विश्वकप क्रिकेट: अपराजित भारत पनि हार्‍यो, अब कसको स्थिति कस्तो

विराट कोहली
Published

इङ्ग्ल्यान्डमा भइरहेको विश्वकप क्रिकेट प्रतियोगितामा आइतवार भारतले प्रतियोगिताकै पहिलो हार बेहोरेपछि कुनकुन टोलीको सेमिफाइनलमा पुग्ने सम्भावना कसरी बदलिएको छ भन्ने चर्चा चलेको छ।

आठ खेलमा सात जितका साथ १४ अङ्क बटुलिसकेको अस्ट्रेलियाले भने यसअघि नै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ।

प्रतियोगिता सुरु हुनुभन्दा ठिकअगाडि इङ्ग्ल्यान्ड नम्बर एक टोली मानिएको थियो। आफ्नै मैदानमा प्रतियोगिता भएका कारण उसको सम्भावना पनि निकै बलियो ठानिएको थियो।

तर श्रीलङ्कासँग भएको अनपेक्षित हार तथा अस्ट्रेलियासँग विशाल अन्तरले पराजित भएपछि इङ्ग्ल्यान्ड बाँकी दुई खेल नजिते सेमिफाइनल पुग्ने ढोका बन्द हुने देखिएको थियो।

आइतवार उसले आकर्षक प्रदर्शन गर्दै आएको भारतलाई ३१ रनले हराएपछि अब इङ्ग्ल्यान्डले बुधवार न्यूजील्यान्डलाई जितेमा सेमिफाइनल पुग्नेछ।

विश्वकप क्रिकेट २०१९ अङ्क तालिका. [जून ३० सम्मको खेल समाप्त हुँदा].  शीर्ष चार टोली सेमीफाइनलमा छनोट हुनेछन्।.
Presentational white space

तर न्यूजील्यान्ड विजयी भयो भने त्यसले पाकिस्तान बाङ्ग्लादेशको सम्भावना बलियो हुनेछ।

हुन त भारत र न्यूजील्यान्डको पनि सेमिफाइनल स्थान सुनिश्चित भइसकेको त छैन, तर निकै राम्रो नेट रन रेट रहेका कारण उनीहरूको यात्रा तुलनात्मक सहज नै देखिन्छ।

कसको कति अङ्क

भारतले कुल सात खेल खेलेकामध्ये पाँचमा विजयी भएको छ। एक खेल हारेको र एकमा वर्षाका कारण नतिजा ननिस्किएको स्थितिका कारण भारतको हाल ११ अङ्क छ।

न्यूजील्यान्डले आठ खेल खेलिसकेको छ जसमा पाँचमा विजयी भएको छ। दुई हार र एक परिणामविहीन खेलका कारण उसको पनि ११ अङ्क नै छ।

आठ खेलमा पाँच जित र तीन हार सहित इङ्ग्ल्यान्डको १० अङ्क छ।

इङ्ग्ल्यान्डलाई अङ्कतालिकामा पाकिस्तान र बाङ्ग्लादेशले पछ्याइरहेका छन्। पाकिस्तानको आठ खेलमा नौ अङ्क छ भने बाङ्ग्लादेशको सात खेलमा सात अङ्क छ।

दक्षिण अफ्रिका र श्रीलङ्का
Presentational white space

अबका खेल

आगामी केही खेल अब निर्णायक हुने देखिन्छन्।

जुलाई २ मा बाङ्ग्लादेश भारतसँग खेल्दैछ। जुलाई ५ मा पाकिस्तान र बाङ्ग्लादेशबीच खेल हुँदैछ। न्यूजील्यान्ड र इङ्ग्ल्यान्डबीचको खेल जुलाई ३ मा हुँदैछ।

पुछारमा रहेका चार टोलीमध्ये श्रीलङ्काले सात खेल खेलेर छ अङ्क बटुलेको छ भने अफगानिस्तानले आठ खेलमा शून्य अङ्क पाएको छ। वेस्ट इन्डिजको सात खेलमा तीन अङ्क र दक्षिण अफ्रिकाको आठ खेलमा पाँच अङ्क छ।

पहिलो सेमिफाइनल खेल जुलाई ९ र दोस्रो सेमिफाइनल जुलाई ११ मा खेलिनेछन्। फाइनल खेल जुलाई १४ मा लर्ड्स रङ्गशालामा हुनेछ।

पाकिस्तान र अफगानिस्तान
Presentational white space

को कसरी सेमिफाइनल पुग्न सक्छ?

अस्ट्रेलिया सेमिफाइनल पुगिसकेको छ।

श्रीलङ्का, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र अफगानिस्तान अब अन्तिम चारमा पर्न सक्दैनन्।

पाकिस्तानले सेमिफाइलनमा पुग्नका लागि बाङ्ग्लादेशलाई हराउनुपर्छ साथसाथै न्यूजील्यान्डले इङ्ग्ल्यान्डलाई हराउनुपर्छ।

बाङ्ग्लादेशले सेमिफाइलनमा पुग्नका लागि भारत र पाकिस्तान दुबैलाई हराउनुका साथै न्यूजील्यान्डले इङ्ग्ल्यान्डलाई हराउनुपर्छ।

इङ्ग्ल्यान्डले न्यूजील्यान्डलाई हराएमा र बाङ्ग्लादेशले पाकिस्तानलाई हराएमा सेमिफाइनलमा अहिलेकै शीर्ष चार टोली सेमिफाइलनमा पुग्नेछन्।

इङ्ग्ल्यान्डले न्यूजील्यान्डसँग हारेपनि भारतले बाङ्ग्लादेश र बाङ्ग्लादेशले पाकिस्तानलाई हराए सेमिफाइनलमा पुग्नेछ।