ट्रम्प-किम भेट: अचानक भएको अमेरिकी राष्ट्रपतिको भ्रमणको उत्तर कोरियाली सञ्चारमाध्यमद्वारा प्रशंसा

ट्रम्प, किम र मुन
Published
पढ्ने समय: २ मिनेट

उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गरेको अचानक भ्रमणलाई 'गज्जब' भन्दै प्रशंसा गरेका छन्।

आइतवार ट्रम्प उत्तर कोरियाली भूमिमा पाइला टेक्ने पहिलो सत्तासीन अमेरिकी राष्ट्रपति बनेका थिए।

यसअघि ट्रम्पले ट्विटरमार्फत् उत्तर कोरियाली नेता किम जङ अनलाई आफू दक्षिण कोरियाको भ्रमणमा रहेका बेला सीमा क्षेत्रमा भेट्न आउन आग्रह गरेका थिए।

आइतवार भएको उक्त अभूतपूर्व भ्रमणको उत्तर कोरियाली सञ्चारसंस्था केसीएनएले सोमवार व्यापक प्रचारप्रसार गरेको छ।

बाह्य विश्वबारेका समाचार उत्तर कोरियालीहरूले हत्तपत्त पाउँदैनन्।

सरकारको कठोर नियन्त्रणमा रहेका त्यहाँका सञ्चारमाध्यमले अमेरिकालाई दशकौँदेखि प्रमुख शत्रुको रूपमा चित्रण गर्दै आएका छन्।

Presentational white space

त्यसैले आफ्ना नेता किमको मित्रको रूपमा उत्तर कोरियाली भूमिमा आएका अमेरिकी राष्ट्रपतिको दृश्य उत्तर कोरियाली जनताका निम्ति असाधारण हो।

अब वार्ता फेरि हुने

गत फेब्रुअरीमा दुई नेताबीच भएको दोस्रो भेटवार्ता विफल भएपश्चात् उत्तर कोरियाको विवादास्पद परमाणु कार्यक्रममाथि थप वार्ता स्थगित भएका थिए।

भिडिओ क्याप्शन सुरु हुँदैछ, ट्रम्प भन्छन्, 'त्यो रेखा पार गर्नपाउनु ठूलो सम्मान हो'

आइतवार दुई नेताबीच भएको अकस्मात् भेटवार्तापश्चात् दुवैले मित्रताको प्रतिबद्धता जनाउँदै वार्ता टोलीमार्फत् वार्ता जारी राख्ने बताए।

तर आलोचकहरूले भने उक्त भेटलाई केवल राजनीतिक नाटक मात्र भएको र त्यसले उत्तर कोरियालाई परमाणुअस्त्र त्याग्न लगाउने दिशामा कुनै प्रगति नहुने बताएका छन्।

दुई नेताहरूबीच भएको यो तेस्रो प्रत्यक्ष भेट हो।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

Presentational white space

भेटको महत्त्व

उनीहरूबीचको भेट सन् १९५३ को कोरियाली युद्धपछि विभाजित कोरियाली प्राय:द्वीपको त्यस्तो क्षेत्रमा भएको छ जुन युद्धका कारण प्राय: तनावग्रस्त रहँदै आएको थियो।

ट्रम्प र किम
Presentational white space

ट्रम्पले सामाजिक सञ्जाल ट्विटरमा सन्देश लेखेपछि हतारहतार आयोजना गरिएको भेटका क्रममा दुई नेताले दुई कोरियाबीचको सीमारेखामा आपसमा हात मिलाए।

त्यसपश्चात् ट्रम्प केही बेरका लागि उत्तर कोरियाली भूमिमा नेता किमसँगै उभिए जुन क्षणलाई दुई देशबीचको कूटनीतिको साङ्केतिक कोसेढुङ्गो मानिएको छ।

सन् १९५३ मा दुई कोरियाबीच हतियार बिसाउने सम्झौता गरिएको रेखासम्म कैयौँ अमेरिकी राष्ट्रपतिहरूले भ्रमण गरिसकेका छन्।

ती सबै भ्रमणका बेला दक्षिण कोरियालाई अमेरिकाको समर्थन प्राप्त छ भन्ने स्पष्ट सन्देश गएको हुन्थ्यो।

तर यस पटक ट्रम्पले त्यो सीमा क्षेत्रको भ्रमणलाई हेर्ने दृष्टिकोणमा नै केही फेरबदल ल्याइदिए।

उनले दूरबिनहरू र बमप्रतिरोधक ज्याकेटको सट्टा आफूले सधैँ पहिरिने जस्तो सुट लगाएर त्यहाँ पुगिदिए।

किमसँगको उनको भेट र उत्तर कोरियाली भूमिमा उनले राखेको पाइलाले नयाँ इतिहास रचिदियो।