उत्तर कोरिया र दक्षिण कोरियाबीच भएको एउटा असामान्य फुटबल खेल

प्योङयाङ
तस्बिरको क्याप्शन, प्योङयाङका रङ्गशालाहरू खेलभन्दा पनि सैद्धान्तिक प्रचारप्रसारमा बढी प्रयोग गरिन्छन्
Published

उत्तर कोरियाको राजधानी प्योङ्याङमा दर्शकबिनाको रङ्गशालामा उत्तर कोरिया र दक्षिण कोरियाका फुटबल टोलीबीच भएको एउटा दुर्लभ खेल गोलरहित बराबरीमा सकिएको छ।

विश्वकप छनोटअन्तर्गत आयोजित उक्त खेलको न प्रत्यक्ष प्रसारण गरिएको थियो न त्यहाँ प्रशंसकहरू र विदेशी सञ्चारमाध्यमहरू उपस्थित थिए।

यी दुई देशबीच फुटबल हुनु विरल त होइन, तर उत्तर कोरियाको राजधानीमा यी दुई टोलीबीचको खेल भने दुर्लभ नै हो।

थोरै पर्यवेक्षकहरू सहभागी रहेको उक्त खेलमा मङ्गलवार मात्रै उत्तर कोरिया पुगेका फिफा अध्यक्ष जानी इन्फान्टिनो पनि उपस्थित थिए।

प्रतिस्पर्धा

दक्षिण कोरियाका खेलाडीहरू सोमवार बेइजिङ हुँदै उत्तर कोरिया पुगेका थिए र उनीहरूले आफ्नो मोबाइल फोन बेइजिङमै छोड्नुपरेको थियो।

उत्तर कोरियाले खेलको भिडिओ दक्षिण कोरियालाई दिने वाचा गरेको छ।

यसअघि प्योङ्याङमा सन् १९९० मा यी दुई टोलीबीच फुटबल खेल भएको थियो।

उत्तर र दक्षिण कोरियाबीच खेल नै हुन नसक्ने भने होइन।

दुवै देश फुटबलको सर्वोच्च निकाय फिफाका र एशियाली फुटबल महासङ्घका सदस्य हुन् जसको अर्थ अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा दुवै टोलीलाई सहभागी गराउन सकिन्छ।

फुटबल
तस्बिरको क्याप्शन, दक्षिण कोरियाका सोन हुङ मिन यूकेमा टोटनम खेल्छन्

न्यानोपन

सन् २०१८ पछि खेलकुदकै कारण आपसी सम्बन्धमा केही न्यानोपन आएको दुई कोरियाबीच पुनः तिक्तता देखिएको छ।

मङ्गलवारको खेललाई घरेलु टोलीले हल्का रूपमा लिइरहेको थिएन।

प्यासिफिक फोरमका वरिष्ठ अधिकारी एन्ड्रे अब्राहमिआनले बीबीसीलाई भने, "उत्तर कोरियामा फुटबल एकदमै हेरिने खेल हो र उत्तर कोरियाका लागि खेल एकदमै महत्त्वपूर्ण छ।"

"गौरव र राष्ट्रप्रेमका लागि खेल एउटा महत्त्वपूर्ण माध्यम हो।"