विश्वकप क्रिकेट: अस्ट्रेलियालाई हराउँदै फाइनलमा पुगेपछि इङ्ग्ल्याण्डका कप्तानले के भने

विश्वकप क्रिकेट
Published

इङ्ल्याण्ड क्रिकेट टोलीका कप्तान ओएन मोर्गनले आइतवार हुने न्यूजील्यान्डविरूद्धको विश्वकप फाइनल खेलमा 'धक मान्न नहुने' बताएका छन्।

विश्वकप आयोजना गरिरहेको इङ्ल्याण्डले अस्ट्रेलियालाई एजबस्टनमा आठ विकेटले पराजित गर्दै सन् १९९२ पछि पहिलोपटक फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो।

"आज अगाडि हेर्ने दिन हो," मोर्गनले भने।

"हामीले विश्वकपको फाइनलमा खेल्ने अवसर सिर्जना गरेका छौँ। हामीले यसैलाई निरन्तरता दिनुपर्नेछ - खेलमा हामीले सकेजति गर्नेछौँ तर साथसाथै उक्त दिनको मज्जा पनि लिनेछौँ।"

'एउटा उत्तम प्रस्तुति'

बर्मिङघममा आयोजित खेलमा इङ्ग्ल्याण्डले पूर्वविजेतालाई आकर्षक खेलमा पाखा लगाएको हो।

क्रिस वक्स र जोफ्रा आर्चरको प्रारम्भिक बलिङमै अस्ट्रेलियाले १४ रन बनाउँदा तीन विकेट गुमाउन पुगेको थियो।

विश्वकप क्रिकेट

स्टिभ स्मिथले ८५ रन बनाएपनि अस्ट्रेलिया २२३ रनमा अल आउट भएको थियो। इङ्ल्याण्डले १८ ओभर बाँकी छँदै जेसन रोयको ८५ रन, जो रूटको ४९ नट आउट र मोर्गनको ४५ नट आउटका सहयोगमा लक्ष्य प्राप्त गरेको थियो।

मोर्गनले बीबीसीलाई भने: "आजको खेल झण्डै एउटा उत्तम प्रस्तुति थियो।"

"अगाडिका दुई बलरले उनीहरूलाई बचेर खेल्नुपर्ने दबाब दिए। शुरूमै विकेट लिएर हाम्रो मनोबल उच्च पारे।"

भय र मनोबल

समूह चरणको खेलमा अस्ट्रेलियाले इङ्ग्ल्याण्डलाई हराएको थियो। जसले गर्दा उनीहरू बाहिरिन सक्ने भयमा थिए।

तर उनीहरूले भारत र न्यूजील्याण्डजस्ता पुराना प्रतिस्पर्धीलाई घरेलु दर्शकको साथ पाएर हराएका थिए।

"हामी पछिल्ला तीन खेलमा निकै राम्रोसँग खेल्दै लय समातेका थियौँ," मोर्गनले भने।

विश्वकप क्रिकेट
तस्बिरको क्याप्शन, इङ्ल्याण्ड र न्यूजिल्यान्डबीच आइतबार विश्वकप क्रिकेटको फाइनल खेल हुनेछ।

"दाबेदार हुनका लागि राम्रो लयमा खेल्नुपर्छ भन्ने हामीलाई थाहा थियो। आजको हाम्रो खेल हामीले चालेको थप एक कदम हो।"

"मैदान र पेवेलियनमा सबैले बलिङ रूचाए। खेल मैदानमा हामी मज्जैले रमायौँ।"

"जब त्यसरी बलिङ गरिन्छ भने त्यसले त कमाल नै गर्छ।"

अविश्वसनीय

अघिल्लो विश्वकपमा समूह चरणबाटै बाहिरिएको इङ्ग्ल्याण्डका लागि यो पटक फाइनल पुग्नु उल्लेख्य कदम हो।

"सन् २०१५ को विश्वकपबाट बाहिरिदाँ यदि तपाईँले मलाई अर्कोपटक हामी फाइनल पुग्छौँ भनेको भए सायद मैले तपाईँलाई विश्वास नै गर्दिनथेँ," मोर्गनले भने।

विश्वकप क्रिकेट

"समग्रमा यो गत चार वर्षमा हामीले गरेको मिहेनतको नतिजा हो। सबै खेलाडी, प्रशिक्षकहरू र सहयोगी भूमिकामा रहने सबै यो सफलताको हकदार हुन्।"

मोर्गनसँग अन्तिमसम्म खेल्दै ४९ रन बनाएका रूटले खेलपछि प्रतिक्रिया दिँदा 'अझै आफूलाई विश्वास नलागेर चिमोटिरहेको' बताएका थिए।