलाई निसाना बनाएर प्रतिकार गरेको र आफ्नो कारबाहीमा कम्तीमा छ पाकिस्तानी सैनिकको मृत्यु भएको तथा तीनवटा शिविर नष्ट पारिएको सञ्चारमाध्यमलाई बताएका छन्।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

तर पाकिस्तानी सेनाका प्रवक्ता असिफ गफूरले भारतले युद्धविराम भङ्ग गरेको तथा "नियतवश गैरसैनिकहरूलाई तारो बनाएको" आरोप लगाएका छन्।

उनले आफ्नो प्रतिकारात्मक कारबाहीमा नै भारतीय सैनिकको ज्यान गएको र अरू धेरै घाइते भएको बताए।

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

भारतको गृह मन्त्रालयका अनुसार अहिलेसम्म कम्तीमा दुई हजारचोटि पाकिस्तानी पक्षबाट विनाकारण युद्धविरामको नियमविपरीत कारबाही गरेको छ। ती घटनामा भारतपट्टि २१ जनाको मृत्यु भएको उसको भनाइ छ।

पाकिस्तानका अनुसार यो वर्ष सीमापारि भारतीय पक्षबाट भएको कारबाहीमा १४ सैनिकसमेत ४५ जनाको मृत्यु भएको छ।

भारत-पाकिस्तान विभाजनपछि भएका महत्त्वपूर्ण घटना

सन् १९४७ मा ब्रिटिश शासनबाट मुक्त भएसँगै भारत र पाकिस्तान छुट्टिएर नयाँ स्वतन्त्र राष्ट्र बने।

स्थापनाकालदेखि नै यी दुई छिमेकी देशबीच कहिल्यैपनि सम्बन्ध सुमधुर हुन सकेन। सम्बन्धमा तिक्तताको केन्द्रमा सधैँ कश्मीर रह्यो।

यस अवधिमा दुई देशबीच कैयौँ यस्ता घटना भए जसले कहिले युद्ध नै निम्त्यायो त कहिले चर्को तनाव।

कश्मीर

हाल भारत र पाकिस्तानमाझ पुन: चर्किएको तनावका माझ यी दुई दक्षिण एशियाली मुलुकहरूबीच यस अवधिमा भएका महत्त्वपूर्ण घटनाको सङ्क्षिप्त विवरण -

अक्टोबर १९४७: भारत र पाकिस्तानबीच पहिलो युद्ध। स्वतन्त्र भएको केवल दुई महिनापश्चात् दुई छिमेकी कश्मीरलाई लिएर युद्धमा होमिए।

भारतका जवाहरलाल नेहरु(बायाँ), ब्रिटिश इन्डियाका भाइसरोय लर्ड लुई माउन्टब्याटेन (बीचमा) र अल इन्डिया मुस्लिम लीगका अध्यक्ष महुम्मद अलि जिन्नाह(दायाँ) सन् १९४७ मा विभाजनबारे कुरा गर्दै
तस्बिरको क्याप्शन, भारतका जवाहरलाल नेहरु(बायाँ), ब्रिटिश इन्डियाका भाइसरोय लर्ड लुई माउन्टब्याटेन (बीचमा) र अल इन्डिया मुस्लिम लीगका अध्यक्ष महुम्मद अलि जिन्नाह(दायाँ) सन् १९४७ मा विभाजनबारे कुरा गर्दै

अगस्ट १९६५: कश्मीरलाई नै लिएर दुई छिमेकीबीच अर्को छोटो युद्ध

डिसेम्बर १९७१: भारतद्वारा पूर्वी पाकिस्तान (वर्तमान बाङ्ग्लादेश) मा अतिक्रमण। इस्लामाबादको शासनविरुद्ध स्वतन्त्रताको लडाइँमा भारतको समर्थन। भारतीय वायुसेनाद्वारा पाकिस्तानी भूभागमा बम आक्रमण। बाङ्ग्लादेशको स्थापनासँगै युद्धको अन्त्य

सन् १९८९: कश्मीर उपत्यकामा भारतीय शासनविरुद्ध सशस्त्र विद्रोहको थालनी

फेब्रुअरी १९९९: भारतीय प्रधानमन्त्री अटल बिहारी वाजपेयीद्वारा पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफसँग भेट्न र शान्ति सम्झौता गर्न बस चढेर पाकिस्तानको लाहोर प्रस्थान

मे १९९९: पाकिस्तानी सेना तथा विद्रोहीद्वारा कार्गिल पर्वतमा रहेका भारतीय सैनिक शिविर कब्जा। सीमित द्वन्द्व सुरु। भारतद्वारा हवाई तथा स्थल आक्रमणपश्चात् अतिक्रमणकारीहरू फिर्ता

मे २००१: भारतको आगरामा भारतीय प्रधानमन्त्री वाजपेयी र पाकिस्तानी राष्ट्रपति परवेज मुशर्रफको भेटवार्ता। कुनै सम्झौता हुन सकेन।

अक्टोबर २००१: श्रीनगरस्थित कश्मीरको विधानसभामा आक्रमण, ३८ जनाको मृत्यु

१३ डिसेम्बर २००१: दिल्लीस्थित भारतीय संसद्‌मा भएको सशस्त्र आक्रमणमा १४ जनाको मृत्यु

भिडिओ क्याप्शन सुरु हुँदैछ, विभाजन गर्ने रेखा

फेब्रुअरी २००७: भारत र पाकिस्तानबीच चल्ने सम्झौता एक्सप्रेस रेलमा बम विस्फोट। ६८ जनाको मृत्यु

२६ नोभेम्बर २००८: विद्रोहीहरूद्वारा मुम्बईस्थित मुख्य रेलवे स्टेशन, विलासी होटलहरू तथा एक यहुदी सांस्कृतिक केन्द्रमा आक्रमण, ६० घण्टे घटनामा १६६ जनाको मृत्यु। भारतद्वारा पाकिस्तानमा रहेको लश्कर-ए-तइबा समूहमाथि दोष

भारत-पाकिस्तान विभाजन

ज्यानुअरी २०१६: पठानकोटस्थित भारतीय वायुसेनाको अखाडामा भएको चार दिन लामो आक्रमणमा सात भारतीय सैनक र छ विद्रोहीको मृत्यु

१८ सेप्टेम्बर २०१६: भारत प्रशासित कश्मीरस्थित उरीमा रहेको सैन्य अखाडामा विद्रोहीद्वारा हमला। १९ सैनिकको मृत्यु

३० सेप्टेम्बर २०१६: भारतद्वारा पाकिस्तानी कश्मीरमा सैन्य कारबाही 'सर्जिकल स्ट्राइक' गरेको दाबी, पाकिस्तानद्वारा त्यस्तो कारबाही भएको अस्वीकार

१४ फेब्रुअरी २०१९: कश्मीरको पुलवामामा विद्रोहीद्वारा आत्मघाती विस्फोट, अर्धसैनिक बल सीआरपीएफका ४० भन्दा धेरैको मृत्यु। पाकिस्तानमा रहेको जैश-ए-मोहम्मद समूहद्वारा जिम्मेवारी स्वीकार

कश्मीर
तस्बिरको क्याप्शन, कश्मीरमा हजारौँ सुरक्षाकर्मी परिचालित छन्

२६ फेब्रुअरी २०१९: भारत-पाकिस्तान सीमा उल्लङ्गघन गरेर भारतीय वायुसेनाद्वारा पाकिस्तानी भूभागमा आक्रमण, लडाकु समूह जैश-‍ए-मोहम्मदको शिविर नष्ट गरिएको भारतको दाबी

५ अगस्ट २०१९: भारतद्वारा भारत-प्रशासित जम्मू-कश्मीर राज्यलाई दिइएको संवैधानिक मान्यता खारेज।