राजकुमारी हाया भागेर लण्डन गएपछि दु:खी कविता लेखिरहेका दुबईका शासक

राजकुमारी हाया
Published

आफ्नी पत्नी राजकुमारी हाया बिन्त अल हुसेनले आफूलाई छोडेर लण्डन गएपछि दुबईका शासक शेख मोहम्मद अल मकतुमले कविता लेखेर इन्स्टाग्राममा पोष्ट गरेका छन्।

संयुक्त अबर इमिरेट्सको शाही परिवारमा यस्तो हुनु आफैमा अनौठो ठानिएको छ।

राजकुमारी हाया सेन्ट्रल लण्डनको कुनै भवनमा बसिरहेको बताइएको छ।

राजकुमारी हाया अक्सर घोडादौडमा भाग लिने गर्थिन्। तर यसवर्षको रोयल एस्कटमा अनुपस्थित थिइन्।

राजकुमारी हाया
तस्बिरको क्याप्शन, राजकुमारी हाया १९ वर्षकी हुँदा, उनी व्यवसायिक घोडचढी गर्ने व्यक्ति हुन्

केही सूत्रले बीबीसीलाई बताए अनुसार राजकुमारी हायालाई आफ्नो ज्यान खतरामा परेको त्रास छ र उनी कानुनी लडाइँको तयारी गरिरहेकी छन्।

हायाको बाल्यकाल

सन् १९७४ मा हायाको जन्म भएको थियो।

उनका बाबु जोर्डनका राजा हुसेन हुन् भने आमा महारानी आलिया अल-हुसेन थिइन्।

राजकुमारी हाया तीन वर्षकी हुँदा नै देशको दक्षिणतिर भएको एक हेलिकप्टर दुर्घटनामा उनकी आमाको निधन भएको थियो।

राजकुमारी हायाले आफ्नो बाल्यकाल ब्रिटेनमा बिताइन्।

उनलाई दुईवटा निजी विद्यालयमा पढाइ गरेकी थिइन्।

त्यसमा ब्रिस्टलस्थित ब्याडमिन्टन स्कूल र डोरसेटस्थित ब्रायन्स्टन स्कूल थिए।

त्यसपछि उनले अक्सफर्ड विश्वविद्यालयमा राजनीति दर्शन र अर्थशास्त्र पढेकी थिइन्।

पुरानो अन्तरवार्तामा उनले आफूलाई बाज पाल्ने, शिकार खेल्ने र ठूलो मशिनको सोख रहेको बताएकी थिइन्।

त्यसबाहेक जोर्डनमा ठूलो आकारको ट्रक चलाउने लाइसेन्स पाउने आफू एक मात्र महिला रहेको दाबी गरेकी थिइन्।

राजकुमारीलाई घोडचढीको सोख छ।

आफू २० वर्षकी हुँदा उनले घोडचढीलाई आफ्नो भावी करिअरको रुपमा चुनेकी थिइन्।

राजकुमारी हाया र शेख मोहम्मद सन् २०१६
तस्बिरको क्याप्शन, राजकुमारी हाया र शेख मोहम्मद, सन् २०१६

सन् २००० को ओलिम्पिक खेलमा घोडचढीमा जोर्डनको प्रतिनिधित्व पनि गरेकी थिइन्।

'उनको नजिक हुन पाउने म भाग्यमानी'

सन् २००४ को एप्रिल १० तारिखका दिन राजकुमारी हायाले दुबईका शासक तथा संयुक्त अरब इमिरेट्सका उपराष्ट्रपति तथा प्रधानमन्त्री शेख मोहम्मदसँग विवाह गरिन्।

त्यसबेला राजकुमारीको उमेर ३० वर्ष थियो भने शेख मोहम्मदको उमेर ५३ वर्षको थियो।

राजकुमारी हाया उनकी छैठौँ पत्नी थिइन्।

शेख मोहम्मदको अलग अलग पत्नीबाट २३ छोराछोरी रहेको बताइन्छ।

राजकुमारी हाया जस्तै शेख मोहम्मद पनि घोडचढीको सोखिन हुन्। उनी घोडा कम्पनी 'गोडल्फिन'का मालिक पनि हुन्।

दुईजनाको बिहे अम्मानमा भएको थियो।

घोडसवारीमा राजकुमारी हाया
तस्बिरको क्याप्शन, घोडसवारीमा राजकुमारी हाया

बिहेपछि राजकुमारी हायाले कैयौँपटक शेख मोहम्मदसँगको आफ्नो सम्बन्धबारे बोल्दै आफू निकै खुशी रहेको बताउने गर्थिन्।

उनले आफुहरूको खुशियालीयुक्त जिन्दगी दर्शाउने पेन्टिङ पनि बनाएकी थिइन्।

इमिरेट विमीन म्यागेजिनको २०१६को अङ्कमा राजकुमारी हायाले शेख मोहम्मदको बारेमा भनेकी थिइन्, "उनी हरेक दिन आश्चर्यजनक कामहरू गर्छन्। म उनको यति नजिक रहन पाएकोमा हरेक दिन भगवानलाई धन्यवाद दिन्छु।"

सम्बन्धमा फाटो कसरी आयो

गत वर्ष जब शेख मोहम्मदकी एक छोरी शेखा लतिफाले देश छोडेर भाग्न कोसिस गरिन् त्यसपछि हाया र शेख मोहम्मदबीच फाटो उत्पन्न भएको बताइन्छ।

राजकुमारी हाया र शेख मोहम्मद
तस्बिरको क्याप्शन, राजकुमारी हाया र शेख मोहम्मद

त्यसबेला संसारभरमा एउटा भिडियो फैलियो जसमा ३३ वर्षीय राजकुमारी शेखा लतिफाले आफ्नो परिवारमा कसैलाई आफ्नो स्वतन्त्रताको अधिकार छैन भनेकी थिइन्।

समाचारहरूका अनुसार शेखा लतिफा समुद्री मार्गबाट भाग्न सफल पनि भइन्। त्यसमा उनलाई एक फ्रान्सेलीले सहयोग गरेका थिए।

तर भारतको समुद्री सीमामा रहेका सेनाले उनलाई पक्रेर दुबई फर्काइदिएका थिए।

डिसेम्बरमा हायाका केही तस्बिर प्रकाशित भए जसमा उनी आयरल्याण्डकी पूर्व राष्ट्रपति मेरी रबिन्सनसँग बसेको देखिन्छ।

त्यसबेला दुबई प्रशासनले घर छोडेर भागेकी शेखा लतिफा अरु देशमा भए उत्पीडनको शिकार हुन सक्ने थिइन् भन्दै अहिले दुबईमा सुरक्षित रहेको बताएको थियो।

शेखा लतिफा
तस्बिरको क्याप्शन, शेखा लतिफाले दुबईबाट भाग्ने कोशिस गरेकी थिइन्

यो घटनापछि राजकुमारी हायाले यो सम्बन्धमा कैयौँ नयाँ कुरा थाहा भएको र उनका पतिले उनीमाथि दबाब बढाउन शुरु गरेको बताइन्छ।

राजकुमारी हायाका नजिकका सूत्रहरूले बीबीसीलाई बताए अनुसार दबाब बढ्दै जाँदा उनी ब्रिटेन भन्दा पहिले जर्मनी पुगेकी थिइन्।